ताजा समाचार:
Search

कर्णालीमा १८ सय स्वाब प्रयोगशालामै थुप्रियो १० दिनसम्म पालो आएन

२५ जेठ, सुर्खेत ।

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र गतिमा फैलिंदै गएका बेला परीक्षणको गति भने घटेको छ ।

प्रदेशमा आइतबारसम्म १८ सय स्वाब परीक्षण गर्न बाँकी छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा एक हजार पाँच सय र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन सय जनाको स्वाब परीक्षणको पर्खाइमा छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका नागरिकको स्वाब परीक्षणमा ढिलाइ हुँदा स्थानीय तहलाई व्यवस्थापनमा समस्या भएको छ ।

प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा सुर्खेत, सल्यान, जाजरकोट, दैलेखलगायतका जिल्लाका स्वाब परीक्षण हुन बाँकी रहेको प्रयोगशालाका इन्चार्ज ओम आचार्यले बताए । उनले एक दिनमा दुई सय भन्दा बढी स्वाब परीक्षण गर्न नसकिने पनि बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १८ गतेदेखि शनिबारसम्मसंकलन गरिएका तीन सय जनाको स्वाब परीक्षण हुन सकेको छैन । दैलेख, कालीकोट, जुम्ला, डोल्पालगायतका जिल्लाबाट संकलन भएको स्वाब परीक्षण नभएको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिए । online khabar