सन्तोष गौतम,नवविकल्प÷
गत बैशाखको बिनासकारी भुकम्पका कारण थलिएको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय सिमा क्षेत्रमा भएको नाकाबन्दी र इन्धन अभावका कारण झनै प्रभावित बनेको छ ।
भुकम्पले असर नगरेका नेपालका पर्यटकीय स्थलहरुमा तराई मधेश क्षेत्रमा जारी आन्दोलन, बन्द हडताल, नाकाबन्दी र इन्धन अभावका कारण पर्यटक आगमन प्रभावित बनेको हो । सिमा क्षेत्रको असहज परिस्थितीका कारण भारत भएर नेपाल आउने पर्यटक आगमन ठप्प बनेको पर्यटन ब्यवसायीहरु बताउँछन् ।
हवाई मार्गबाट भित्र्ने पर्यटकहरु पनि इन्धन अभावले गर्दा समस्यामा परेका म्याग्दीको घोरेपानीमा फ्रान्सका ८ जना पर्यटकलाई भ्रमण गराउन आएका फ्रेन्च एडभेञ्चर ट्रेकका पथप्रर्दशक धना लामाले नवविकल्प सँग बताए । भुकम्पले मनास्लु, खुम्बु र लाङटाङ क्षेत्र बाहेकका अन्य पदमार्गमा असर नगरेकाले भ्रमणका लागि सुरक्षित छन् ।
‘अन्तराष्ट्रिय स्तरमा सुरक्षित पदमार्गहरुको बारेमा समयमै पर्याप्त सन्देश प्रवाह हुन सकेन् । अर्कोतर्फ मुख्य पर्यटकीय सिजन सुरु नहुदै देशको अवस्था असहज बन्न पुग्यो’ लामाले भने ‘नेपालमा धेरैजसो पर्यटकहरु भारतबाट स्थलमार्ग भएर आउँछन् । तर सिमा क्षेत्रको अवस्थाले गर्दा उनिहरु भारतबाटै फर्कीएकाले सुरक्षित रहेका पदमार्गमा पर्यटकको अपेक्षाकृत चहलपहल बढ्न सकेको छैन् ।’
वार्षिक तिस हजार पर्यटक भित्र्ने राउण्ड अन्नपूर्ण पदमार्ग अन्तरगत म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल घोरेपानीमा गत वर्षको तुलनामा पर्यटक आगमन आधाले घटेको छ । ईलाका प्रहरी कार्यालय घोरेपानीका अनुसार २०७१ को बैशाख देखि असोजसम्म सात हजार ५९७ जना पर्यटकले भ्रमण गरेको घोरेपानीमा २०७२ को सोही अवधिमा जम्मा चार हजार २१६ जना मात्रै पर्यटक आएका छन् ।
पदमार्गको बारेमा अन्तराष्ट्रिय स्तरमा नकारात्मक सन्देश फैलीनु, नाकाबन्दी, इन्धन अभाव र बन्द हडतालका कारण पर्यटकहरु कम आएको घोरेपानी स्थित होटल स्नो भ्युका सञ्चालक टेकसर बुद्धुजा पुनले बताए । मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी र कास्की जिल्लाको ५७ गाविस समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा भुकम्पले कुनै असर गरेको छैन् ।
घोरेपानी मात्र होईन मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लाको पर्यटन आगमनको अवस्था पनि उस्तै छ । ‘यो सिजन त्यती राम्रो पर्यटक भित्रीएका छैनन्, तर अरु स्थानलाई हेरेर हामीले चित्त बुझाउने अवस्था छ’ घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष जुन पुनले भने ‘देशको अवस्था सुध्रने र राजनीतिक अन्यौलता हटेमा पर्यटक आगमन बढ्नेछ ।’
सुर्योदय, हिमशृङखला, गुरासे जंगल, वन्यजन्तु, पंक्षि र मगर संस्कृतीको अवलोकनका लागि पहाडको टाकुरामा अवस्थित घोरेपानीमा पर्यटक आउने गर्दछन् । घोरेपानीमा बास बसेका पर्यटकहरु चालिस मिनेट उकालो पैदल हिडेर तिन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सुर्योदय, हिमशृङखला एवं मनोरम पहाडी भुगोलको अवलोकनका लागि पुग्ने गर्छन् ।
पर्यटक आगमन घट्दा पर्यटन र होटल ब्यवसायमा दैनिक करोडौ घाटा भएको छ । धेरैको रोजगारी गुमेको छ । इन्धन अभाव र नाकाबन्दीको बावजुद हवाई मार्गबाट आएका पर्यटकहरु सुरक्षित पदमार्गहरुको बारेमा सन्देश फैलाउन सुझाव दिन्छन् ।
‘पोखरा, नयाँपुल, बिरेठाँटी, घोरेपानी हुदै घान्द्रुकको भ्रमण गर्दा भुकम्पले कुनै पनि असर गरेको पाईन’ पुनहिलमा सुर्योदयको दृष्यअवलोकन गर्न पुगेका अमेरीकी पर्यटक क्यान हन्टुराले यात्राको अनुभव सुनाउनुभयो ‘पदमार्ग, होटल, होमस्टे सबै ठिक छ । निकै रमाईलो भएको छ ।’
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन ब्यवसायलाई पुरानै अवस्थामा फर्काउन देशमा राजनितिक स्थिरता र भुकम्पले असर नगरेका पदमार्गहरु सुरक्षित रहेको सन्देश प्रवाहमा जोड दिनुपर्ने कोलम्बो टे«क्स काठमाडौका सञ्चालक प्रमोद दाहालले बताए ।
घोरेपानी पुनहिलको उकालो यात्रा सहज बन्यो
स्थानीयबासीको सक्रियतामा म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल पुग्ने व्यवस्थित पदमार्ग निर्माण भएको छ ।
घार गाविस १ घोरेपानीका बासिन्दाले गाउँदेखि पुनहिन पुग्ने ढुंगाको सिढी सहितको पदमार्ग निर्माण गरेका हुन् । करिब ६० लाख रुपैयाँको लागतमा साढे दुई किलोमिटर उकालो बाटोमा पदमार्ग निर्माण भएको घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष जुन पुनले जानकारी दिए ।
उनका अनुसार पुर्वाधार विस्तारमा भएको आर्थिक लगानीको स्रोत स्थानीय रुपमै जुटाइएको हो । जिविसबाट पाँच लाख रुपैयाँ मात्र सहयोग प्राप्त भएको थियो । भिरालो पहाडको उकालो बाटोमा ढुंगाको सिढी बिछ्याएपछि चिप्लीएर लड्ने समस्या हटेको छ ।
‘भिरालो, उकालो, साघुरो र चिप्लो बाटोमा पर्यटक लडेर दुर्घटना हुन्थ्यो । हेलीकप्टर मार्फत उपचार गराउन लैजानु पर्दथ्यो’ घोरेपानीका बासिन्दा मनकुमार गर्बुजाले भने ‘अहिले पर्यटकलाई सजिलो र सहज रुपमा यात्रा गर्न पाएका छन् ।’ गुरासे जंगलको बिच बाटोमा रेलीङमा समाएर उकालो, ओरालो हिड्दा पर्यटकहरु निकै उत्साहीत देखिन्छन् ।
पदमार्गमा विश्रामस्थल, पुनहिलमा दृष्य अवलोकन स्थल र आराम बेञ्च पनि राखिएको छ । यसअघि पुनहिलका प्रर्वद्धक टेकबहादुर पुनको स्मृतीमा घोरेपानी र पुनहिल प्रवेश गर्ने ठाउँमा चार वटा स्वागत गेट बनाइएको थियो । भुकम्प लगत्तै पर्यटक आगमन घटेपछि असार, साउनको अफ सिजनको फुर्सदलाई सदुपयोग गरि घोरेपानी बासीहरुले पुर्वाधार निर्माण गरेका हुन् ।
उनिहरुले घोरेपानी देखि घान्द्रुक जाने पदमार्गमा पनि ढुंगा बिछ्याएर सुधार गर्न थालेका छन् । पहिलो चरणमा १७ लाख रुपैयाँको लगातमा घोरेपानीदेखि छ सय मिटर टाढासम्म पदमार्ग बनाउने काम सकिसकेको घोडेपानी होटल ब्यवस्थापन समितिका निवर्तमान उपाध्यक्ष टेकसर बुद्धुजा पुनले बताए ।
‘भुकम्पले यस क्षेत्रमा असर गरेको छैन’ पुनले भने ‘पदमार्ग सुधार गरेर यहाँको यात्रा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न खोजेका हौ ।’ समुन्द्रि सतह देखि तीन हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल सुर्योदय, हिमशृङखला, गुरासे जंगल र पहाडी भुगोलको दृष्य अवलोकनका लागि पश्चिम नेपालकै मनोरम एवं प्रमुख गन्तब्य मानिन्छ ।
‘घोरेपानीका बासिन्दाले स्थानीय स्तरमा स्रोत जुटाएर गरेको पुर्वाधारले पदयात्रीहरुलाई धेरै सुबिधा पुगेको महशुस भयो’ पुनहिल भ्रमणमा आएका धादिङ मलेखुका राजेन्द्र सेढाईले भने ‘पुर्वाधार विस्तारलाई अझै निरन्तरता दिन आवश्यक छ ।’
पर्यटक प्रहरी चौकी स्थापना भएपछि पर्यटकलाई सहज
म्याग्दीको घार गाविस १ घोरेपानीमा पर्यटक प्रहरी चौकी स्थापना भएपछि सो क्षेत्रको भ्रमणमा आउने पर्यटकहरुलाई सहज भएको छ ।
त्यहाँ रहेको ईलाका प्रहरी कार्यालय अन्तरगत पर्यटक प्रहरी चौकी स्थापना गरिएपछि विश्व प्रसिद्ध अन्नपूर्ण फेरो पदमार्गको भ्रमणमा आउने पर्यटकलाई सहज भएको हो । पर्यटक र पथप्रर्दशकहरुले सुरक्षा र पदमार्गको अवस्थाको बारेमा जानकारी, अप्ठ्यारो अवस्थामा सहयोग पाउन र परामर्श लिन पाएका हुन् ।
अंग्रेजी भाषा बोल्न सक्ने तालीम प्राप्त प्रहरीहरुले पर्यटकहरुको विस्तृत विवरण सहित तथ्याङ तथा अभिलेख राख्ने, अस्वस्थ भएमा स्वास्थ्य संस्थामा पुराउन सघाउने, चोरी, लुटपाट र हराएको अवस्थामा खोजी गर्न खटिने गरेको चौकीका हवल्दार बुद्धीराम बोहोराले बताए ।
त्यहाँ चार जना पर्यटक प्रहरीको व्यवस्था गरिएको छ । उनिहरुले ईलाका प्रहरी कार्यालयसंग समन्वय गरेर सेवा दिदै आएका छन् । पर्यटक प्रहरीको व्यवस्था भएपछि पर्यटकहरुलाई थप सुरक्षित भएको महशुस हुनुका साथै अप्ठ्यारो पर्दा सहयोग पाएको घोरेपानीका पर्यटन ब्यवसायी सुशील पुनले बताए ।