२३ जेठ, काठमाडौं ।
जुम्लामा क्वारेन्टिनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष नरजित दमाईले अनलाइनखबरलाई जानकारी दिए । वडाध्यक्ष नरजितका अनुसार उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।
बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टिन स्थलमा सात जना बस्दै आएको वडाध्यक्ष नरजितले बताए ।