वेनी बजारले सडकको विकल्प माग्न थालेछ !

chandra parkash baniya

चन्द्रप्रकाश बानियाँ/विकल्प,

सिङ्गाको बस्ती र म्याग्दी तातोपानी बजारबीचको मध्यबाटोमा “कुना’तालको पहरो” भनेर चिनिने एउटा सानो तर अप्ठेरो गल्छेँडो पर्छ । पूर्वाभिमुख भएर बग्दै आउने पौराणिक गोमती नदी त्यही पहरोमा ठोक्किएर थोरै दक्षिणतिर मोडिन्छ । सिङ्गाको फाँट निर्माणमा त्यो पहरोको निकै ठूलो योगदान रहेको छ ।

नदीको बेगलाई त्यही पहरोले नमोडिदिएको भए सिङ्गा त्यति फराकिलो बन्दैनथ्यो । हो, त्यही ठाउँमा एउटा ससानो रह बनेको छ र “कुनाको ताल” को नामले लोकपरिचित छ । झण्डै ३०/४० वर्ष अगाडिको कुरा हो, तातोपानीको खेत रोपाइको लागि जाँदै गर्दा विपरित दिशाबाट आउँदै/जाँदै गरेका दुई जोडा गोरुको बीचमा पर्नाले धकेलिएर हाम्री एकजना भाउजु दहको शिकार हुनुभएको थियो । त्यो दुर्घटनाले हाम्री भाउजु अर्थात पूर्व राजसभाका माननीय सदस्य श्री रुद्रबहादुर केसीजीकी सहोदर दिदीको ज्यान मात्रै गएन, परिवारको एउटा सदस्यको ज्यान खाने खेत नराख्ने भनेर रिसको झोकमा लिइएको अव्यवहारिक निर्णले बानियाँहरुलाई ठूलै आर्थिक क्षति पनि पु¥याएको थियो ।

हाल तातोपानीको बजार बसेको जमिन सिन्कीको मूल्यमा बेचिनाले ज्यान सँगसँगै धन पनि गुमेको थियो ।
यसपटक वेनी पुग्दा हुलाकचोकको आवागमनको सघनताले मलाई त्यो पुरानो घटना स्मरण गराएको थियो ।
नयाँ सडकको नामले चिनिने वेनीको “गल्ली” निर्माणको जग हाल्ने श्रेय अङ्गद श्रेष्ठलाई जान्छ । उनैको पहल र अग्रसरतामा हुलाकचोकदेखि सुरु भएको सडक खोल्ने अभियान के कति कारणले हो कुन्नी यति होटेल अगाडि पुगेर रोकिएको थियो ।

त्यतिबेला अवरोध सिर्जना नभएका भए त्यो सडक सिधै म्याग्दी अस्पतालमा पुगेर ठोकिन्थ्यो होला । जेहोस, वेनीको सन्दर्भमा अपेक्षाकृत फराकिलो गल्ली त्यही हो । फराकिलो भन्नुपर्ने त्यही गल्लीको दुबै किनारामा सडकपेटी निर्माण गर्न मिल्दैन । एकातर्फ मात्रै भए पनि पेटी बनाउने सोच कसैको दिमागमा फुरेका पनि देखिदैन । मोटर नपुग्दै त त्यो गल्ली निकै फराकिलो जस्तो लाग्थ्यो पनि । अबभने असनको गल्लीको झल्को दिन थालेछ । दोपाया, चौपाया सहित सबै खालका सवारी साधानहरु सगोलमा हिड्नुपर्ने सडकमा जुनसुकै बेला दुर्घटना निम्तिन सक्ने भएछ ।
सानो बजार ! साँघुरा सडक गल्लीहरु ! घना बस्ती ! बाक्लो आवागमन ! मोटर र मान्छे सँगसँगै हिड्नुपर्ने विडम्बनाको विकल्प छैन ! चलिरहेको मुुलुकको भौगोलिक पुनर्संरचनाको अभियान पूरा हुँदा जिल्ला रहने छैनन् । जिल्ला सदरमुकाम नरहने भएपछि आवागमन अलि कम होला कि भन्ने सम्भावना पनि देखिदैन ।

beni bazar, myagdi

beni bazar, myagdi

पहिलो कुरा त म्याग्दी जिल्लाको भौगोलिक बनोट नै यस्तो बनेको छ कि उत्तर र पश्चिम दुबैतिरका गाउँबस्तीहरुको निकासको एकमात्र गौडो वेनी नै हो । वेनी भएर सिङ्गो म्याग्दीको बाँकी विश्वसँग सम्बन्ध जोडिन्छ । राजधानी लगायत मुलुकका अन्य सहर बजारहरुतिर धाउनु पर्दा होस अथवा विदेश हानिदा वा तराई झर्नका लागि होस, वेनी नटेकी सुखै छैन । दोश्रोकुरा, निर्माणाधीन कालीगण्डकी कोराइडोरको निर्माण सम्पन्न भएपछि पोखरा–भैरहवा–बुटवल–तानसेनजस्ता ठूला सहरहरुको चिनीया नाकासम्मको पहुँच पनि वेनी भएर जोडिने छ ।

त्यसमाथि थप मध्यपहाडी राजमार्गको बाग्लुङ्ग–बुर्तिबाङ्ग खण्डको लम्बाइ ११७ किलोमिटरको तुलनामा वेनी–दर्बाङ्ग–बुर्तिवाङ्ग जोड्ने राम्रो सडक बन्ने हो भने झण्डै आधा दुरी कम हुनजान्छ । जसरी मालढुङ्गा–बाग्लुङ्ग–वेनी जोड्ने सडकभन्दा व्यवहारमा मालढुङ्गा–वेनी सडकखण्ड गुलजार बनेको छ त्यसैगरी बागुङ्ग–बुर्तिबाङ्ग आउजाउ गर्न पनि वेनी–दर्वाङ्गको सडक यात्रुहरुको प्राथमिकतामा पर्नेछ । अर्थात बाग्लुङ्गको पश्चिमी खण्डलाई कालीगण्डकी कोराइडोरसँग जोड्ने विन्दु वेनीबजार नै हुनेछ । यसरी जिल्ला सदरमुकाम उठिहाले पनि वेनीमा मानिसको आवगमन पातलिने सम्भावना पटक्कै देखिदैन ।
चिनीया नाकासँगको अन्तर्सम्वन्ध घनिभूत हुनेबेलातिर वेनी झन साँघुरो लाग्नेछ । उत्तरदक्षिण मात्रै होइन पश्चिमतर्फ आउजाउ गर्ने सवारी साधनहरुको संख्या कैयौं गुणाले बृद्धि हुनेछ । अहिले उपलब्ध सडक संरचनाले यतिबेलाको यात्रुभार थाम्न त कठिन परिरहेको अनुभूति हुन्छ भने भोलीको अत्तो, गाह्रो र अप्ठेरोको पूर्वानुमान गर्दा नै कहालीलाग्दो परिस्थिति दृष्टिगोचर हुँदो रहेछ ।

वेनीपश्चिमतिरबाट आउने सवारी साधनहरुले हालसम्म जुन बाटो प्रयोग गरिरहेका छन् भविष्यमा पनि त्यसैलाई निरन्तरता दिन सम्भव हुने देखिदैन । वेनी– दर्बाङ्ग सडक खण्डलाई निर्माणधीन कालीगण्डकी कोराइडोरसँग जोड्ने वैकल्पिक सडकको व्यवस्थाको बारेमा योजना बनाउन ढिलो भैसकेको हो कि जस्तो लाग्दो रहेछ । काली गण्डकीको किनारमा बन्दै गरेको तटबन्धलाई भविष्यको सडकभार थाम्नसक्ने गरी निर्माण गर्नुपर्ने कुरातिर वेनी बजारबासीको ध्यान पुगेको होला कि नहोला ? पिपलचोकदेखि सिधै कालीको किनारातिर जोडिने गरी सडकको मुख खोल्नुपर्ने आवश्यकताबोध वेनीबजारले गरेको होला कि नहोला ? कतै नदी किनारतिरबाट सडक निर्माण गर्दा बजार ओझेलमा पर्छ कि भन्ने संकीर्ण सोचले बजारलाई “कानमा तेल राखेर” बस्न अभिप्रेरित गरिरहेको त छैन ? यसपटक वेनी पुग्दा दृश्यमान हुन गएको बजारको अस्तव्यस्तताले मनभित्र उब्जिएका यी यस्ता जिज्ञासाहरुसँग मनोसंवाद गर्नुभन्दा बढी गर्न सकिने पो के छ र खोइ ?!
“अघि हेर्नु चार हात, पछि हेर्नु बाह््र हात !” समयमै बुद्धि पु¥याउन सकिएन भने पछुताउनुको विकल्प रहँदैन । सडकविभागले वेनी सामुदायिक उच्च मावि छेउदेखि डल्लीपिपलसम्म वराहपाखोको फेदैफेद बाटो बनाउने प्रस्ताव गरेको थियो । वेनीबजारले असहमति जनायो । त्यतिबेला वेनी बजारको कुनातिरबाट सडक निर्माणको योजनामा अवरोध पु¥याउने बजारबासीहरुले सायदै आफ्नो अल्पदृष्टिको अनुभूति गरेका होलान् ।

ठाउँ हुँदा त गल्ती सुधार्न पनि सकिन्छ । गल्ती सुधार्ने ठाउँ नै राखिएन भने पश्चाताप बाहेक अरु हात लाग्ने कुरा केही हुँदैन । दर्बाङ्ग–गलेश्वर जोड्ने गरी वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने अवस्था आयो भने वेनीबजारका लागि त्यो भन्दा दुर्भाग्यको विषय अर्को ठहरिने छैन । बाबियाचौर–गलेश्वर जोड्नेगरी माथिल्लो बाटो बन्दा अपेक्षाकृत दुरी छोटिन्छ । टिकाउ पनि हुन्छ ।

मुलुकले भौतिक विकासमा एक फड्को मार्दा त्यस्तो सोच आउन सक्दैन भन्न सकिन्न । चीनले गरेको सगरमाथा छेडेर काठमाडौंसम्म रेलमार्ग बनाइदिने प्रस्तावेको आलोकमा भन्न सकिने, अनुमान गर्न सकिने कुरा के देखिन्छ भने भौतिक विकासको उपल्लो चरणमा पुग्दा आज असम्भव लाग्ने कुराहरु भोलि सहज लाग्ने हुँदो रहेछ । वेनीले पनि सोच्नुपर्ने बेला आइसकेको जस्तो लाग्छ । आफ्नै दृष्टि, आफ्नै सोच र आफ्नै कर्मले आफ्नो लागि भविष्यको डोरेटो कोरिने हो । स्वर्ग जाने बाटो बनाउने योजना तुहिएको “रावण रुवाई”को नियति वेनीले पनि भोग्नु नपरे हुन्थ्यो । किम् अधिकम् ? इति । नवविकल्प पत्रिका अंक २१ मा प्रकाशित