गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित,संख्या १४४ पुग्याे

विकल्प न्युज/ बेनी

जेठ २७ गते । 

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरमा १२ जना, बागलुङमा ११ जना र म्यादीमा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

नवलपुरको बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखी ४० वर्ष सम्मका १२ जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माले जानकारी दिए ।

त्यसै गरि बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २१, २६ र २७ बर्षिय ३ जना पुरुष र बरेङ गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका १८ देखि ४९ बर्ष सम्मका ८ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको शर्माले बताए ।

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४६ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई जिल्लाको सरकारी अस्पतालको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको शर्माका भनाई छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४४ पुगेको छ । अहिले सम्म ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।