चन्द्रप्रकाश बानियाँ/विकल्प
मघ २५ गते ।
निश्चित मात्रामा तापमान प्राप्त गरेपछि अण्डाबाट चल्ला निस्कन्छ । अण्डाबाट चल्ला निकाल्न कुखुरीलाई झण्डै महिनादिनको समय लाग्दछ । कुखुरीले महिना दिनसम्म निरन्तर कोरलेर पु¥याउने तापको मात्रा आधुनिक “ह्याचरी मेसिन”ले केही क्षणमै दिन्छ र एकै दिनमा/एकै क्षणमा फुलबाट चल्ला निकाल्छ । जीवनका लागि अण्डजहरुलाई मात्र तापको आवश्यकता पर्ने होइन । पृथ्वीतलमा अस्तित्वमा रहेका सबै जीव जीवात्माहरुलाई तापको उत्तिकै आवश्यकता पर्दछ । आवश्यक मात्रामा तापको अभाव हुनासाथ सबै जीव जीवात्माहरुको जीवनलीला समाप्त हुन्छ ।
शितयाममा गर्मी इलाकाहरुमा पनि मानिसहरु शितलहर (अत्यधिक जाडो)को कारणले ज्यान गुमाएका समाचारहरु मिडियाहरुमा आइरहन्छन् । अर्थात तापविना जीवनको अस्तित्व रहँदैन । ताप भनेको अनिवार्य जीवनतत्व हो । आगो, विजुली आदि वैकल्पिक श्रोतबाट समेत ताप प्राप्त हुने भए पनि सार्वभौम सत्य के हो भने तापको सम्पूर्ण श्रोत “सूर्य” हो । सूर्यबाट निस्रित ताप सबै ग्रहपिण्डहरुको साझा जीवनतत्व हो । खासगरेर पृथ्वीलाई उर्बर बनाइरहने जैविक प्रक्रियामा सूर्यतापको महत्वपूर्ण भूमिका रहन्छ ।
आफ्नो उन्नत चेतना, बुद्धि र विवेकद्वारा मानवजातिले पृथ्वीलाई आफ्नो पेवा बनाएको छ । ज्ञान, विज्ञान र प्रविधिको उपयोगबाट धर्तीलाई स्वर्ग बनाएको पनि छ । तर सिङ्गो मानवजातिलाई कालले झैं सदाकाल खेदरिहने अपरिहार्य विषादको विषय के रहेको छ भने सूर्यपिण्ड विस्तारै विस्तारै सेलाउँदै चिसिदै गएको छ । जसरी पृथ्वीले आफ्नो अग्नीरुप गुमायो त्यसैगरी सूर्य पनि एक दिन तापविहीन पिण्डमा रुपान्तरित हुदै छ । आफू चिसिए पनि सूर्यको ताप सापटी लिएर पृथ्वी बाँचीरहेको छ । सूर्य चिसिँदा उसले अर्को कुनै पिण्डबाट त्यसरी नै ताप सापट पाउने अवस्था छ कि छैन भन्ने कुरा मानवको जानकारी बाहिरको कुरा हो । त्यसैले यतिबेलासम्मको अनुमान के रहेको छ भने सूर्यले ताप गुमाउँदाको परिणाम सारा ग्रहपिण्डहरुको अस्तित्व समाप्त हुनु हो । ग्रहहरु नरहे जीवको अस्तित्व पनि नामेट हुनेछ । सारा सौर्यमण्डल अन्धकार गुम्बजमा रुपान्तरित हुनेछ ।
अन्य जीव जीवात्माहरुको ज्ञानको सिमा त्यति परसम्म नपुगेको हुनाले उनीहरु निश्चिन्त छन् । मानिसलाई भने आफ्नै ज्ञानले जातिविनाशको त्रासमा “सिस्ने किरा” झै हरक्षण काम्नुपर्ने बनाएको छ । धैर्य धारण गर्ने आधार के मात्रै रहेको छ भने सूर्य चिसिने प्रक्रिया सुस्त गतिमा चलिरहेको छ ।
पूर्णरुपमा मृतरुप धारण गर्न सूर्यलाई हजारौं, लाखौं होइन, अरबौं, खरबौं वर्ष लाग्ने छ । तत्काल खतरा उपस्थित भैहालेको होइन । त्यतिबेलासम्म मानवसमाजले अर्को सौर्यमण्डलमा बसाई सर्न सक्ने खुबी (प्रविधि)को विकास गरिसक्नेछ । विज्ञान र प्रविधिले त्यस्तो ज्ञान र क्षमता प्राप्त गर्न सकेन भने पृथ्वीको मृत्युसंगै मानवजातिको पनि विनास हुनेछ । त्यसैले तापविहीन अर्थात “चिसो” सूर्यको कल्पना मात्र पनि मान्छेका लागि ज्यानमारा राक्षसको दर्शन जस्तै भयप्रदायनी लाग्दछ ।
झट्ट हेर्दा खाइलग्दो जीउडालका एकजना जिल्ला नेता चिसोले चुसेजस्तो रातो–नीलो अनुहार र किञ्चित सङ्कुचितजस्तो लाग्ने भावभङ्गिमा लिएर पिपलचोकमा टुप्लुप्किनासाथ अर्का एकजना जिल्ला नेताले पार्टी कार्यालयमा “नवयुग” को नयाँ अङ्क आइपुगेको छ कि भनेर प्रश्न गर्दा “जाडोको कारणले पार्टी कार्यालयतिर छिर्ने हिम्मत गर्न नसकेको” स्पष्टिकरण दिएको घटनाले मेरो दिमागमा अनायाश “चिसो सूर्य” को कल्पना खेल्न थालेको अनुभूति गराएथ्यो !
प्रसङ्ग मरणासन्न जिल्ला म्याग्दीको आजसम्मको सदरमुकाम “वेनीबजार”को हो । एमालेको जिल्ला पार्टी कार्यालय पुरानो ज्यामरुककोट गाविस अन्तर्गतको हाँडीभीरमा रहेछ । उसैपनि कालीगण्डकीको खोचमा अवस्थित वेनीमा घामको दर्शन हिउँदका दिनमा दुर्लभ नै हुन्छ । नजिकै ठडिएका अग्ला पहरा र डाँडाहरुबीच लुकामारी खेलेरै घामले बजारबासी मनुवाहरुलाई तडपाउनमा आनन्द मानेजस्तो लाग्दछ । त्यसमाथि “हाँडीभीर”को कोप्रे पहरोले नदीले छोडेको ५/७ रोपनी क्षेत्रफल ओगट्ने बगरलाई सधै सिँयाल (छहारी) मा राख्ने गरेको छ । हो, त्यही भीरको शितल छहारीमा एमालेको पार्टी कार्यलय स्थापित रहेछ । हुनत एमालेको चुनाव चिन्ह सूर्य हो । कार्यालयको धुरीमा सूर्य अङ्कित झण्डा अहोरात्र फरफराइरहेको होला । कार्यालयको कोठाचोटाहरुका ्िभत्ताहरुमा पनि सूर्यचिन्ह अङ्कित पोष्टरहरु टाँगिएका होलान् नै । तर ती सयौं हजारौं सूर्यहरुले पनि एमाले कार्यालयलाई आवश्यक ताप पु¥याउन असमर्थ हुँदा रहेछन् ! पार्टीमा बलवती बन्दै गएको सैद्धान्तिक विचलनका दृष्टिले यो एउटा गम्भीर र विचारणीय प्रतिकात्मक विम्ब हो जस्तो मलाई लागेको हो ।
प्रसङ्ग प्रचण्ड नेतृत्वको संयुक्त सरकारको जमानाको हो । तिनताकासम्म “वाइसीएल” नामको संगठन साँच्चिकै तन्नेरी थियो । मुुलुकको सिङ्गो पुलिस–प्रशासन उसका सामु निरीह र लाचार लाग्दथ्यो । पुलिसको हाकिमी मन्त्रालय एमालेको वण्डामा परेको थियो । गफगाफको सन्दर्भमा एकजना एमाले कार्यकर्ताले आफ्नो पार्र्टी सरकारमा सहभागी रहेको अनुभूति पार्टी कार्यकर्ताहरुले गर्न नपाएको गुनासो गरेथे ! हुन पनि एमालेको म्याग्दी जिल्ला पार्टी कार्यालयमा फरफराइरहेको झण्डामा अङ्कित “सूर्य”ले तातो चिसोको अनुभूति गराउन नसकेजस्तै वामदेवको “बज्रठिङ्गा र मोहीतिघ्रे” प्रकृति वाइसीएलका सामु भुत्ते सावित भएको थियो ।
एक जमाना थियो, संसारैभर राजै राजाहरुको शासन थियो । राजाहरुकै नेतृत्वमा कुनै पनि मुलुकले आर्थिक समृद्धि हासिल गरेको इतिहास भने छैन । त्यसैले राजसंस्थाहरुको उन्मूलन निम्तियो । केवल नागरिक स्वतन्त्रता र जनताको शासन मात्रै राजसंस्थाको काल निम्तिनुको कारण हो भन्न मिल्दैन । वंशानुगत राजसंस्थामो अन्तकालमा मुलुकको उन्नति, प्रगति र समृद्धिको चाहना मुख्य कारकतत्वको रुपमा रहेको छ भन्नु अतिशयोक्ति हुदैन । राजसंस्था राजशक्तिको प्रतीक पनि हो । “फलामले फलाम काट्छ” भनेजस्तो एउटा शक्तिलाई विस्थापित गर्न अर्को झन बलियो शक्तिको आवश्यकता पर्दछ । राजाहरुलाई विस्थापन गर्ने राजनीतिक शक्तिको रुपमा पार्टीहरुको उदय भएको हो । बेलायतबाट प्रारम्भ भएको दलको इतिहासले अव सारा संसारलाई निलीसकेको छ । संसारभर दलहरुको शासन स्थापित भएको छ । जताततै बहुदलीयताको साम्राज्य स्थापित भैसकको भए पनि थोरै मुलुकहरुमा अझसम्म पनि एक दलीय व्यवस्थाको अस्तित्व विद्यमान रहेको देखिन्छ । तर निर्दलीय व्यवस्था भने संसारबाट उन्मूल भैसक्यो । कहीँ कतै टिक्दै टिकेन ।
स्वभावतः नेपालमा ढिलै भए पनि दलीय व्यवस्था स्थापित भएको छ र दलका नाममा सयौं संगठनहरु अस्तित्वमा रहेका देखिन्छन् । विडम्बना भन्नु कि दुर्भाग्य ! कुनै पनि दल कुनै निश्चित दर्शनमा आधारित रहेर चलेका भने देखिदैनन् । विचारका दृष्टिले कम्युनिष्टहरु कम्युनिष्टजस्ता छैनन् । नत क्यापिटालिष्टहरु असली क्यापिटालिष्टजस्ता छन् । कम्युनिष्ट पार्टीहहरुको चरीत्र हेर्दा काँग्रेस जस्तो लाग्छन् । काँग्रेसलाई नियाल्दा कम्युनिष्ट जस्तो लाग्छ । त्यसलाई मात्र दृष्टिभ्रम हो भन्न मिल्दैन ।
अर्थात ती दुबै थरि एकअर्काका गुण–अवगुणहरुबाट नराम्रोसँग प्रभावित छन् । अझ नढाँटीकन भन्नुपर्दा ती दुबै एक अर्काका अवगुणहरुबाट संक्रमित छ्न् । अहिलेसम्मको गतिविधि हेर्दा तिनीहरु भविष्यमा कहिल्यै पनि संक्रमणमुक्त निरोगी होलान् भनेर आशा गर्न सकिदैन । आफै रोगी र संक्रमित शरीर लिएर जीवनका निमित्ति संघर्ष गरिरहेका राजनीतिक दलहरुबाट समाजले के आशा राख्ने ? विचार र आदर्शका हिसाबले सबै पार्टी संगठनहरु नक्कली, पिलन्धरे, अकर्मण्य र असक्त भैसकेका छन् ।
त्यही तत्वबोधको परिणाम होला कि पछिल्लो कालखण्डमा नेपाली समाजमा “नयाँ शक्ति” निर्माणको झ्याली पिटिन थालेको छ र निश्चित तथ्य के पनि रहेको छ भने कथित नयाँ शक्ति जन्मदै उभयलिङ्गी रहने छ । अरु कुरा परै राखेर मेरो मनले भन्छ– सिंगो एमाले पंक्तिलाई विचार, दृष्टिकोण, आदर्श, सिद्धान्त र व्यवहारका दृष्टिले पार्टीको चुनाव चिन्ह सूर्य जस्तै पार्टीको नाम पनि केवल प्रतीकमा मात्र सिमित रहेको अनुभूति हुन्छ कि हुन्न होला कुन्नी ? तातोपन बाँकी रहँदासम्म न सूर्यको अस्तित्व रहने हो । चिसो भएपछि सूर्य हुनु र नहुनुको के अर्थ रहन्छ र ? नवविकल्प अंक २० मा प्रकाशित