फागुन २ गते देखि बेनी नगरमा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

विकल्प न्यूज/बेनी
माघ २४ गते ।

बेनी नगरपालिकाले आगमी फागुन २ देखि ४ गते सम्म नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने भएको छ । सदरमुकाम बेनीको खुल्ला मञ्चमा विद्यालय स्तरीय छात्रछात्रा खेलकुद प्रतियोगिता सञ्चालन गर्न लागिएको शुक्रवार पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी गराइएको हो । प्रतियोगिता सञ्चालन गर्न नगरकार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरी तयारी थालिएको छ ।

विद्यालय स्तरमा अध्ययन गर्ने छात्रछात्राहरुको खेल प्रतिभाको पहिचान गरि स्थानीय, जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले लुकेका प्रतिभा पहिचान गर्न खेलकुद मन्त्रालय र खेलकुद परिषदसँगको समन्वयमा बेनी नगरपालिकाले प्रतियोगिता सञ्चालन गर्न लागेको बेनी नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिनुभयो ।

 

जातजातिको झाँकी र बाजागाजा सहित प्रतियोगिताको उदघाटन गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कबड्डी एथलेटिक्स र मार्शल आर्ट बिधाका खेल सञ्चालन गरिने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुने विद्यालयलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार रुपैयाँ सहित रनिङ शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रवक्ता बराइलीले जानकारी दिनुभयो ।

यसैगरी उहाँका अनुसार हरेक विधामा उत्कृष्ट खेलाडीहरुलाई नगद २५ सय रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिने छ ।
प्रतियोगितामा नगरपालिकाका निजी र सामुदायिक गरी २४ विद्यालयको सहभागिता हुने प्रतियोगिता सम्पन्न गर्नका लागि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै सार्क खेलकुदप्रतियोगितामा सहभागी भएका ४ जना खेलाडीहरुलाई सम्मान गरिने खेल संयोजक विश्वकर्माले बताउनुभयो ।