गोकर्ण अर्याल
नेपाली राजनीतिका शिखर पुरुष एवं काँग्रेसका संस्थापक बीपी कोइरालाको ३७ औँ स्मृति दिवस विविध कार्यक्रम गरेर स्मरण गरिँदैछ । बीपीको राजनीतिक अनुयायी दल नेपाली काँग्रेस र उहाँका नाममा खडा भएका विभिन्न सङ्घसंस्थाले बीपीलाई सम्झिएका छन् । उहाँको बहुआयामिक व्यक्तित्व झल्कने किसिमका कार्यक्रम यतिबेला भइरहेका पनि छन् । तर प्रश्न छ– वर्षदिनमा एक पटक सम्झेर बीपीप्रति सच्चा सम्मान गरेको ठहर्छ कि ठहर्दैन ।
यतिबेला बीपीका राजनीतिक अनुयायीले उहाँको राजनीतिक आदर्शलाई कुन रूपमा अनुसरण गरिरहेका छन् ? वर्तमान अवस्थामा बीपीका राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तनलाई कुन रूपमा कसरी परिभाषित गरिएको छ भन्ने विश्लेषण हुन जरुरी छ ।
हुन त कतिपय सन्दर्भमा बीपी विचारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले बीपीको राजनीतिक आदर्शलाई पालना गर्न नसकेको भन्ने आरोप पनि खेपिरहेको छ । बीपीलाई राजनीतिक रूपमा प्रमुख दुश्मन ठान्नेहरू बीपीलाई बुझ्न नसकेकोमा पश्चात्ताप गरिरहेका छन् भने हिजो बीपीलाई फाँसी दिनुपर्दछ भन्ने राजनीतिक सोच बोकेका आज बीपीलाई राजनीतिक आदर्श ठान्न थालिसकेका छन् ।
बीपीलाई बुझ्ने सोच र विचारमा यसरी परिवर्तन देखिनु बीपीको राजनीतिक सोच र चिन्तन यथार्थमा आधारित थियो भन्ने कुराको पुनर्पुष्टि हो । हुन पनि बीपी एक खुला किताब हो । जसले जसरी पनि बुझ्न सक्दछ । विभिन्न किसिमका गुण र विशेषता बोक्नु भएका बीपीको स्मृति दिवस औपचारिक कार्यक्रम गरेर मात्र पूरा हुन्छ कि हुँदैन यो अहं प्रश्नमा रजनीतिक वृत्त कति गम्भीर छ ? बीपीको योगदानको चर्चा गर्नेहरू कतिले बीपीको आदर्श र निष्ठाको अनुसरण गरेका छन् ? उहाँको अनुयायी बन्न के गर्नुपर्दछ भन्ने कतिले जानेका छन्, बुझेका छन् ? अथवा बीपीको राजनीतिक सपना पूरा गराउन अहिलेको राजनीति कत्तिको सहयोगी बनेको छ ? यी विषमा चिन्तन गर्नु नै बीपीप्रतिको सच्चा सम्मान हुनेछ ।
बीपी राजनीतिमा सिद्धान्तनिष्ठ, एक सच्चा राष्ट्रवादी नेताको रूपमा उभिनुभयो ।
उहाँले जीवनभर कसैसँग कुनै किसिमको सम्झौता गर्नुभएन । उहाँका यिनै आदर्श र निष्ठाले राणाशासन र पञ्चायती निरङ्कुशताको अन्त्य गरायो । यसैले मुलुकलाई प्रजातान्त्रिक समाजवादको मार्गमा अघि बढाउँदै समाज रूपान्तरणको नयाँ खाका निर्माण ग¥यो । यस अर्थमा बीपी सच्चा राष्ट्रवादी नेता हुनुहुन्थ्यो ।
यसै कारण आफूमाथि लागेका सात सातवटा फाँसीका मुद्दाको कुनै परवाह नगरी राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा प्रवास जीवन त्यागेर स्वदेश फर्किनुभयो । देशभित्रै बसेर नागरिक हक अधिकारका लागि आफूलाई सङ्घर्षमा उतार्नुभयो ।
उहाँको त्यही सङ्घर्षले २०३७ सालमा जनमत सङ्ग्रह गरायो भने २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२÷६३ को जनआन्दोलन सफल तुल्यायो । वास्तवमा भन्ने हो भने बीपीका यिनै सङ्घर्ष र अठोटले मुलुकलाई नयाँ युगमा प्रवेश गराएको हो । उहाँले आफ्नो राजनीतिक जीवनमा कहिल्यै पनि आफूलाई केन्द्रमा राखेर काम गर्नुभएन । सदैव देश र जनताको स्वार्थमा आफूलाई समर्पित तुल्याउनु भएकाले बीपीको स्थान उच्च भएको हो ।
वर्तमान राजनीतिक नेतृत्वमा त्यो नदेखिँदा मुलुकमा ठूला परिवर्तन भए पनि त्यसको अनुभूति आमनागरिकले गर्न पाउने अवस्था निर्माण हुन सकिरहेको छैन । राजनीतिक दल देश र जनताको पक्षमा भन्दा पनि दलीय स्वार्थ र दलभित्रका गुट उपगुटमा विभक्त रहेकाले ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संविधानअनुरूप मुलुकमा निर्माण भएका तीन तहका सरकारले जन अपेक्षा अनुरूप काम गर्न सकिरहेका छैनन् ।
यस सन्दर्भमा दलहरूले बीपीबाट सिक्नुपर्ने धेरै कुरा छन् । एउटा राजनेतामा हुनुपर्ने विशेष गुण र क्षमताकै कारण बीपीले देशलाई समृद्ध तुल्याउने खाका तय गर्नुभयो । उहाँमा सबै नेपालीलाई आफूजस्तै मध्यमवर्गीय परिवार बनाउने सोच र चिन्तन थियो । सबै नेपालीका घरमा एउटा दुहुनो गाई होस्, सबैका छोराछोरीले पढ्न लेख्न पाउने अवस्था बनोस्, बिरामी पर्दा सामान्य औषधिमूलो व्यवस्था हुन सकोस् भन्ने बीपीको चाहना थियो । यस अर्थमा उहाँ सच्चा समाजवादी नेता हुनुहुन्थ्यो । त्यसै कारण १८ महिना देशको प्रधानमन्त्री हुँदा देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने धेरै योजना र खाका तय गर्नुभयो ।
उहाँले प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आयोगको बैठकमा आयोगको भित्तामा हलो जोतिरहेको गरिब किसानको तस्बिर राख्न निर्देशन दिनुभएको थियो । यही हलो जोतिरहेको किसानलाई हेरेर देशको योजना बनाउनुपर्दछ भन्ने सोच उहाँमा थियो ।
गरिब किसान र गाउँको विकासलाई केन्द्रमा राखेर मात्र देशलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने बीपीको परिकल्पना अहिले पनि सान्दर्भिक र यथार्थमा आधारित छ । बीपीको यही सोच र परिकल्पना अनुरूप काम हुन नसक्दा अहिले पनि कतिपय ठाउँ बस्तीको विकास अगाडि बढ्न सकेको छैन ।
बीपीले साहित्यको माध्यमबाट पनि राष्ट्रप्रेम र मानवीय सेवाको भावना प्रस्तुत गर्नुभएको छ । यसकारण बीपीको समग्र जीवनमा विभिन्न पक्ष र पाटा जोडिएका छन् । यथार्थमा बीपीलाई जान्न र बुझ्न यी सबै पक्षको अध्ययन आवश्यक छ । बीपीको साहित्यिक, राजनीतिक र दार्शनिक पक्षले नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउन ठूलो ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।
राजनीतिले अपेक्षा गरेका कुरालाई साहित्यको माध्यबाट व्यक्त गर्ने काम बीपीले गर्नुभएको छ । यसरी हेर्दा बीपीको राजनीतिक र साहित्यिक दुवै विधा समानान्तर रूपमा अगाडि बढेको पाइन्छ । समाजमा हुने सबै किसिमका गतिविधि र प्रवृत्तिलाई बीपीले साहित्यमार्फत प्रकट गर्नुभएको छ । उहाँले आफ्ना साहित्यिक कृतिका पात्रमार्फत मानवीय स्वतन्त्रता र अस्तित्वको खोजी गराउनुभएको छ । यसका लागि सङ्घर्ष पनि गराइएको छ ।
यसर्थ उहाँका साहित्यले राजनीतिक चेतनालाई बोकेको छ भन्दा अन्यथा हुने छैन । फेरि साहित्यकार दिव्यदृष्टि राख्ने वर्ग र समुदाय भएकाले साहित्यमा राजनीतिक चिन्तन र चासो व्यक्त हुनु अस्वाभाविक मान्न सकिँदैन । हुन त बीपीको राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वबाट तर्सेकाहरूले उहाँको कदलाई होच्याउन विभिन्न लाञ्छना लगाउने काम नभएको होइन ।
पञ्चायतकालमा बीपीका कृति जलाउनेदेखि बीपीलाई छाडा लेखकको संज्ञा दिनेहरू बीपीको व्यक्तित्वबाट तर्सिनेहरू नै थिए । अन्ततः यसैको परिणाम जनताबाट निर्वाचित पहिलो सरकारका प्रधानमन्त्री बीपीले लामो समय जेलको कष्टसमेत ब्यहोर्नुप¥यो ।
तत्कालीन राजा महेन्द्रले मुलुकको स्वतन्त्रता खोसेर नेपाली जनताको लोकप्रिय नेतालाई जेलको कोठरीमा राखे पनि साहित्यमार्फत बीपीले प्रतिवाद गरिरहनुभयो । बीपीको यही प्रतिबद्धता र अठोटले निरङ्कुशतालाई घुँ डा पनि टेकायो । यी अठोट र सङ्घर्षका बीच उहाँले मानिस ठूलो होइन असल बन्नुपर्दछ भन्ने सन्देश दिनुभएको छ ।
राजनीतिक, साहित्यिक, सामाजिक दार्शनिक सोच र चेतनाका पयाय मानिनुहुने बीपीलाई सही रूपमा बुझ्ने अवस्थाले नै मुलुक रूपान्तरणको दिशामा अझ अगाडि बढ्ने अवस्था रहन्छ । बीपीलाई सम्झने कि अनुसरण गर्ने आजको अहं प्रश्न पनि यही हो । आज ठूलो बन्ने होडमा रहेको समाजले यसको अलिकता हेक्का गर्ने अवस्था बन्यो भने पनि बीपीलाई सम्झेको ठहर्नेछ । gorkhapatraonline
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ । )