चन्द्रप्रकाश बानियाँ/विकल्प,
सडक गफको निश्चित एजेण्डा हुँदैन । अनपेक्षितरुपमा अनेक प्रसङ्गहरु आउँछन्, जान्छन् । कल्पनै नगरिएका विषयहरुमा पनि टिकाटिप्पणी र बहस चर्चा चल्छन् । पिपलचोकमा उभिएरै गफिँदै थियौ, सुदर्शनजी पनि टुप्लुक्किनु भयो । स्वभावतः गफगाफको पूर्व प्रसङ्ग “गधाको सिङ”झै अलप भयो । अनि सुरु भयो नयाँ सिलसिला ! “कहिले आउनु भएको थियो ?” सुदर्शनजीको प्रेमपूर्ण जिज्ञासाको प्रत्युत्तरमा यन्त्रवत मेरो वाणी निस्रित भयो –“आजै हो । हिजोअस्ती आइपुगेको भए तपाइकहाँ चिया पिउन आइपुग्थे नी । हरेकपटक वेनी आउँदा पटक नबिराईकन तपाइएकोमा छिरेकै छु । वेनीबजारले नरुचाउने भगवानजीकोमा त म सधैं छिर्न बिर्सन्न भने तपाईंको घर छोड्ने कुरै हुँदैनथ्यो ।” सुदर्शनजीले त होइन तत्काल अरु कसैले जवाफ फर्कायो–“ बजारले भगवानलाई होइन, भगवानले वेनीबजारलाई रुचाउँदैनन् !”
अकस्मात र अनपेक्षितरुपमा भगवानको चर्चा चल्यो । हाम्रो चर्चाको विषय भगवान महादेव अथवा बुद्ध भगवान थिएनन् । बेनीबजारको गणेशटोल निवासी “भगवान साहु” अर्थात भगवानप्रसाद श्रेष्ठ थिए ! साँच्चै नै यसपटक मलाई विना कामको हतारो थियो । बजारका कुनै आफन्त इष्टमित्रहरुकोमा छिर्ने÷गफिने फुर्सद थिएन । हुन त वेनीसँगको मेरो नाता निकै घुर्मैलो भैसकेको छ । त्यसमाथि थप छिर्नुपर्ने घर र भेट्नुपर्ने मान्छेहरु पनि पातलिँदै गएका छन् । डिलाघरे साहुबा, मखनलाल काका, मित्र राम गौचन, ओमबहादुर, लक्ष्मीप्रसाद, अमरलाल र विरेन्द्र दाइहरु सबै भगवानका प्यारा बनिसके । बजारमा बाँकी बचेका पुराना मान्छेहरु गनीटिपी दुई चारजना भन्दा बढी छैनन् । त्यसमध्ये आदरणीयद्वय डा. भूपेन्द्र खड्का र भगवान श्रेष्ठहरुलाई सकभर छुटाउन मन लाग्दैन । मेसो मिल्दा दुबै घरमा सधै छिर्ने, पस्ने, कुशलक्षम सोध्ने गर्छु । केवल औपचारिकताका लागि होइन, अन्तरात्मादेखि नै ती आदरणीयहरुको दर्शन गर्ने अभिलाषा जागेर आउँछ । दुर्भाग्यबस यसपटक त्यो अवसर जुरेन ।
विल्कुल भिन्न व्यवशाय, व्यसन र प्रकृतिका ती दुबैजना मेरा लागि सदावहार आदरणीय रहनेछन् । कुनै बेला दुबैजनासँग मेरो पारीवारिक वा व्यवशायिकभन्दा पनि नजिकको “विचारको नाता” जोडिएको थियो । समय बदलियो, प्रसङ्ग परिवेश पनि परिवर्तित भयो तैपनि हृदयको एउटा कुनामा ती दिनहरुको मिठो सम्झना कहिल्यै नमिटिने गरी कुँदिएको छजस्तो अनुभूति हुन्छ ।
कुरो पञ्चायतकालको हो । पञ्चायतका भयावह काला दिनहरुका हामी सबै समभुृक्तभोगीहरु थियौं । अप्ठेरा क्षणहरुमा एक अर्काका भरोसा र सहारा बन्ने प्रयत्न गरेका थियौंं । ती काला कठोर दिनहरुको स्मरण मात्रले पनि आजपर्यन्त मन अमिलिन्छ । “कसो बाँचिएछ !” जस्तो लाग्छ । हामीमध्ये धेरैबाट विना कवच कुण्डल रणमैदानमा हाम्फाल्ने नादानी भएकै हो । दैवले हात थापिदिनाले ज्यान जोगियो भन्दा फरक पर्दैन । “निभ्नेबेलाको बत्ती”जस्तो आफ्नो जीवनकालको अन्तिम दशकमा पञ्चायत निकै असहिष्णु ज्यानमारा भएर जागेको थियो । खासगरेर, म्याग्दीको सन्दर्भमा पञ्चायत विरोधीहरुको जीवन विछट्टै कष्टकर बनेको थियो । बरु माओवादी द्वन्दकालको बेला उनीहरुको हातबाट ज्यान गए राज्यले सहानुभूति देखाउँथ्यो, क्षतिपूर्ति दिन्थ्यो । सुरक्षाफौजले ज्यान लिए माओवादीहरुले “सहिद” घोषणा गर्थे । पञ्चायतकालमा राजनीतिक कारणले ज्यान गुमाउनु भनेको “कुकुर मराई” को नियति भोग्नु हुन्थ्यो ।
ज्यान हत्केलामा राखेर होस्टेमा हैँसे गर्ने साथीहरुको सदाकाल दुर्भिक्षको अनुभूति हुन्थ्यो । हो, त्यही दुर्लभ कोटीमा अकस्मात अनपेक्षित रुपमै भगवानजीको नाम पनि जोडिन आएको थियो ।
राणाशाहीको अत्याचारको कथा इतिहासको पुस्तकमा पढिएको मात्र हो । पञ्चायतती अत्याचारको भूक्तभोगीमा स्वयम आफै पनि दरिन पुगियोे । यद्यपि डा.साहेब र भगवानजीहरु व्यवस्थाको विरोधमा हुनुहुन्थेन । तर म्याग्दीको दुर्भाग्य कस्तो थियो भने भीमप्रसाद गौचनको विपक्षमा उभिनु पनि व्यवस्थाको विरोध मानिन्थ्यो । त्यो अपराध वापत जागिर व्यवशाय गुमाउनु पथ्र्याे, झुट्टा मुद्दामामिलामा तारेख खेप्नु पथ्यों, राजद्रोहको मुद्दा लाग्न सक्थ्यो, उस्तै परे ज्यानै समेत गुमाउनुपर्ने हुन सक्थ्यो ।
गौचनको विपक्षमा उभिने धृष्टता गरेवापत कतिजनाको ज्यान गयो/लिइयो भन्ने हिसाबकिताव उनैकोे पाषाण हृदयको पानामा अवश्य सुरक्षित होला । हो, भगवानजीले पनि व्यवस्थाको विरोधमा होइन, पछिल्लो कालखण्डमा गौचनको विपक्षी मोर्चामा उभिने हिम्मत देखाउनु भएको थियो ।
तीर्खाको पानी, गर्मीको छहारी, भोकको भोजन र अप्ठेरोको साथीको सबभन्दा बढी महत्व रहन्छ । हो, त्यस्तै अप्ठेरा दिनहरुको सहयात्राका कारणले कहिल्यै नमेटिने÷नबिर्सने गरी भगवानजीको नाम हृदयको एउटा कुनामा कुँदिन गएको हो । दुनियाँले जेसुकै भनोस्, स्वयम भगावनजीको वर्तमान आचार व्यवहार जस्तोसुकै होस्, तिनै पुराना दिनहरुको साथ, समर्थन र सहयात्राका कारणले मेरा लागि स्मरणीय, दर्शनीय र आदरणीय बनेका हुन् । बिर्सन मेट्न खोजे पनि मेरो त्यो अनुभूति र भावना जीवन पर्यन्त मेटिने छैन । त्यही भोगाइको आलोकमा निजी व्यवहारमा दुव्र्यसनी, झगडालु, वेसोमति, उपध्य्रा, उजण्ड र असामाजिक प्रकृतिकै भए पनि मेजरमान श्रेष्ठलाई कहिल्यै बिर्सन सकिदैन । मनभित्र एउटा अनौठो आफन्तीपनको अनुभूति सदाबहार रहेको छ भन्न धक लाग्दैन ।
फेरि अरु बाँकी साथीहरुभन्दा भगवानको महत्ता हाम्रो लागि विशेष थियो । पैसावाल भएर होइन, बजारको बासिन्दा भएकोले पनि होइन, सभ्य र सौम्य व्यवहारका कारणले पनि होइन । मरुभूमिका यात्रीहरुका लागि पानी सञ्चय गर्ने क्षमता भएको खस्रे भ्यागुतो पनि निकै महत्वपूर्ण मानिन्छ रे । पञ्चायतको अन्तकालतिर गौचनजी स्वयमका लागि म्याग्दीको राजनीति निकै कठिन हुँदै गएको थियो । अत्तालिएको योद्धाले आँखाचिम्लेर तरबार चलाउन थाल्छ भनिन्छ । गौचनजीले सामाजिक सभ्यताका सारा नियम बन्धनहरु चुँडालिसकेका थिए । सत्ताप्राप्तिमा वाधक बन्न सक्ने सम्भावना देखिनासाथ उनका लागि गैरहरुको कुरा अलग रहोस्, स्वयम आफ्नै आफन्त इष्टमित्र समेत त्याज्य बन्ने मात्रै होइन, भौतिकरुपमै समाप्त पार्नुपर्ने कित्तामा पर्दथे । त्यसमाथि थप उनका वरीपरी सत्ताको दम्भले अन्धो बनेको स्वार्थी जमात गोलबन्द थियो ।
अन्धाले चलाएको लाठी जस्को टाउकोमा पनि बज्रन सक्छ । न लाठीमा विवेक हुन्छ न लाठीवालाले हान्नुपर्ने नपर्ने कित्ता छटटयाउन सक्छ । हो, भगवानजी गौचनकै छहारी र अभिभावकत्वमा हुर्किएका पञ्च थिए । कहाँनेर के काकताली मिलेन कुन्नी ? गौचनअत्याचारको उन्मत्त बैंस चढेको बेलामै भगवानजीले क्याम्प परिवर्तन गर्ने हिम्मत गर्नपुपगे । वाल्मिकिको महत्व रामायण लेख्नुमा भन्दा बढी “रत्नाकर नामको डाँकुबाट वाल्मिकि जस्तो सज्जन चरीत्रमा रुपान्तरण हुनु”को छ भनिन्छ । । भगवानजीको पनि चोला परिवर्तन भएको थियो । राक्षसराज परित्याग गर्ने, घनघोर पापकुण्डबाट बाहिर निस्कने, खराब संगतबाट आफूलाई मुक्त गर्ने र खुङ्ग्खार वदमाश मण्डलीसँग नाता तोड्ने शासह गरेका थिए । त्यही कारण भगवानजीको फरक कित्तामा उभिने निर्णय प्रशंसनीय, स्तुत्य र स्मरणीय बनेको हो ।
वर्तमानमा कसले के गरिरहेछ भन्ने कुरासँग मेरो साइनो सरकोकार छैन । हिजोको त्यो अँध्यारो कालखण्डका मेरा साथीसंगीहरुको साथ व्यवस्था परिवर्तनपछि छुटेको हो । अर्थात गौचनविपक्षी मोर्चाका सहयात्रीहरुमध्ये अधिकांश व्यवस्था परिवर्तनपछि नेपाली काँग्रेसमा आवद्ध हुनभयो । विचारले मानिसलाई निकट वा टाढा बनाउने रहेछ । राजनीतिक कित्ता फरक परेपछि स्वभावतः सम्बन्ध पनि खुइलिन थाल्दोरहेछ ।
मित्रताको रङ्ग फिका हुँनजाँदो रहेछ । तैपनि कमसेकम म्याग्दीमा पाइलो राख्नासाथ ती पुराना दिनहरुको सम्झना स्वतस्फूर्त आइहाल्छ । साथीहरुको कुशलक्षम सुन्न जान्न मन लाग्छ । यसपटक यस्तै भो । ठाडै खुट्टा फर्कनुपर्ने अवस्था उत्पन्न भो । आपत विपत दुख विमारमा शरण पर्नुपर्ने डाक्टर र भगवान दुबैको दर्शन दुर्लभ भो । फेरि भैटौंला भन्नेै परेन । त्यो त स्वाभाविक हुने नै भो । अदालतको तारेखजस्तो भेट्ने वाचाको दिन तोक्नु पनि आवश्यक रहेन । हो, यसपटक भगवानको दर्शन गर्नै अवसर जुरेन । नवविकल्प अंक १९ मा प्रकाशित