म्याग्दीको गलेश्वरबाट टेलिकमको फाइबर सेवा सुरु (भिडियो सहित)

विकल्प न्यूज/बेनी
पुस २ गते । नेपाल टेलिकमले म्याग्दीको गलेश्वरबाट जिल्लामै पहिलोपटक फाइबर प्रविधिबाट आफ्नो सेवा सुरु गरेको छ । टेलिकम गलेश्वरमा फाइबर तार बिछ्याउने काम सम्पन्न गरेर सेवाग्राहीको घरघरसम्म तार टाँग्ने र डिभाइस वितरण गरी सेवाको शुभारम्भ गरेको हो ।
बुधबार टेलिकमका बागलुङ र म्याग्दीका कार्यालय प्रमुखले पुरानो तामाको प्रविधिको स्वीचलाई अफ गरेर फाइबर प्रविधिबाट सेवा सुरु गर्नुभएको छ ।

गलेश्वरमा जडान गरिएको पुरानो प्रविधिको स्वीच अफ गरिएको छ । नयाँ प्रविधिबाट गलेश्वरमा रहेका ५९ जनाको घरमा भ्वाइस र इन्टरनेट सेवा सुरु भएको टेलिकमले जनाएको छ । पुरानै नम्बरहरु कायम हुने गरी सेवा सुरु गरिएको यो नेपालमै पहिलो भएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो ।
सरकारको डिजिटल नेपालको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न तामाको प्रविधिलाई विस्थापित गरेर फाइबर प्रविधिमा लगिएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले बताउनुभयो । ग्राहकलाई गुणस्तीय सेवा प्रदान गर्न नयाँ प्रविधिबाट सेवा सुरु गरिएको उहाँले बताउनुभयो ।

बेनीबजारमा फाइबर नेटवर्क जडान गरिसकेको छ । नयाँ ग्राहकलाई भोलीबाटै सेवा दिन सकिने र पुराना ग्राहकलाई केही दिन लाग्ने उहाँले बताउनुभयो । ग्राहकले चलाइरहेको पुरानै नम्बर कायम गर्नका लागि केही दिन लाग्ने उहाँको भनाई छ । पुराना ग्राहकलाई डिभाइस निशुल्क रुपमा उपलब्ध गराइने उहाँले बताउनुभयो ।

पर्वतको जलजला गाउँपालिका केन्द्र लामाखेत, बेनी र अर्थुङगे सम्म फाइबर नेटवर्क जडान भएको उहाँले बताउनुभयो । धौलागिरि अञ्चल भित्रका सदरमुकाममा उच्च गतिको इन्टरनेट,भ्वाइस र टिभी हेर्न मिल्ने नयाँ प्रविधिबाट सेवा दिने तयारी गरेको प्रमुख शर्माले बताउनुभयो ।
सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई फाइबर प्रविधिबाट सेवा सुरु गरेको नेपाल टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।

ग्राहकको आवश्यकता अनुसार नेपाल टेलिकमले नयाँ प्रविधिबाट सेवा सुरु गरेको उहाँले बताउनुभयो । गलेश्वर सँगै बेनीबजारमा पनि सेवा सुरु भएको उहाँले बताउनुभयो ।

नयाँ प्रविधि प्रयोग गरेर पुरानै टेलिफोन नम्बरहरु कायम भएको यो नेपालमै पहिलो हो टेलिकम बागलुङका प्रमुख केशव शर्माले भन्नुभयो ‘बेनीबजारमा पनि पुरानै नम्बर कायम रहने गरी सेवा प्रदान गर्ने टेलिकमले तयारी गरेको छ ।’ दुईमहिना भित्र यही प्रविधिबाट टेलिभिजन पनि हेर्न मिल्नेगरी तयारी गरेको उहाँले बताउनुभयो ।

पुरानो प्रविधिको कपर (तामाको तार)को प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अब अन्त्य हुने प्रमुख शर्माले बताउनुभयो । बेनीमा रहेका करीब २५ सय बढी ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेटका सेवाग्राहीले एकैसाथ फाइबर प्रविधिको भ्वाइस तथा डाटाको सेवा दिने गरी तयारी गरेको उहाँले बताउनुभयो ।

कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुतगति चल्नेछ । हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबीपीएसदेखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबीपीएसदेखि ५५ एमबीपीएस गतिमा चल्नेछ । फाइबर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठवटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ ।

एउटै लिंकबाट तिब्र गतिमा इन्टरनेट पनि चलाउन सकिने, भ्वाइस सेवा पनि लिन सकिने र टिभी पनि हेर्न मिल्ने भएकाले ग्राहकको विश्वास नेपाल टेलिकमले प्राप्त गर्ने टेलिकम बागलुङका प्रमुखले शर्माले बताउनुभयो ।