ताजा समाचार:
Search

दाङमा भरियो कोरोना अस्पताल, क्वारेन्टिनमै संक्रमित

दाङ ।जेठ २१, २०७७

 

एक सय बेड भनिएको कोरोना विशेष अस्पताल ५० जना बिरामीले नै भरिएपछि पछिल्लो पटक संक्रमित भएका बिरामीहरुलाई सम्बन्धित क्वारेन्टिनमै राखिएको छ । जिल्लाका प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने संक्रमित बिरामीलाई राखिएको छैन ।

संघीय सरकारले आइतबार मात्रै क्वारेन्टिनलाई अपग्रेड गरी आइसोलेसन निर्माण गर्ने रणनीति बनाएसँगै अब संक्रमित बिरामीहरुलाई पनि क्वारेन्टिन अपग्रेड गरी बनाइएको आइसोलेसन वा नयाँ संरचनामा आइसोलेसन अस्पताल निर्माण गरी राख्ने तयारी स्थानीय प्रशासन र स्थानीय सरकारले गरेका छन् ।

दाङमा कोरोना संक्रमित बिरामी बढ्न थालेपछि उपचार गर्न समस्या देखिएको छ । बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा बिरामी बढेसँगै नयाँ संक्रमित बिरामीलाई उपचार गर्न समस्या भएको हो ।एक सय बेडको क्षमता रहेको कोरोना विशेष अस्पतालले नयाँ संक्रमितलाई तत्काल नल्याउन जिल्ला प्रशासनय कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयलाई पत्र लेखेपछि सोमबार दाङमा कोरोना संक्रमण देखिएका ९ जना व्यक्तिलाई उपचार गर्न समस्या भएको छ ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा क्षमताभन्दा बढी बिरामी रहेको भनेपछि बिरामीहरुलाई उपचारमा समस्या भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

बेलझुण्डीको कोरोना विशेष अस्पतालमा १ सय बेड भनिए पनि ती बेडहरु ५० जना बिरामीले भरिने अस्पताल व्यवस्थापनले जनाएको छ ।

अस्पतालमा कोरोना परीक्षणकै क्रममा नेगेटिभ रिपोर्ट आएको अवस्थामा त्यस्ता बिरामीलाई अर्कोे बेडमा सार्नुपर्ने हुन्छ । अर्को रिपोर्टमा फेरि पोजेटिभ आए फेरि पहिलेकै बेडमा राख्नुपर्ने भएकाले ५० जना बिरामीले १ सय बेड भरिने पनि अस्पतालले जनाएको छ ।

‘रिपोर्ट फेरबदल हुनासाथ बेड पनि फेरबदल गर्नुपर्ने भएकाले ५० जना बिरामीका लागि १ सय बेड आवश्यक हुन्छ, यो जहाँतहीका कोरोना अस्पतालको अभ्यास हो,’ अस्पतालका व्यवस्थापक द्रोण वलीले भने ।

सो भवनमा रहेको माथिल्लो तलासमेत उपयोग गरी आवश्यक परेको अवस्थामा २ सय बेडसम्म बनाउन सकिने अस्पताल व्यवस्थापनले मुख्यमन्त्री शंकर पोख्रेललाई केही दिन पहिले अवगत गराएको थियो ।ratopati