ताजा समाचार:
Search

सुर्खेतमा कोरोना संक्रमणबाट युवकको मृत्यु : आरडीटीले दुई पटक झुक्यायो

२३ जेठ, काठमाडौं ।

रोजगारीका लागि भारत पुगेका सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक ७ जेठमा स्वदेश फर्किए । सुर्खेत प्रवेश गर्ने विन्दु बबईमा र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि स्थानीय तहको क्वारेन्टिनमा पठाइयो ।

विद्यापुरको जनता माविको क्वारेन्टिनमा १४ दिन बसेपछि आरडीटी विधिबाट टेष्ट गर्दा फेरि रिपोर्ट नेगेभिट आयो । त्यसपछि ‘सात दिनसम्म होम क्वारेन्टिनमा बस्ने छु’ भन्ने फारम भरेर २१ गते घर जान पाए ।

क्वारेन्टिन स्थलबाट केही घण्टाको दुरीमा रहेको घर उनी हिँडेर गए । त्यही रात २ बजे उनको मृत्यु भयो ।

बिहीबार स्वाब संकलन गरेर पशुपन्छी रोग अन्वेषण प्रयोगशाखा सुर्खेत पठाउँदा उनमा कोरोना संक्रमण पुष्टि भयो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयकास्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी भन्छन्, ‘टाइम अफ इन्फेक्सनमा हामी पनि द्विविधामा छौं ।’

भारतबाट संक्रमित भएर आएको भए आरडीटी पोजेटिभ आउनुपर्ने उनको तर्क छ । तर १४ दिन क्वारेन्टिन बसेपछि गरिएको आरडीटी टेष्टको रिपोर्ट पनि नेगेटिभ नै आयो ।

ती युवकमा कोरोना संक्रमणको लक्षण पनि थिएन । ‘खोकी मात्र लागेको भए हामीले रोक्थ्यौं, तर केही नै थिएन’ डा. तिवारी भन्छन्, ‘तर मृत्युपछि पीसीआर (विधिको परीक्षणको नतिजा) पनि पोजेटिभ आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन र पोस्टमार्टम गर्न सक्ने अवस्था पनि नभएकाले मृत्युको कारण कोरोना नै भनेका छौं ।’

तिवारी अघि भन्छन्, ‘उहाँको मृत्यु भयो, यो दुखद छ । सँगै यसले हामीलाई आरडीटी टेष्टबारे सोच्न बाध्य बनाएको छ । यसबारे हामी छलफल पनि गरिरहेका छौं ।’online khabar