यो जित होइन, भारतलाई जवाफ हो भारतले फुटबल मैदानमा ‘नाकाबन्दी’ लगाउन सकेन

चिरञ्जीवी पौडेल

साग फुटबल फिफाले औपचारिक मान्यता नदिएको प्रतियोगिता हो । तर, नेपालीहरुका लागि आजको जितको महत्व कति छ त्यो फिफालाई थाहा छैन । उसले मान्यता दिए पनि नदिए पनि फुटबल फुटबल नै हो । भारत भारत नै हो । र, जित जित नै हो ।

साग फुटबलको फाइनलमा भारतलाई हराएर नेपालले एकैसाथ धेरै प्रश्नहरुको जवाफ दिएको छ । भारतले सम्भवतः फाइनललाई एक औपचारिकता मात्रै सम्झेको थियो । किनकि सबै कुरा उसको अनुकल थिए । आफ्नो घरभित्र भएको प्रतियोगिता । दर्शकको साथ । डिफेन्डिङ च्याम्पियन हुनुको आत्मबल । नेपालमाथि फुटबलमा निरन्तर कायम राखेको प्रभूत्व । आदि आदि ।

त्यसमाथि आफूले नाकाबन्दी लगाएर छटपटीमा पारेको परनिर्भर छिमेकी देशका खेलाडीले आफ्नै भूमिमा आएर घुाडा टेकाउलान् भन्ने उसले सायदै सोचेको थियो । तर, दुनियाामा सबै कुरा कुरा भारतले सोचेअनुसार मात्रै हुँदैन । त्यसमा पनि फुटबलमा त खेलेरै, प्रतिस्पर्धा गरेरै जित्नुपर्छ । किनकी फुटबल मैदानमा कसैले कसैलाई ‘नाकाबन्दी’ लगाउन सक्दैन ।

Gold

साग गेम्समा सबैभन्दा महत्वपूर्ण विधा मानिन्छ फुटबल । अझ नेपाल जस्तो फुटबलप्रेमीहरुको देशका लागि यो कयौं स्वर्ण बराबर हो । सन् १९९९ नेपालले आयोजना गरेको साग गेम्समा नेपालले आफ्नो इतिहासमै सबैभन्दा बढि स्वर्णपदक जितेको थियो । तर, फुटबलको फाइनलमा बंगलादेशसित पराजित हुँदा लामो समय चुकचुकाउनुपर्‍यो ।
यस सागमा नेपाल पदक तालिकामा झण्डै पुछारमा छ । फुटबल अगाडी जम्मा दुई स्वर्ण जितेको थियो नेपालले । तर, फुटबलमा प्राप्त जितले सारा नेपालीको शिर ठाडो बनाइदिएको छ । अरु खेलका हारहरुलाई बिर्साइदिएको छ । विभिन्न बहानामा विभाजित नेपाली मनहरुलाई एकसाथ रम्ने बहाना दिएको छ फुटबलले ।

एक सय ८३ स्वर्ण जितिसकेको भारतका लागि यो अर्को एउटा स्वर्ण मात्र थिएन । इज्जतको विषय थियो । सन् १९९९ मा नेपालले फुटबलको फाइनल हार्दा भारतीय सञ्चारमाध्यमले लेखेका थिए, ‘बंगलादेश ने नेपालको उसी के मैदानमै धुल चटादिया ।’ आज १७ वर्षपछि त्यहि डाइलग भारतलाई फिर्ता गर्दै लेख्नुपरेको छ, नेपालले भारतलाई उसकै भूमिमा धुलो चटायो ।

Nepal-Football

आजको खेलमा पेनाल्टी गोलमार्फत भारतले अग्रता लिने मौका पाएको थियो । यदि यो पुरानो नेपाली टिम थियो भने १-० ले पछि परिसकेको अवस्थामा अब हारियो भनेर सबैजना सुत्दा हुन्थ्यो । तर, यो टिम अर्कै हो । ‘खेललाई पैसासित साट्नेहरु’ टिमबाट गयल भइसकेको अवस्थामा टिममा लडाकुहरु मात्र बाँकी छन् । लडाकुहरुले कहिल्यै हार मान्दैनन्, जबसम्म खेल्छन् । नेपालले १-० लाई उल्टाएर नेपालले १-२ बनायो ।

आजको दूनियामा खेलकुद मनोरञ्जनको साधन मात्रै होइन । यो देशको प्रतिष्ठा र गौरवसित जोडिएको विधा हो । त्यहि भएर सम्पन्न देशहरुले खेलकुदमा ठूलो धनराशी ओइर्‍याउँछन् । खेलाडीहरुलाई मनग्गे सुविधा दिन्छन् । नेपालले त्यो गर्न सकेको छैन । भारत र नेपालकै खेलाडीहरुको सेवा सुविधाको कुरा गर्दा ठूलो अन्तराल पाइन्छ । यद्यपि, अन्तर्राष्ट्रिय म्याचमा जितको भोक सेवा-सुविधाले मात्रै जन्माउँदैन । राष्ट्रियता र राष्ट्रप्रेमले जन्माउँछ ।नेपाली टोलीलाई जितको भोक थियो २३ वर्षसम्म जित्न नसकेको । र, यो भोक मेटाउन भारतजस्तो सहि प्रतिद्वन्द्वी अर्को को हुन सक्थ्यो ?

  र, यात्रा भर्खर सुरु भएको छ

नेपालले एक महिनाको अन्तरालमा दुईवटा फुटबल उपाधि जितेको छ । खेलाडीहरु बधाईका पात्र छन् । तर, बधाई दिएर मात्रै राष्ट्रको दायित्व पूरा हुँदैन । उपाधि बोकेर फर्केका खेलाडीहरुलाई रथ यात्रा गराएर वा दोसल्ला ओढाएर मात्र पनि राज्यको दायित्व पूरा हुन्न ।
अहिलेको युवा टिमले ठूलो सम्भावना देखाएको छ । यसलाई फल्ने फूल्ने वातावरण दिनु सिंगो राष्ट्रको कर्तव्य हो । यात्रा भर्खर सुरु भएको छ । किनभने यो भर्खरै जन्मेको टिम हो । यो टिमलाई बढिभन्दा बढि म्याच एक्सपोजरको खाँचो छ । राज्यलाई फुटबलमा लगानी बढाउनका निम्ति यो जितले घच्घच्याएको छ । फुटबलमा खेलाडीहरुको भविष्य सुनश्चित हुने वातावरण बनाउनका निम्ति सरकार र निजी क्षेत्रलाई प्रेरणा मिलेको छ । त्यो भएको खण्डमा भोलि देशभरीबाट धेरैभन्दा धेरै नवयुगहरु जन्मिनेछन् ।

अब नेपाल साफबाट माथि उक्लिनुपर्छ । एशियाली स्तरमा आउन कस्सिनुपर्छ । यो उमंग सेलाउनुहुन्न । खेलाडीहरुले पनि एउटा वा दुईवटा प्रतियोगिता जितेर हाई काढ्नु हुन्न । त्यसैमा रमाएर बसिरहनु पनि हुन्न । एकपछि अर्को सपना देख्नुपर्छ । उनीहरुले विश्वकपको सपना देख्न थाल्नुपर्छ ।

खेल खेल मात्र होइन । आफ्नो देशमाथि गौरव गर्ने र राष्ट्रियताको वोध गर्ने माध्यम पनि हो । भारतीय भूमिमा नेपाल राष्ट्रको झण्डा फहर्‍याउने अनि नेपालको राष्ट्रिय धुन गुञ्जाउने अबसर नत्र कसरी आउथ्यो ? onlinekhabar