देवीप्रसाद शर्मा /विकल्प न्यूज
भदौं ११ गते ।
‘समाजवाद’ वर्तमान नेपालको जल्दोबल्दो नारा हो । जपना हो । राजनीतिधर्मीको । नयाँ व्यवस्थाका पक्षधरहरुको । प्रगतिवादीहरुको । वर्षौंअघिदेखिको एउटा व्यवस्था अन्त्य भएपश्चात् बनेको संविधानले नै समाजवादउन्मुख नेपालको परिकल्पना गरेदेखि यो नारा अब सीमित व्यक्तिको मात्र पनि रहेन । यो त नेपाली समाजको नारा बनिसक्यो । सबै प्रगतिशील नेपालीजनको । नेपालीमनको । अरु सबैको मुद्दा बनिसक्यो जसले देशलाई समुन्नत भएको देख्न चाहन्छन् ।
चरम राष्ट्रिय पूँजीको निर्माण गरेर अन्ततोगत्वा उन्नत र न्यायपूर्ण समाजको स्थापना नै समाजवाद हो । नीतिगत मात्र नभई व्यावहारिक रुपमै सबै वर्ग, जाति, क्षेत्र र लिङ्गको समान अवसर र पुहँचको सुनिश्चिता हुनु समाजवादी मुलुकको सूचक हो । समाजवादका आदर्श, मूल्य र मान्यताहरु अरु पनि धेरै छन् । ती मूल्य र मान्यताहरु सहितको समाज नै असली समाजवादको नमुना हो ।
विद्यालयलाई सुक्ष्म समाजका रुपमा हेरिन्छ । विद्यालयमा सबै जात, वर्ण, लिङ्ग, भाषा, धर्म र संस्कार बोकेका बालमस्तिष्कहरुको जमघट हुन्छ । हो, एउटै कक्षाकोठामा विविधिकरणको गज्जब संयोजन रहेको हुन्छ । संयोजन मात्र हुँदैन तिनीहरु एक अर्काबीच भलाकुसारी हुन्छ । घुलमिल हुन्छ । रहनसनको । संस्कारको । चालचलनको । भाषाको । व्यवहारको । अनि सामाजिकीकरणको दौरानमा ती बालबालिकाहरु एउटाले अर्कालाई बुझ्न सक्छन् । चिन्न सक्छन् एक अर्काको मन ।
हामी सबैको साझा आवश्यकता एउटै हो भन्ने कुरा महसुस गर्न सक्छनु । असल नागरिक बन्नुपर्छ र राष्ट्रलाई समान हैसियतमा र समान जिम्मेवारीबोधका साथ हेर्नुपर्छ भन्ने साझा विचार प्रसारित हुन सक्छ । आदानप्रदान हुन सक्छ । हामी सबै नेपाली, हामी सबै एकै हौं भन्ने भावनाको विकास हुन सक्छ । तिनै बालबालिका भोलिका जनशक्ति हुन् । देशका कर्णधार हुन् ।
बालमस्तिष्कमा छापिएको कुरा सितीमिती हट्दैन । भेदभावरहित समाजको सपना तिनले बोक्न सक्छन् । भोलिको समाज तिनैको हो । साझा विचार र भावना बोकेका नागरिकहरुबाट बनेको समाज नै वास्तवमा संविधानले परिकल्पना गरेको समाज हो । हामी सबैले आत्मसात गरेको समाज हो । त्यही नै समाजवाद हो । यसरी हेर्दा असली समाजवादको अभ्यास त विद्यालयमै पो हुँदोरहेछ । कक्षाकोठा नै पो हुँदोरहेछ ।
सबैलाई थाहा भएकै कुरा । देशमा संविधानसभाबाटै संविधान लेखियो । समाजवादी नीतिनिर्देशक सिद्धान्त पनि बने । तर चरित्र फेरिएन । कार्यान्वयनकर्ताको । पालकको । शासनकर्ताको । विधायकको । सरकारको । त्यही शैक्षिक संस्थालाई हुनेखाने र हुँदाखाने दुईथरि बनाएर समाजवादको परिकल्पना ? किन ? पक्षपोषण भने निजी नाफामूलक विद्यालयको । नीतिले ।व्यवहारले । सामुदायिक विद्यालयलाई गरिने गालीले । लगानीले । व्यवस्थापनले ।
जब एउटा गरिबको छोराले म पैसा नभएर सार्वजनिक शैक्षिक संस्थामा पढ्न आएको हुँ भन्ने मानसिकता बोक्छ, जब अर्को बालकले म धनीको छोरो भएर सुविधासम्पन्न निजी शैक्षिक संस्थामा पढ्न पाएको छु भनेर गर्व गर्छ । खाडल त्यहीँनेर हुन्छ समाजवादको । वर्गीय खाडल । धनीले गरिब नचिन्ने, गरिबको दुःख नबुझ्ने ।
गरिबको छोराले धनी हुनुको भाव महसुस गर्न नसक्ने । धनीको छोराले गरिबको छोरालाई उपेक्षा गर्ने । अभिभावकहरु पनि तँभन्दा म के कम भन्ने । दुरी झन् टाढा टाढा । समानान्तर रेखाजस्तो । कहिल्यै नजोडिने । कुन समाजवादको विन्दुमा जोडिएलान् खै ती ? कसले जोड्ने ?
संविधानमा लोकतन्त्र र गणतन्त्र लेखिएको छ । त्यो व्यवस्थामा निशुल्क तथा अनिवार्य शिक्षाको रटान पनि गरिएको छ । संघीय शासनव्यवस्था छ । केन्द्रीय सरकार छ । प्रदेश सरकार छ । स्थानीय सरकार छ । जनप्रतिनिधि छन् । सामाजिक न्यायका लागि बनाइएका कैयन् समितिहरु छन् । ऐननियमावलीहरु धमाधम बन्दै छन् । निर्देशन चर्को छ । केन्द्रदेखि स्थानीय तहसम्म । तर समाजवाद हात्तीको देखाउने दाँत छ । अभ्यास त व्यक्तिवादी पूँजीवादको पो छ । सबै पैसाकै पछि दौडिरहेका छन् ।
भ्रष्टाचार बढ्दो छ । नीतिगत भ्रष्टाचार । संस्थागत भ्रष्टाचार । कमिसनखोरी मौलाएको छ । दलाली फस्टाएको छ । सार्वजनिक शिक्षा उपेक्षित छ । सार्वजनिक स्वास्थ्य आक्रान्त छ । निजीहरु फस्टाएका छन् । शिक्षा र स्वास्थ्यका व्यापारीहरु झनै मोटाएका छन् । मुख्यतः समाजवादको अभ्यासको लागि सार्वजनिक शिक्षाको जति मजबुतीकरण गरिहुनपर्ने हो, त्यसो हुन सकेको छैन ।
केन्द्रदेखि स्थानीय सरकार सञ्चालकहरु, विधायकहरु, जनप्रतिनिधिहरु, शिक्षाका कर्मचारीहरु, शिक्षकहरु साराको लगानी शिक्षाको व्यापारमा छ । नाफा कमाउन । रातारात धनी बन्न ।
अङ्ग्रेजीको हुँकार दिएर । गुणस्तरको हवाला दिएर । सार्वजनिक विद्यालयका कमीकमजारीलाई औंल्याएर । सार्वजनिक शिक्षामा लगानी घटाएर । सार्वजनिक शिक्षाको व्यवस्थापन भत्काएर । सार्वजनिक शिक्षामा दलीय राजनीतिकरण गरेर । सबका सब कमाउने मेलोमा छन् । आपैm नीतिनिर्माता । आफैं कार्यान्वयनकर्ता । आफै शासनकर्ता । आफै समाजवादको पक्षपोषक ।
आफै संविधानको परिपालक । के सबै देखावटी हुन् ? आफै सार्वजनिक शिक्षाको विरोधी ? मिल्छ ? व्यवहारले, चरित्रले त त्यसै भन्छ त । द्वैध चरित्र देखिएन र ?
समाजवाद बलियो बनाउने हो भने सबभन्दा पहिला पढ्ने विद्यालय एउटै बनाऊ । धनीका लागि । गरिबका लागि । पढ्ने विषय र तरिका एउटै बनाऊ । पढाइको भाषा एउटै बनाऊ । अझ मातृभाषामा आधारभूत शिक्षा दिने कुराको सुनिश्चित गर ।
अङ्ग्रेजी मोह भङ्ग गराइदेऊ । के गर्छ अङ्ग्रेजीले ? भाषा हो । जतिबेला आवश्यक पर्छ, उतिबेला सिके हुन्छ । त्यो पनि विदेश नै पठाउने हो भने । त्यसैले अङ्ग्रेजीको पछि नदौड । देशमै केही गरेर खाने जनशक्ति चाहिएको छ । देशलाई माया गर्ने नागरिक चाहिएको छ ।
आफ्नो देशको सीपलाई देशमै प्रयोग गर्नु छ । बरु पाठ्यक्रम र पाठ्यपुस्तकलाई व्यावसायिकीकरण गर । गरिखाने सीपयुक्त बनाऊ । जे बनाऊ, सबैका लागि समान बनाऊ । समान अवसर र पहुँचको लागि बनाऊ । के धनीका लागि । के गरिबका लागि । के पहुँचवालाको लागि । के पिछडा वर्गका लागि ।
हो, पावर र धनको बलमा गुणस्तरीय शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकारलाई कुण्ठित नगर । संवैधानिक हकको उपेक्षा नगर । एउटै विद्यालय र एउटै कक्षाकोठा बनाएर सबै बालबालिकाहरुलाई समाजवादी मूल्यद्वारा प्रशिक्षित गर ।
ताकि, भोलि समाजवादी सोच, चिन्तन र मनोविज्ञान र संस्कृतिद्वारा निर्देशित नागरिक बन्न सकोस् । अनि भत्काऊ निहित स्वार्थ र निजीत्वमा आधारित नाफा र व्यापारमुखी शैक्षिक प्रणालीलाई । भाषणमा होइन । कागजमा होइन । साँच्चै व्यवहारमा भत्काऊ । मानसिकतामा भत्काऊ । चरित्रमा भत्काऊ । दीर्घकालीन र अल्पकालीन योजना बनाएर ।
अझै कडा नीति बनाएर । एकै खाले शैक्षिक नीति बनाएर । चलिरहेका निजी विद्यालयहरु र शैक्षिक संस्थाहरुलाई विस्तारै सामाजिक सेवामूलक शैक्षिक संस्थामा रुपान्तरण गर्दै लैजाऊ ।
अझ सक्छौ भने सार्वजनिकीकरण नै गर । नयाँ निजी शैक्षिक संस्था खोल्न प्रतिबन्ध गर । कम्तीमा पनि विद्यालयीय तहको । अनि सामुदायिक/सार्वजनिक शिक्षाको सवलीकरण गर । लगानी बढाएर । राम्रो व्यवस्थापन गरेर । विद्यालयहरुमा आधुनिक प्रविधि भित्र्याएर । भूगोल र जनसंख्याको आधारमा विद्यालयहरु स्थापना गरेर । गुणस्तरीय शिक्षकहरुको समान वितरण गरेर ।
शिक्षकहरुको मनोबल उच्च बनाएर । अनि सबै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका छोराछोरी सामुदायिक शैक्षिक संस्थामै पढाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेर । शैक्षिक संस्थामा हुने भागबण्डा र दलीय राजनीतिको अन्त्य गरेर । रकम पुगेन ? सजिलो छ ।
भ्रष्टाचार रोक । चुहावट टाल । कमिसनखोरीको अन्त्य गर । दलालीकरण निमिट्यान्न पार । करको सही सदुपयोग गर । फजुल खर्च रोक । सुविधाभोगीका सुविधा काट । राष्ट्रिय उत्पादन बढाऊ । राष्ट्रिय पूँजीको विकास गर । साधन र स्रोतको सही परिचालन गर । किन पुग्दैन ? जति पनि पुग्छ शिक्षामा लगानी गर्न । अरुलाई दोष पटक्कै नदेऊ शिक्षकलाई त झन् दोष दिँदै नदेऊ । आफैंमा ती पीडित छन् । निहीत स्वार्थ राखेर दिएको दोषको कुनै अर्थ छैन ।
नीतिनिर्माता तिमी हौ । ऐननियमको परिपालक तिमी नै हौ । कार्यान्वयकर्ता तिमी हौ । सञ्चालक तिमी नै हौ । सरकार तिमी हौ । संविधानको रक्षक तिमी हौ ।
संघीयताको हिमायती तिमी नै हौ । अरु त केबल सहायक हुन् । सक्छौ तिमीले नै सक्छौ । अरु कसैले सक्दैन । साहस गर्न । आँट गर्न । काम गर्न । निष्कर्ष यही हो । द्वैध शिक्षा प्रणालीको अन्त्य नभई समाजवाद आउँदैन र समाजवाद स्थापना नभई सुखी नेपाली, समृद्ध नेपालको सपना सपना नै बन्नेछ । हो, सार्वजनिक शिक्षाको हुर्मत लिएर समाजवाद यो देशमा कहिल्यै आउँदैन । जय सार्वजनिक शिक्षा । जय समाजवाद । नवविकल्प साप्ताहिक पत्रिकामा प्रकाशित