चन्द्रप्रकाश बानियाँ/विकल्प ,
फागुन सात गतेलाई “प्रजातन्त्र दिवस” भनेर मनाउने चलन मेटिएको छैन । हुन पनि त्यो राणाशाही अन्तको घोषणा भएको दिन हो । नेपाली कांग्रसले गरेको सशस्त्र विद्रोहले २००७ सालमा राणशाहीलाई ढालेको हो । राणाहरुको जहानीयाँ शासनविरुद्धको आन्दोलनमा म्याग्दीको पनि सहभागिता थियो ।
आन्दोलनकारीहरुद्वारा जिल्ला सदरमुकाममा रहेका गौडा गुल्म गढीहरु कब्जा गर्ने÷गराउने सिलसिलामा ओमप्रसाद गौचनको नेतृत्वमा बाग्लुङ्ग गौडा २००७ सालको मंसिरमै कब्जा भएकोे थियो । कब्जा गरिएको मात्र होइन बाग्लुङ्ग जिल्लामा एउटा स्वतन्त्र अन्तरिम मन्त्रिपरिषद समेत गठन भएको थियो ।
गौचनको प्रधानमन्त्रित्वमा गठित स्थानीय सरकारमा म्याग्दी राखुका नन्दबहादुर मल्ललाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
उनै नन्दबहादुर मल्ल सरकारी जागिरबाट अवकास लिएपछि पञ्चायत राजनीतिमा होमिए । कुरो २०३८ सालको हो । त्यो वर्ष पञ्चायतको इतिहासमै पहिलो पटक “राष्ट्रिय पञ्चायत”को चुनाव जनताको प्रत्यक्ष मतबाट हुन लागेको थियो । हो, त्यही चुनावमा नन्दबहादुर मल्लको पनि उमेदवारी प¥यो । उनको मुख्य चुनावी नारा “म्याग्दीमा मोटरबाटो पु¥याउने” थियो । कुशल वाककलामा धनी नन्दबहादुरको पक्षमा देखिन थालेको चुनावी लहरले म्याग्दीका सदाबहार पञ्चनेता भीमप्रसाद गौचनपक्षलाई गतिलो गरी पसिना चुहाउनुपर्ने बनायो ।
नन्दबहादुरका विकासे प्रतिबद्धताहरुलाई “हावदारी गफ” सावित गर्न गौचनपक्ष ज्यानफालेर लाग्यो । “नन्दबहादुरले ल्याउने भनेको मोटर केटाकेटीहरुले खेलाउने खेलौना हो, त्यो पनि आफ्नो कोटको गोजीमा राखेर ल्याउने होला ! म्याग्दीजस्तो विकट ठाउँमा मोटरचल्ने सडक बनाउनु सम्भवै छैन !! सडक नभए मोटर गुड्दैन !!!” भनेर सिङ्गो जिल्लाभर भाषण गर्दै हिडेथे नेताश्री गौचनजी !
हुन पनि त्यो जमानामा म्याग्दीमा मोटर गुडाउने कुरा असम्भव स्वैर कल्पनाजस्तो लाग्थ्यो । विकासका ठेकेदार मानिने पञ्चनेताहरु स्वयमले समेत म्याग्दीसम्म आफ्नो जीवनकालमा मोटर आइपुग्छ भन्ने सपनामा पनि चिताउँदैनथे । म्याग्दीबासीलाई मोटरको मुख देख्न डेढदुई दिनको पैदलयात्रा तय गरेर पोखरा वा स्याङ्गजा नौडाँडा पुग्नुपथ्र्यो । वेनीबाट सवेरै हिडेको बटुवाले बेलुका नौडाँडामा बस समात्नसम्म भ्यायो भने एकै दिनमा पोखरा पुग्न सक्थ्यो । त्यस्तो म्याराथन दौडको सफलता पुरुषार्थ नै मानिन्थ्यो । अथवा दुईचार दिन अघि देखिको धम्मरधुस कसरतबाट हवाइटिकटको व्यवस्था गर्न सकियो भने बलेवाबाट पोखरासम्म ट्विनअटर विमानले पु¥याइदिन्थ्यो ।
बलेवासम्मको पैदलयात्राको कठिनाइ सम्झँदा एउटा सानो हवाईमैदान निर्माण गर्न पनि नसकिने आफ्नो जन्मभूमि म्याग्दीको विकट भूवनोट देखेर विरक्ति लाग्थ्यो । डोल्पा, मुगु, मनाङ्ग, ताप्लेजुङ्ग जस्ता विकट हिमाली जिल्लाहरुमा पनि हवाई यातायातको सुविधा उपलब्ध थियो । तर दुर्गमको सरकारी गणनामा नपर्ने म्याग्दीमा नत मोटर रोड निर्माणको सम्भावना देखिन्थ्यो नत हवाई मैदान बनाउने ठाउँ नै थियो ।
समयले परिवर्तन निम्त्याउँदो रहेछ र परिवर्तनले समाज र व्यवस्थाको कायाकल्प नै गरिदिँदो रहेछ । अकल्पनीय परिवर्तनहरु सम्भव हुँदा रहेछन् । म्याग्दीको त्यो विकटताले अब काँचुली फेरिसकेको छ । सदरमुकाम वेनीको संकुचित भूवनोटमध्ये आधाआधी त सडकले नै खाइसकेको छ । १०/१२ दिनको कठिन पैदल यात्रा गरेर बाजेबराजुहरुले मुश्किलसँग पाइलो राख्न पाउने “नेपाल” नामको तीर्थमा अब केवल १०/८ घण्टाकै मोटरयात्रामा पुगिने भैसक्यो । म्याग्दीमा मोटर गुडाउने नन्दबहादुर मल्लको सपनालाई ठट्टामा उडाउने गौचनजीहरु मोटरमै सररर काठमाडौं–वेनी गर्ने मात्रै होइन, आफ्नो जन्मस्थान पाखापानीको विकट भित्तोमा पनि मोटरमै पुग्छन् ।
कुरो २०४०÷४२ तिरको हो । घुँडाको समस्या लिएर पोखराका एकजना राणा थरका डाक्टरलाई देखाउन पुग्दा “फुटबलको खेलाडी हो ?” भन्ने उनको प्रश्नले मलाई अलिकता लज्जानुभूति गराएथ्यो । वेनी बजारको परम्परागत फुटबल मैदान जिल्लाप्रशासनको सरकारी भवनले निलिसकेको थियो । त्यसबाहेक अन्त कतै फुटबल मैदान बनाउन पुग्ने क्षेत्रफलको खाली चौर छँदै थिएन । अनि कहाँ पाएर फुटबल खेल्नु ? सिङ्गो म्याग्दी जिल्लाभरमा कहीँकतै हवाई मैदान बनाउने कुरा त परै जाओस् फुटबल मैदान बनाउन पुग्ने समथर जमिन पनि थिएन । त्यसैले “फुटबल त होइन, अरु खेलहरुमा रुचि छ, खेलिन्छ” भनेर जवाफ फर्काएको सम्झना आजपर्यन्त मलाई छ ।
भर्खर मात्र नेपाली खेलाडीहरुले सागगेममा पुरुष फुटबल तर्फ स्वर्णपदक हात पारेका छन् । जीतको खुसीले सिङ्गो मुलुकलाई “भुईं न भाँडामा” बनाइदिएको छ । २३÷२३ वर्षको लामो तपस्यापछि प्राप्त वरदान महत्वपूर्ण लाग्ने नै भो । त्यसमाथि अन्यायपूर्ण नाकाबन्दीका कारणले अमिलिएको नेपाली मनले भारतमाथि प्राप्त भएको विजयलाई सान्त्वनाको मलमपट्टी ठानेको छ । हुन त यसभन्दा अगाडि पनि दक्षिण एसिया खेलमा नेपाल च्याम्पिएन नभएको होइन, तर यसपटकको विजयको खुसी विशेष रह्यो । अतुलनीय रह्यो । अभूतपूर्वजस्तो बन्यो । फुटबल उसै पनि नेपालीहरुको सर्वप्रिय खेल रहँदै आएको छ । यसपटको विजयले गाउँ गाउँमा फुटबलप्रतिको आकर्षणमा अभूतपूर्व बृद्धि गराइदिएकोे छ । तर दुर्भाग्य नै मान्नुपर्छ कि म्याग्दीमा भने रहर गर्नेहरुलाई खेलमैदानको अभाव नराम्रोसँग खटकने अवस्था छ ।
कोठाभित्र बसेर कल्पना गर्नुको कुनै अर्थ रहँदैन । कल्पनालाई वास्तविकतामा बदल्ने प्रयत्न गर्नुपर्दो रहेछ,। अभियान चलाउनु पर्ने रहेछ । वेनीलाई मोटरबाटोले नछुँदैको कुरा हो, हाँडीभिरको खोरियालाई जिल्लाको खेलमैदानको रुपमा विकास गर्न सकिन्छ र गर्नुपर्छ जस्तो मलाई लाग्थ्यो । वेनीले कहिल्यै त्यसको आवश्यकता महसुस गरेन । पञ्चायतकालको अन्ततिर नियमित रुपमा स्कुलस्तरीय “विरेन्द्र शिल्ड” खेल प्रतियोगिता हुन्थे । त्यसपूर्व जिल्लास्तरीय खेलकुद प्रतियोगिताहरु आयोजित हुने गर्थे ।
वेनीको सार्वजनिक चौरहरु मासिए पछि स्वतः त्यस्ता आयोजनाहरु पनि अस्ताए । परम्परा तोडिए, मासिए । विकल्प खोज्नेतिर कसैको ध्यान गएन । पञ्चायतको उत्कर्षकालतिर “जिल्ला शिक्षा समिति” नामको संस्थाले कहिले बावियाचौर पारीपट्टिको अर्मनको बगर, कहिले सिंगा र कहिले दरबाङ्गमा जिल्लास्तरीय खेलमैदानको नाममा रकम खर्च गर्ने गथ्र्यो । रकम मैदानमा भन्दा बढी पञ्चहरुको पेटमा पुग्थ्यो ।
त्यतिबेला अलिकता गम्भीरतापूर्वक विषयलाई लिइदिएका भए वेनीवरपर कतै खेल मैदान बन्न सक्थ्यो होला । सामुदायिक वनको कब्जामा पर्नुृपूर्व चुत्रेनीको बगरमा त्यस्तो सम्भावना थियो । सम्भावना भएका ठाउँहरु मासिए, सकिए । अब चेत पलाए पनि सम्भावना क्षीण भैसक्यो । समयले कसैलाई कुर्दैन भनेको साँचै रहेछ ।
कुनै पार्टी वा संस्थाले नेपाल वन्द ग¥यो, चक्का जाम भयो भने केटाकटीहरुले मात्र होइन तन्नेरी किशोरहरु समेतले क्रिकेट अभ्यासगर्ने स्टेडियम काठमाडौंका सडक गल्लीहरुलाई बनाउँछन् ।
क्रिकेटको तृष्णा मेट्ने प्रयत्न गर्छन् । सायद फुटबलका शौखिन म्याग्दीबासीहरुले पनि फुटबलको तृष्णा मेट्न हिउँदका दिन कुनुृपर्ने होला । बाली उठेपछिका खाली खेतबारीका फाँटहरुमा फुटबलको अभ्यास गर्नुपर्ने होला । वेनी वरपर त मौसमी अभ्यासका लागि उपयुक्त खेतका फाँटहरु पनि बाँकी रहनेनन् । केटाकेटीहरुका इच्छा र तृष्णाहरु त्यसै तुहिने भए, , बिचरा ! नवविकल्प साप्ताहिकको अंक २२ मा प्रकाशित