राजकुमार थापा /विकल्प न्यूज
जेठ १५ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको सम्पूर्ण सकिएको छ । पार्टी एकता सँगसँगै राष्ट्र, पार्टी तथा कार्यकर्ता र आमनेपाली जनसमुदायबीचमा केही अवसर, सम्भावना सँगै केही चुनौतिहरु पनि थपिएका छन् । अवसर र चुनौतिलाई यथार्थपरक हिसाबले विश्लेषण गर्दै वैज्ञानिक योजनाका साथ अगाडि बढ्न सकेमात्र सम्भावनालाई यथार्थमा बदल्न सकिन्छ ।
लामो समयसम्म राजनैतिक अस्थिरताबाट गुज्रिएको नेपालले यतिबेला राजनैतिक स्थिरता प्राप्त गरेको छ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संघ तथा प्रदेशको निर्वाचतमा कार्यगत गरे । निर्वाचन पश्चात् पार्टी एकताको उद्घोषसहित एउटै निर्वाचनको घोषणापत्र मार्फत् आमनेपाली जनतालाई मत मागे । दुई ठूला कम्युनिष्ट पार्टीको यो कार्यगत एकतालाई जनताले अनमोदन समेत गरे । जनताले दुई तिहाई मत दिएर निर्वाचित गराएदेखि नै यी दुई पार्टीको एकतालाई आम जनसमुदायले नै अनुमोदित गरिदिएको मान्न सकिन्छ ।
आज संघ, प्रदेश र स्थानीय तहमा (प्रदेश नं. २ बाहेक) नेकपालको दुई तिहाई मत सहितको सरकार छ । सैद्धान्तिक हिसाबले सरकारका कुनै पनि गतिविधिलाई रोक्न सक्ने वैधानिक संस्था वा व्यक्ति यतिखेर छैन । यो सुवर्ण अवसर तथा परिस्थितिलाई नेकपाका आम नेता, कार्यकर्ता र जनप्रतिनिधिहरुले एकताबद्धका साथ क्रान्तिका उपलब्धीहरुको रक्षा गर्दै संवैधानिक र लोकतान्त्रिक पार्टीबाट सामाजिक आर्थिक रुपान्तरण गर्दै राष्ट्रिय पूँजीको विकास तथा सामाजिक न्याय एवम् लोकतान्त्रिक मूल्य सहितको समाजवादको आधार निर्माण गर्नुपर्दछ ।
अझै पनि नेपाली समुदायमा सामन्तवादका अवशेषहरु बाँकी नै छन् । वर्गीय समस्या मात्र होइन, जाति, साँस्कृतिक, भाषिक, भौगोलिक, लिङ्गीय उत्पीडनहरु छन् । यी सबै खाले शोषण र उत्पीडनलाई समाप्त गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” निर्माणको अभियानलाई सार्थकतामा पु¥याउनु तत्कालीन पार्टीको कार्यभार हो । यो कार्यभारलाई अवसरको रुपमा ग्रहण र प्रयोग गर्न सक्नुर्पछ ।
पार्टीका लाखौं संगठित र चेतनशील कार्यकर्ता एवम् निर्वाचित सबै तहको सरकार एकमतका साथ लाग्दा यी कार्यभार पूरा गर्न कुनै समय लाग्ने पनि छैन । मात्र प्रतिबद्धता आवश्यकता छ । आज एकतासँगै बनेको विशाल पार्टीमा केही चुनौतिहरु पनि अवश्य छन् ।
हिजो जनताको बहुदलीय जनवाद अवलम्बन गर्दै आएको नेकपा एमालेका कार्यकर्ताहरुको सोच र माओवाद एवम् एक्काइसौं शताब्दीको जनवाद अवलम्बन गर्दै आएको माओवादी केन्द्रका कार्यकर्ताहरु बिचमा पूर्णतया अन्तरघुलन हुन केही समय लाग्ने अवश्य छ ।
तर माक्र्सवाद लेनिनवाद दुवै पार्टीको मार्गदर्शन सिद्धान्त भएका कारण र लक्ष्य सबैको वैज्ञानिक समाजवाद भएका कारण अन्ततः अन्तरघुलनमा भने कुनै समस्या आउने भने देखिँदैन । र पनि स्थानीय तहको निर्वाचनमा देखिएका मतभिन्नता, विगतका दिनमा नेकपा माओवादी केन्द्रले लिएको सशस्त्र युद्धको राजनीतिक कार्यनीतिका कारण केही समय ह्याङओभर भने रहिरहने देखिन्छ । तसर्थ पार्टीको सांगठनिक तथा वैचारिक प्रशिक्षण नियमित रुपमा सबै तहमा सञ्चालन गर्नुपर्ने देखिन्छ । यसरी सिद्धान्त र मन, भावना मिलाउनुपर्ने पहिलो चुनौति तथा आवश्यकता पार्टीको अगाडि छ ।
गत स्थानीय तथा संघ, प्रदेशको निर्वाचनमा कतिपय ठाउँहरुमा चुनावमा टिकट दिनुपर्नेलाई भन्दा जित्नेलाई टिकट दिइएको छ । संवैधानिक व्यवस्थाका कारण जातीय, लिङ्गीय आरक्षण मिलाउनुपर्दा पार्टी वैचारिक राजनीतिमा स्पष्टता तथा राजनैतिक ज्ञान नभएकालाई पनि टिकट दिनुपर्ने अवस्था सिर्जना भयो । जसका कारण निर्वाचित जनप्रतिनिधिले आजको समृद्धि र सुशासनको स्प्रीट समात्न नसकेको जस्तो पनि देखिन्छ ।
केही लोभी पापी प्रवृत्तिका कारण जनसमुदायसँगको सम्बन्ध टाढिएको, विश्वास गुमाएको पनि भान भएको छ । अर्कातिर आम जनमानसमा लोकतान्त्रिक गणतन्त्र नेपाल हुँदा, निर्वाचन सम्पन्न भएपछाडि संघीयता बनेपछाडि घरदैलोमा जनप्रतिनिधि आएपछाडि रातारात विकास हुन्छ, हुनुपर्दछ भन्ने मनोविज्ञान छ । त्यो मनोविज्ञानका साथ हिजो चुनावमा पनि प्रचार गरिएको थियो । जसका कारण आज हिजोको भन्दा विकास र सुशासनले फड्को मारे पनि आम जनसमुदायमा नकारात्मक तरङ्ग पैदा भएको छ ।
यो अवस्थाको व्यवस्थापन गर्नु, अर्को महत्वपूर्ण चुनौति देखिएको छ । यो मनोविज्ञानको व्यवस्थापन गर्न सकिएन भने जनमत टाढिन पनि सक्दछ ।
पछिल्लो चरणमा सबैभन्दा धेरै सुनिएको शब्द विकास र समृद्धि हो । तर विकास केलाई मान्ने, कस्तो विकास, कसरी विकास गर्ने भन्ने विषयमा भने बहस भएको छैन । आज संसारमा फरकफरक विकासको मोडल अपनाइएको छ । कतिपय देशमा क्षेप्यास्त्र, बमबारुदको निर्माण, भण्डार, उत्पादनलाई मुख्य विकास मानिएको छ ।
कतिपय मुलुकमा भौतिक पूर्वाधारको विकास, शहरीकरणलाई प्रमुख विकास मानिएको छ । कतिपय देशहरुमा स्वतन्त्रता, मानवअधिकार सहितको सामाजिक न्याय सहितका सुरक्षालाई प्रमुख विकास मानिएको छ, त्यसैले के र कस्तो मोडललाई विकास मान्ने नेपाली मनोविज्ञान अलमलमा छ ।
नेपालको संविधानमा नै नेपाललाई सामाजिक न्याय सहितको समाजवाद उन्मुख राष्ट्र भनिएकाले र हाल कम्युनिष्टको स्थायी सरकार भएका कारण पनि हाम्रो सामाजिक न्याय तथा सुरक्षा सहितको विकास प्राथमिक विकासको मोडल हो भन्नु अन्यथा नहोला । पानी जहाज, रेल, मोनोरेल, स्मार्ट सिटी जस्ता सपनाले आम नेपालीहरुको मनोविज्ञान बिगारिदिएको छ ।
यी विकास मोडेल आवश्यकता हुन् र नेपालीका सपना पनि हुन् तर तत्कालीन रुपमा भने समाजमा देखिएका सबैखाले शोषण, उत्पीडन तथा सामन्तवादको अवशेषको अन्त गर्दै राष्ट्रिय पूँजीको निर्माण र परिचालन पहिलो आवश्यकता हो । यसका लागि सबैभन्दा पहिला शिक्षित, सवल युवाहरुलाई स्वदेशमै रोकी उत्पादनमा लगाउन सक्नु हाम्रो महत्वपूर्ण चुनौति हो ।
नेपाली माटोले खोजेजस्तै विकासका लागि आवश्यक मानवीय जनशक्ति उत्पादन, प्रोत्साहन, संरक्षण र लगानी गर्न सकेमात्र देशले दिगो विकासको बाटो समाप्त सक्दछ । जसका लागि यतिबेला वातावरण अनुकूल छ यो अवसरलाई नेकपाले समात्न नसके नेपाली जनताले माफी दिनेछैनन् । लेखक थापा नेकपा म्याग्दीका युवा नेता हुन ।