प्रकाश पौडेलआकलन नगरिएको अवस्थामा अकस्मात् प्रकृतिको भयावह रूप मानवीय नियन्त्रणमा राख्न नसक्ने अवस्थामा आउँछ । यसले जीवित प्राणी, भौतिक संरचनाका स्वरूपलाई नै तहसनहस बनाउँछ । एकैछिनमा जनधनको ठूलो क्षति हुन पुग्छ । मानव समाज कोलाहल, पीडा अनि छटपटीले आक्रान्त बन्न पुग्छ ।
परिस्थिति नियन्त्रणबाट बाहिर हुन्छ । यस्तो विपत्तिमा परेका व्यक्ति स्वयं त्यो अवस्था सम्हाल्न सक्ने अवस्थामा हँुदैनन् । उनीहरूलाई सहाराको आवश्यकता हुन्छ । सरकारको उपस्थिति र देशवासीहरूको सहानुभूतिले उनीहरूमा ठूलो मनोबल सिर्जना गरिदिन्छ । त्यसैले देशमा हजारौँ युवा छन् जो यस्तै परिस्थितिमा घरमा निदाउन सक्दैनन्, तत्काल घटनास्थलमा पुग्छन् र सक्दो सहयोग, स्वयंसेवाको निम्ति अग्रसर हुन्छन् । हो, त्यसैमध्येको एक युवक हुँ म । २०७२ सालको महाभूकम्पयता देशले व्यहोर्नुपरेका ठूलाठूला विपत्तिमा एक स्वयंसेवकका रूपमा रहेर जे जति प्रयास गरेँ जे देखेँ त्यसबारे सङ्क्षिप्त अनुभव साट्न चाहेँ ।
त्यो वैशाख १२ गते आएको भूकम्पले देशलाई कष्टमा पा¥यो ।
हजारौँको ज्यान गयो लाखौँलाई घरबारविहीन बनायो । रेडियोमा बारम्बार बजिरहने खबरहरूले मन सम्हालिने अवस्थामा रहेन । वैशाख १४ गते म्याग्दीको बेनीबाट मोटरसाइकलमा तत्काल खान मिल्ने खानेकुरा बाँधेर ईश्वर सुवेदी, जनक सुनाम, सुजन हमाल, गोरखातर्फ लाग्यौँ । गोरखाको १२ किलोबाट उत्तरतर्फ लाग्दा भीषण झरी, भत्किएका घरहरू, भोका अनि नाङ्गा शरीरहरूको हातमा तत्काल खाने खानेकुरा हाल्दै जौबारी, चनौटे, बालुवा, सिजुङलगायत ठाउँमा पुग्यौँ । परिस्थिति यस्तो जटिल थियो कि विकटताले गाउँठाउँको अवस्था सम्बन्धित निकायसम्म सूचित हुन सकेका थिएनन् ।
त्यही स्थानबाट रेडियो नेपालमा सम्पर्क गर्दागर्दै घटनाबारे जानकारी दिँदै हामी अगाडि लाग्यौँ । थप सहयोगको आवश्यकता थियो । त्यसका निम्ति साथीहरूलाई अनुरोध गर्दै पुनः दोस्रो पटक उही मार्ग हुँदै बारपाकभन्दा केही किलोमिटर वर मान्द्रे गाउँसम्म पुग्यौँ । भत्किएका घरले पुरिएर लासहरू च्यापिएकै अवस्थामा थिए । समयले जनधनको क्षति त सहन नसक्ने बनाएको थियो, त्यसमा झनै हजारौँ विद्यालय ढलेका थिए । लाखौँ विद्यार्थीको पढाइ अस्तव्यस्त भएको थियो । हामीले भूकम्पबाट प्रभावित म्याग्दी र पर्वतका विभिन्न स्थानमा आठभन्दा बढी विद्यालयमा अस्थायी छाप्रो निर्माण गरी पठनपाठन सुरु ग¥यौँ ।
हाम्रो सङ्गठन अनेरास्ववियुले भूकम्पबाट प्रभावित १२ जिल्लामा काम गर्ने गरी टोली खटायो जसमा रहेर विद्यार्थी साथीहरूले एक महिनासम्म श्रमदान गर्नुभयो ।
२०७२ साल जेठ ८ गते म्याग्दी जिल्ला रघुगङ्गा गाउँपालिकाको वडा नं. ३, बैसरीमा १६ घन्टा कालीगण्डकी थुनियो । बैसरी बजार पुरियो । धनको अत्यधिक क्षति भयो । जनको क्षति भएन । प्रशासनको कुशल व्यवस्थापनमा स्वयंसेवकहरू निरन्तर खटी बस्ती सार्ने काम भयो । त्यसपछि हामीले महसुस ग¥यौँ– समाजमा जुनसुकै समय यस्तो आपत्कालीन अवस्था आउन सक्छ ।
सरकारले आफ्नो उपस्थिति व्यापक रूपमा जनाउँछ । त्यसमा युवाको पनि सशक्त स्वयंमसेवक भूमिका हुन सके पीडितको घाउमा छिटो मलम लाग्न सक्छ । त्यसैले हामीले सङ्गठनको तर्फबाट म्याग्दीमा ५० सदस्यीय उद्धार, विपत् व्यवस्थापनको निम्ति स्वयंसेवक दल तयार ग¥यौँ ।
२०७३ भदौ महिनामा बेनी जोमसोम सडक खण्डको बेगखोला भन्ने ठाउँमा बाढीले सडक र पुल दुवै बगायो । मुस्ताङमा रहेको कागबेनी र मुक्तिनाथमा दर्शन गर्ने यात्रुको चाप भएको समयमा अकस्मात् आएको विपत्तिमा दैनिक १० जना स्वयंसेवक राखेर हप्तौँसम्म यात्रुहरूको सहजताको निम्ति काम ग¥यौँ । यसरी युवा विद्यार्थीमा समाजप्रतिको जिम्मेवारी बहन भइरहेको थियो ।
हामीले स्वयंसेवकका रूपमा रहेर बाढीले बगाएका विद्यालयको अस्थायी टहरा निर्माण गरेर पठनपाठन चलाउने, बृहत् सेवा क्षेत्र भएका खानेपानीलगायत योजनामा गाउँलेहरूले लामो समय गर्ने श्रमदानमा सहयोगी बनेर काम गर्ने, हावाहुरी, आगलागीले सिर्जना गरेको विपत् स्थलमा तत्काल पुग्ने र पीडितलाई साथ दिने गरेका छौँ ।
कुनै ठाउँमा समस्या आउँदा तुरुन्तै परिचालित भई धेरै गाउँमा पुगेर सयाँै स्वयंसेवकले श्रमदान ग¥यौँ । यसबाट साथीहरूमा एउटा अनौठो ऊर्जा देखिन्थ्यो । विपत्तिको खबर सुन्नेबित्तिकै उपस्थित हुने र हरतरहबाट सहयोग गर्ने धारणा हामीमा बनिसकेको छ ।
२०७४ सालको वर्षायाममा तराई बाढीले डुबायो । त्यो पीडाको क्षणमा देश र विदेशमा रहेका युवाबाट प्राप्त सहयोग बोकेर सुजन हमाल, विजय घर्ती मगर, विशाल कार्की र म तराई झ¥यौँ ।
२०७५ सालमा कालीगण्डकी नदीमा २५ दिनसम्म वर्षाको भेलको बीचमा अड्किएको कुकुरलाई स्वयंसेवक साथीहरू मिलेर निरन्तर सात घन्टा लागेर उद्धार ग¥यौँ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा मुस्ताङका युवा पेमाछेतेन विश्वकर्मालगायत मिलेर बृहत् सरसफाइ ग¥यौँ ।
सिरहा र सर्लाहीका पीडित बस्तीहरूमा राहत र उद्धारको कार्यमा लामो समय खटियो । देश दुखेको बेला आफन्त पीडामा परेका बेला मन सम्हालिने रहेनछ ।
यस पटक हुरीले तराईको बारा र पर्सामा दिएको पीडा जारी छ । विपत्तिमा स्वयंसेवकका रूपमा म्याग्दीबाट साथी सज्जन सापकोटासहित तराई झरेँ । अनेरास्ववियुले स्वयंसेवक परिचालनका लागि बारामा सचिवालय खडा गरेको थियो जसमा सर्लाही, कास्की, मकवानपुर, म्याग्दी, मोरङ, झापा, चितवनबाट स्वयंसेवकहरू झरेका थिए । त्यहाँँ भग्नावशेष हटाउने, अस्थायी चर्पीहरू निर्माण गर्ने, प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने काम एक हप्तासम्म जारी राख्यौँ ।
यस अवधिमा सरकारको उपस्थिति र सेना, प्रहरीको परिचालन गर्विलो थियो । यो विपत्मा पनि देश जागेको छ । विदेशमा रहने नेपालीको ठूलो सहयोग भइरहेको छ । विपत्तिको बेला नेपालीलाई नेपाली नै चाहिने रहेछ – हिमाल, तराई पहाडको सम्बन्ध थप प्रगाढ भएको छ । गाउँबस्तीमा पहाडमा जाडो आए तराईले छेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ भन्ने गीत घन्किरहेको छ ।
माथि उल्लेखित विपत्तिका अनुभव र लेख्न छुटेका कतिपय घटनाक्रममा नेपाल सरकारको उपस्थिति जिम्मेवार देखिन्थ्यो । तर, स्रोत साधनको अभावले घटनास्थल व्यवस्थापन गर्न समय लाग्नाले नै विपत्ति थप विकराल देखिन्छ जसले गर्दा गरिएका प्रयास छायाँमा पर्छन् । विभिन्न निकायबाट प्राप्त सहयोग सम्पर्कमा रहेका व्यक्ति र सहज स्थानमा मात्र पुग्छन् ।
त्यसैले सरकारले विपत् व्यवस्थापनको निम्ति उच्च सतर्क रहने गरी नितान्त विपत्तिलाई मात्रै केन्द्रित गरेर स्रोतसाधन सम्पन्न दस्ता निर्माण गर्न आवश्यक छ । राहत सहयोगका निम्ति सुरुमै एकद्वार प्रणाली लागू गर्नुपर्छ । हालसम्म नेपाली सेना र सशस्त्र प्रहरीले विपत्मा गरेको सहयोग सराहनीय छ । विपत् क्षेत्रमा पुग्ने अधिकारीहरूलाई त्यहाँ गरिने व्यवहार मृदु हुनु जरुरी छ जसले पीडितको पीडालाई शीतल बनाउन मदत गर्छ ।
युवाको भूमिका
जोश, जाँगर, इच्छाशक्तिले भरिएको उमेर समूह नै युवा हो जसले हरेक समस्याको समाधान देख्छ । निरन्तर कार्य सम्पन्न गर्नु नै उनीहरूको मुख्य लक्ष्य हुन्छ । स्वयंसेवा गर्नु समाजमा असल नागरिकको परिचय दिनु पनि हो । त्यसैले हजारौँ युवा विभिन्न सङ्घसंस्था खडा गरेर निरन्तर कार्यमा लागिरहेका छन् ।
देशमा भएका विपत्तिको समयमा हिमाल, पहाड, तराई सबै स्थानमा पुगी निरन्तर कार्य भइरहेको छ । मात्र सरकारले स्वयंसेवा गर्ने युवालाई एउटा परिचय दिन आवश्यक छ । त्यसको निम्ति उनीहरूलाई कुनै माध्यमबाट सङ्गठित गरेर प्रविधिको उच्चतम प्रयोग गरी विपत्मा सहयोगका निम्ति आह्वान गर्न सक्छ ।
स्वयंसेवक परिचयपत्र जारी गरी विपत् क्षेत्रमा पुग्दा सवारीलगायतमा छुटको व्यवस्था गरिदिने हो भने धेरै युवा टाढासम्म पुगेर सेवा गर्न सक्छन् ।
विद्यालय तहबाटै स्वयंसेवाको भाव वृद्धिको निम्ति विद्यार्थीलाई प्रेरित गर्न सकिन्छ । होइन भने सक्दा मात्रै सहयोग गर्न उपस्थित हुने र निश्चित समयपछि पलायन हुने अवस्था रहन सक्छ । लाखौँ युवालाई राष्ट्रिय स्वयंसेवकको दर्जा दिँदा समस्या समाधानमा सघाउ पुग्छ ।
विपत्तिको समयमा सयौँ युवा स्वास्थ्यकर्मी निःशुल्क शिविर लिएर गाउँबस्ती पुगेका छन् ।राजनीतिक दलका युवा विद्यार्थी स्वयंसेवकका रूपमा व्यापक परिचालन हुने गरेका छन् । स्वतन्त्र रूपमा परिचालन हुन चाहने युवा विभिन्न समूह (एमआरआर, दाह्री ग्याङ, डब्लुआरआर आदि) निर्माण गरेर स्वयंसेवामा खटिरहेका छन् । साभारः गोरखापत्र दैनिक
(लेखक अनेरास्ववियुका केन्द्रीय सदस्य हुनुहुन्छ । )