योरुनाको आत्मासँग माफी माग्ने कि, राज्यसँग जवाफ ?

माघ २७, २०७२-
 सावित्री गौतम, काठमाडौं/
‘दिदी छोरीलाई यस्ता खुलाखुला लुगा नलगाइदिनुस्, ठूली भई । यसकै ‘सेफ्टी’का लागि पनि यो जरुरी छ ।’ अधिकारको बारेमा राम्रै चेतना राख्ने एक साथीले पोहोरसाल बाहुला नभएको छोटो फ्रक लगाएर वरिपरि फुरफुर गरिरहेकी मेरी छोरीतिर हेर्दै भनिन् ।
सातवर्ष मात्रै पुगेकी छोरीको बारेमा यो सुन्दा मैले ‘तिमीजस्तो मान्छेले पनि यो के भनेको ?’ भनेर भन्न सकिन ।  हामी दुवैलाई महिला वा बालिकाका भेसभुषा उनीहरुमाथि हुने हिंसाका लागि जिम्मेवार हुँदैनन् भन्ने थाहा छ ।
 यही बहानामा उनीहरुमाथि भएको हिंसालाई ढाकछोप गरिनु घोर अन्याय हो भन्ने पनि थाहा छ । तर हामी दुवैलाई यो पनि थाहा छ कि हाम्रो समाजमा बस्ने हामी सबैको नियति यही हो ।
    छोरीचेलीलाई सकेसम्म बढी ढाकछोप गर्नु, हुर्किन्जेल ढाकिएको, छोपिएको रहनलाई नै बानी पार्नु र उनीहरु सुरक्षित छन् भन्ने भ्रममा बाँच्नु । ‘महिला अधिकारकर्मी भनाउँदाहरु के हेरेर बसेका छन् ? कुनै दिन ‘अकुपाइ बालुवाटार’ भनेर घेर्न हिंड्नेहरु आज कहाँ छन् ?’ जब कुनै पनि महिला, बालिका वा किशोरीमाथी जघन्य हिंसा हुन्छ । हिजोआज सबैभन्दा बढी सुनिने दुइ प्रश्न यिनै हुन् । घरबाहिर निस्कँदा कतिपयले प्रत्यक्ष अनुहारमै हेरेर पनि सोधेका छन् यही प्रश्न । अधिकारकै नाममा स्थापना भएका संघसंस्थाको कारिन्दा नभए पनि, सडकमा नारा लगाएर नहिंडेपनि अधिकारको बारेमा बोल्छु, लेख्छु, त्यसैले सुनाउँदा हुन् ।
12631426_1195170817178103_7951333198872857715_n
    ‘तिमी अझै एकदुई वर्ष यसरी नै बोल्नेछौ, त्यसपछि थाक्नेछौ । कुनै दिन म पनि तिमीजस्तै थिएँ । मौका मिल्यो कि अधिकार र विभेदका बारे चर्को स्वरमा मकै भुटे झैं गरी पड्किन सुरु गरिहाल्ने,’ मलाई एकपटक एकजना महिला अधिकारकर्मी दिदीले भनिन् ।
 अहिले लाग्छ एकदुई वर्ष कुर्नै नपर्ने भो । थाकिसकियो । अझै कतिवटा पुस्ता थाक्लान् मेरो समाजमा । ‘छोरीमान्छे’को शरीर लिएर जन्में । साँझ परेपछिको घरबाहिरको संसार कस्तो हुन्छ थाहै पाइन । अहिले छोरीकी आमा बनेकी छु, छोरीलाई पनि साँझ नपर्दै घर भित्र्याउन आत्तिन्छु । साढे आठ वर्षकी उ नजीकैको पसल जाँदा साढे आठ मिनेटमा नआइपुग्दा सातो जान्छ । सिंगो एक पुस्ता बित्यो । तर उसले समेत साँझ परेपछिको सहर देख्न पाउने आस छैन ।
   उ पछिका अझै कति पुस्ताका छोरीहरुले नपाउने हुन् थाहा छैन । सिंगो एक पुस्ता बित्यो तर मेरो सामाजिक सुरक्षालाई लिएर मेरा बा आमा जति डराउँथे छोरीलाई लिएर ममा त्यसको एक अंश पनि कम भएको छैन । हालै पोखरामा म्याग्दीकी स्थायी बासिन्दा योरुना पुनको हत्या भयो ।
पोखरामा आमा र दिदीसंगै बस्ने र रेष्टुरेण्टमा काम गर्ने उनलाई घरभन्दा चारसय मिटरको दुरीमा टाउकोमा प्रहार गरेर हत्या गरियो, कसैले सुइंकोसम्म नि पाएन । वर्षौंदेखि निस्पट्ट अन्धकारमा डुब्न अभिसप्त सहरहरुमध्येको एउटा सहर पोखरामा योरुनाको चिच्याहट पनि त्यही निस्पट्ट अन्धकारमा विलीन भयो ।
  दिउँसोदेखि निभेका बत्ती मध्यरातसम्म नबल्दा संसाझै निदाउन बाध्य सहरहरु बाह्र घन्टासम्म सुत्न अभ्यस्त बनिसकेका छन् । यस्तोमा कसरी सुनोस कुनै सहरले रातिमा टाउकोमा चोटैचोट खाएर मारिइने योरुनाहरुको चिच्याहट । उनको हत्यारा छिटो पत्ता लगाइयोस र उचित कानुनी कारवाही होस भनेर आव्हान गरिएका सामाजिक संजालका थुप्रै पोस्टहरुमध्ये एकजनाले लेखेका थिए ‘दोष त योरुनाको पनि हो, किन त्यसरी सातआठ बजेसम्म बाहिर हिँडेकी त ?’ अभिनेत्री केकी अधिकारीले पनि एउटा पोस्ट लेखिन्, ‘साँझ पर्नेबित्तिकै घर पुगिन भने आमा आत्तिनुहुन्छ । बेलुका हिंड्नु ठीक होइन भन्नुहुन्छ ।
   कुनै गल्लीमा एक हुल केटा देखे अर्को बाटो रोज्न थाल्छु म ।’ रेष्टुरेण्टमा काम गर्ने योरुना र सिनेमामा काम गर्ने केकी दुवैको कामको समय नौ देखि पाँच बजेभित्र पर्दैन । अरु थुप्रै नेपाली महिलाहरुको जस्तै । परिवारलाई आर्थिक रुपमा सघाउन होस् वा आफ्नो सीपको उपयोग गर्न स्वाभिमानपूर्वक काम गरिरहेका यस्ता महिलाहरुलाई कति निरीह रुपमा जवाफदेही बनाइन्छ रातिराति हिंडेकोमा । राति हिंडेकैमा उनीहरुमाथि हुने हिंसाको दोष कति निर्लज्जतापूर्वक उनीहरुमाथि नै थोपरिन्छ हामीकहाँ । योरुना नारी देह लिएर जन्मेकी थिइन् । मगर समुदायकी चेली थिइन् । अभिनेत्री थिइन् । तर सबैभन्दा मुख्य कुरो उनी नेपाली नागरिक थिइन् । योरुनाको हत्याको विरोध न मगर समुदायको मात्रै जिम्मेवारी हो, न महिलाहरु मात्रैको, न अभिनेत्रीहरु मात्रैको ।
    यो त दिनहुँ असुरक्षित बन्दै गएको समाजप्रति चिन्तित हामी सबैको जिम्मेवारी हो । जवाफदेही त राति हिंडेकोमा योरुना हैन उनको सुरक्षित घरफिर्तीको जिम्मेवारी लिन नसक्ने राज्य पो हुनुपर्ने हो । निस्पट्ट अन्धकारमा बाँच्न अभिसप्त हामी अझै कति पुस्तासम्म छोरीहरुलाई नजरबन्दमा राखेर सुरक्षित भएको भ्रममा बाँच्ने ? संसाझै घर फर्किरहेका छोरीहरु कहिलेसम्म बलात्कृत भइरहने र मारिईरहने ? अब हामीले घेर्नुपर्ने ठाउँ कुनुकुन हुन ? बालुवाटार मात्रै घेरे पुग्ला कि जीविकाको जोहो गरेर साँझ घर फर्किरहेका छोरीहरुलाई अँध्यारोमा मारिनु नपरोस, कम्तीमा सडकका बत्ती ननिभाइदेउ भनेर विद्युत प्राधिकरण पनि घेर्ने ? हत्यारालाई कडा सजायको माग गर्दै सडकमा निस्केर मात्रै पुग्ला वा ‘राती काम गरेर घर फर्किने छोरीहरुलाई घर पुर्‍याइदिने जिम्मेवारी तिम्रो पनि हो,’ भनेर यातायात व्यवसायीलाई पनि सडकमै निस्केर भन्नु पर्ला ? ‘सबैजना नौ देखि पाँचकै जागिर खाने र बीच सहरमा बस्ने भाग्यमानी हुँदैनन् ।
  कुनाकाप्चामा बस्ने छोरीहरुका लागि सधै बाबु वा दाइ लिन आउन संभव हुँदैन । कहिलेकाँही ‘धर्म’दाइले पनि धर्म छाडिदिन्छन्,’ भनेर कस–कसलाई याद दिलाउनु पर्ला ? संसाँझै सहरका सार्वजनिक यातायात नथन्किउन् । अलि रातिसम्म र कुनाकाप्चासम्म पनि गुडुन भनेर बिन्ती गर्दै राज्यका कुन निकाय घेर्ने ? यी सबै कुरा सम्बन्धित निकायहरु नघेरिकन व्यवस्था भएको देख्न पाइएला कि नपाइएला ? गाउँ सहर र सडकहरुमा यो निस्पट्ट अन्धकार कहिलेसम्म ? स्त्रीलिंगीहरुका लागि साँझ परेपछिको दुनियाँ वर्जित कहिलेसम्म ? साँझ परेपछिको समाजमा उनीहरुका लागि अघोषित कफ्र्यू कहिलेसम्म ? र रातमा कुनै हिंसाका घटना घटेमा उनीहरुमाथि नै दोष थोपरिने यो प्रचलन कहिलेसम्म ? कसलाई सोध्ने यी प्रश्नहरु ? सधैं हामी ‘केटाहरुको हुल’ देखेर उल्टोतर्फ भागिरहने कि निर्धक्क हिँड्न पाउने आफ्नो वैयक्तिक स्वतन्त्रताको व्यवस्था कहिले हुन्छ भनेर राज्यसँग जवाफ माग्ने ? योरुना जस्ताहरु दिनैपिच्छे मारिरहने र उनीहरुको दिवंगत आत्मासँग हामी माफी मात्रै मागिरहने कि स्त्रीलिंगीहरुका लागि पूर्ण सुरक्षित समाज पनि माग्ने ? kantipur.com