म्याग्दीमा नेकपा नेतृत्वका चुनौती

शिव आचार्य /विकल्प न्यूज
बैशाख १८ गते । विभिन्न पार्टी र समुहमा विभाजित कम्युनिष्ट पार्टी फेरी एकताबद्ध हुन थालेका छन् । पार्टी स्थापनाको सात दशक पछि कम्युनिष्ट पार्टीलाई दुइ ठूला अवसर प्राप्त भए । जनताको भारी मत सहितको बलियो सरकार पहिलो र दुइ ठूला कम्युनिष्ट पार्टी विचको एकता दोस्रो अवसर हो ।

एक दशक पहिला एकले अर्कोलाई सिद्धयाउने खेलमा रहेका पार्टीहरु चुनावी गठबन्धन निर्माण सँगै पार्टी एकता सम्म आइपुग्नु चानचुने विषय थिएन । यो कम्युनिष्ट पार्टीहरुका लागि ठूलो अवसर पनि हो । यो अवसर सँगै पार्टी एकताको भावलाई तल्लो तह सम्म पु¥याउन आवश्यक छ ।

भर्खर पार्टी केन्द्रले जिल्ला कमिटीको नेतृत्व चयन गरेको छ । नेतृत्व चयन सँगै केही असन्तुष्टी सार्वजनिक भएका छन् । यस्तै गाउँपालिका र वडा तहमा पनि नयाँ कमिटी गठन भएका छन् । त्यहाँ पनि केही अशन्तुष्टीहरु छन् । म्याग्दीमा जिल्ला अध्यक्षमा तत्कालिन माओवादीका नेता गोविन्द पौडेल सचिवमा एमालेका हरिकृष्ण श्रेष्ठ चयन भए ।

पौडेल चयन भएसँगै केही व्यक्तिहरुमा निराशा र केहीमा उत्साह छाएको पाइयो । एकतालाई पूर्णता दिनका लागि पार्टी केन्द्रले प्रदान गरेको यो विशेष अवसर हो । अवसरलाई घटु्वा वा बढुवा सँग तुलना गरेर बुझ्न खोज्नु गलत छ । यी दुवै नेताहरु उत्तिकै क्षमतावान छन् । लामो कम्युनिष्ट आन्दोलनबाट आएका नेताहरु हुन । पार्टी केन्द्रले दिएको जिम्मेवारीलाई दुई नेताहरुले सफल रुपमा पुरा गर्न तिर ध्यान दिनुपर्दछ ।

पार्टी एकता भएपनि भावनात्मक रुपमा कार्यकर्ताहरुको मन अझै जोडिन सकेको छैन । पार्टी एकता घोषणा पछि लामो समय खाली रहेका नेकपाका स्थानीय कमिटीहरुले पूर्णता त पाएका छन् तर एकताको भाव अझै झल्कीन सकेको छैन । अहिले गठन भएको जिल्ला र स्थानीय तहका कमिटीहरुको प्रमुख जिम्मेवारी भनेको पार्टीले तोकेको समयसिमा भित्र अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने हो ।

यस तर्फ अहिलेको नेतृत्व सफल हुन्छ वा हुँदैन । दुई पार्टी एकता पछि नेताहरुको लामो लाइन छ । सवैलाई एकताको सुत्रमा बाँधनलाई चुनौती छ । अध्यक्ष र सचिवले अवको अधिवेशन मार्फत नयाँ पंक्तीलाई नेतृत्वमा ल्याउनका लागि मार्ग प्रसस्त गर्नुपर्दछ ।

जिल्ला नेतृत्व चयन सँगै पूर्व एमालेमा केही असन्तुष्टीहरु पनि व्यक्त भएको पाइयो । एकतालाई पूर्णता दिनका लागि पार्टी केन्द्रले विशेष जिम्मेवारी प्रदान गरेको रुपमा बुझ्दा समस्या आउँदैन । तर कसैको बढुवा र घटुवाका रुपमा बुझ्न खोजीयो भने यसले झन समस्या पैदा गर्दछ । कुन पक्षले कुन पद पायो भन्दा पनि अहिलेको यो अवसरलाई सफल रुपमा पुरा गर्न सकिँन्छ कि सकिँदैन भन्ने तर्फ नेताहरुको ध्यान जान जरुरी देखिन्छ । तोकिएको समय भित्र अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न बर्तमान नेतृत्व सफल हुनुपर्दछ ।  नेतृत्वमा आएपछि पद छाड्न नसक्ने प्रवृत्ती कम्युनिष्ट पार्टीमा छ । म्याग्दीमा नेकपालाई बलियो बनाउने हो भने नयाँ पिँडीलाई नेतृत्व हस्तान्तरण गर्नुको विकल्प छैन ।

युवा जोस जाँगर र पार्टीप्रति प्रतिबद्ध युवा पंक्ती नेकपा सँग छ । पूर्व एमाले वा माओवादी नभनी योग्यता र क्षमताका आधारमा नेतृत्व चयन हुनुपर्दछ । भागबण्डा हुनुहुँदैन । स्थानीय तहका पार्टी कमिटीहरुलाई बलियो,संगठित र गतिशिल बनाउन नेतृत्व सामु चनौती छ । माथिल्लो तहका नेताहरुको चाकडी गरे नेतृत्वमा पुगेका कतिपय कार्यकर्ताहरुबाट प्रतिफलको आशा गर्ने ठाउँ देखिदैन । स्थानीय तहमा नेता तथा कार्यकर्ताहरुलाई विकास सँग जोड्ने र संगठनलाई गतिशिल बनाउने नेतृत्वको खाँचो छ । अहिले नेकपाले चयन गरेका कतिपय नेतृत्वले यो भूमिकालाई शसक्त रुपमा निर्वाह गर्न सक्ने हुन वा होइनन परिक्षा त बाँकी नै छ ।

हुनत अहिले निर्माण गरिएका कमिटीहरु अधिवेशन नहुँदा सम्मका हुन । दुइ पार्टी एकता पछिको पहिलो अधिवेशन सफल रुपमा सम्पन्न गर्ने मुख्य जिम्मेवार अहिलेको नेतृत्वको हो । दुइपार्टी विच मनमुटु जोडिने गरी एकताको पहिलो अधिवेशन हुनुपर्दछ । विभिन्न गुट वा उपगुटमा विभक्त पार्टीलाई एकताबद्ध बनाई एउटै सुत्रमा बाँधने काम भयो भने मात्र साच्चिकै नेकपा जनताको पार्टी बन्न सक्छ । नत्र उही पुरानै गुट उपगुटमा विभाजन हुने हो भने कार्यकर्तामा निराशा जन्माउने बाहेक अरु उपलब्धी हुनसक्दैन ।

अर्को पक्ष गाउँपालिका केन्द्र नजिक पार्टीको कार्यालय स्थापना गर्नुपर्दछ । पार्टीलाई संस्थागत गर्नुपर्दछ । पार्टी सदस्यता र लेवीलाई व्यवस्थित गर्नुपर्दछ । जनताका प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा नेता तथा कार्यकर्ताहरु जोडिनुपर्दछ । दिनप्रतिदिन जनताका समस्याहरु सँग नेकपाका कार्यकर्ताहरुले सरोकार राख्नुपर्दछ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दिशानिर्देश गर्नुपर्दछ ।

योजना निर्माण गर्दा होस वा कार्यान्वयनमा पार्टी नीति र योजना अनुसार हुनुपर्दछ । पार्टीको भिजन जनप्रतिनिधिबाट मुखरित हुनुपर्दछ । जनप्रतिनिधिहरुलाई पार्टीको कमाण्डबाट सञ्चालन गर्नुपर्दछ । अहिले जनप्रतिनिधिहरु पार्टी कमाण्डमा छैनन् ।संघीय,प्रदेश र स्थानीय सकारबाट भएका राम्रा कामहरुलाई आमजनाता समक्ष पु¥याउन कार्यकर्ताहरु पार्टीको सिपाई बनेर खटिनुपर्दछ । हरेक जिम्मेवार नेता, कार्यकर्ता तथा मोर्चा आबद्ध शक्ति र व्यक्तिले आआफ्ना ठाउँका हरेक अराजक र हिंस्रक गतिविधिको जानकारी र समाधानका लागि आवश्यक पहल र प्रयत्न गर्नुपर्दछ ।

नेता तथा कार्यकर्ताहरुले आआफ्ना कर्तव्य र दायित्व भुलेर आलोचना मात्र संस्कारको अन्त्य हुनु जरुरी छ । चोक चोकमा बसेर गफ चुट्दैमा मात्र समृद्ध र सुखी नेपाल बन्न सक्दैन । कार्यकर्ताहरुलाई सिर्जनशिल बनाउने र उत्पादन सँग जोड्ने स्पष्ट योजनाको खाका पार्टीले ल्याउनुपर्दछ ।

नेतृत्व आफै बदलिएर मात्र पार्टी र स्थानीय सरकारलाई बदल्न सकिन्छ वा देश र जनताको सेवामा सरिक गराउन सकिन्छ । कतिपय नेता र कार्यकर्ताहरू आफ्नै टोल, छिमेक, वाड, क्षेत्र र जिल्लामा बद्नाम छन् । बदनाम कार्यकर्ताहरुलाई पार्टीले संरक्षण गर्नु हुँदैन । क्षमतावान,योग्य,कशल र सामाजिक सेवामा भिजेका व्यक्तिहरुलाई पार्टीमा ल्याउनुपर्दछ र जिम्मेवारी दिनुपर्दछ । कार्यकर्ताहरुलाई सिद्धान्त, सिर्जना र सङ्गठन के हो भन्ने कुराका वारेमा निरन्तरको प्रशिक्षण आवश्यक छ । प्रत्येक स्थानीय तहमा पार्टी प्रशिक्षण केन्द्र नै खोल्नुपर्दछ ।

कार्यकर्ताहरुलाई पठन संस्कृतिको विकास गर्नुपर्दछ । संघिय र प्रदेश सरकारमा मन्त्री भएको जिल्लामा विकास र योजना भित्राउन नेतृत्वले पहल गर्नुपर्दछ । अहिले सम्म जिल्लावासीले मन्त्री भएको अनुभूति गर्न पाएका छैनन् । जिल्लाको विकास निर्माणमा नेकपा नेतृत्वले खेल्ने भूमिकाले आगमी राजनीतिको दिशा निर्धारण गर्दछ । पहाड जस्ता खडा भएका चुनौतीको सामना गर्न नेकपा नेतृत्व सक्षम छ वा छैन परिक्षा बाँकी नै छ । नवविकल्पमा प्रकाशित