आन्तरिक आय बढाउँदै म्याग्दीका स्थानीय तह

विकल्प न्यूज/बेनी
चैत २० गते । जिल्लाका स्थानीय तहले चालु आर्थिक वर्षको दोस्रो चौमासीकसम्म करिब सवा तिन करोड भन्दा वढी राजश्व संकलन गरेका छन् ।

संविधानले दिएको अधिकार अनुसार स्थानीय तहले करका रूपमा सम्पत्ति कर, घरबहाल कर, घरजग्गा रजिष्ट्रेसन शुल्क, सवारी साधन कर लगाउने अधिकार छ । यसका साथै स्थानीय तहले सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन, गिटी बालुवा लगायतमा कर लगाउन पाउने अधिकार छ ।

जिल्लाका स्थानीय तहले दिएको रिपोर्ट अनुसार दोस्रो चौमासीक सम्म आइपुग्दा स्थानीय तहको आन्तरिक आम्दानी कतै उत्साजनक त कतै निराशजनक देखिन्छ । अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा राजश्व संकलन उत्साहजनक देखिन्छ । यि दुइ गाउँपालिकाले लक्ष्य भन्दा दोब्बर राजश्व संकलन गरिसकेका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा स्थानीय तहले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ३ करोड १९ लाख पाँचसय ७३ रुपियाँ आन्तरिक आम्दानी गरेका हुन । नयाँ आन्तरिक आयको खोजी र चुस्त राजश्व प्रशासनका कारण आन्तरिक आयमा वृद्धि भएको स्थानीय तहहरुले दावी गरेका छन् । रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दोब्वर राजश्व संकलन भएको छ ।

दोस्रो चौमासीक रिपोर्टलाई हेर्दा गत वर्ष भन्दा चालु आर्थिक वर्षमा स्थानीय तहको आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको गत वर्ष ४४ लाख ७५ हजार अनुमान गरेकोमा ४५ लाख संकलन गर्न सफल भएको थियो ।

चालु आर्थिक वर्षमा अन्नपूर्णले दोस्रो चौमासीकमै एक करोड १७ लाख रुपियाँ संकलन गरिसकेको छ । यो अनुमानित आय भन्दा दोब्बर बढी हो । अन्नपूर्णले पचास लाख रुपियाँ अनुमानित आय प्रक्षेपण गरेको थियो । नयाँ आयको खोजी र कर नीतिमा कडाई गरेकाले राजश्व संकलन वृद्धि भएको गाउँपालिकाका सूचना अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।

पर्यटकीय स्थल पुनहिल र तातोपानी कुण्ड अन्नपूर्णका मुख्य आन्तरिक आम्दानीका स्रोत हुन । यसका साथै नदी किनारका ढुङ्गा,गिटी र बालुवालाई आम्दानीका स्रोतका रुपमा गाउँपालिकाले लिएको छ । पुनहिल र तातोपानी कुण्डलाई गाउँपालिकाले यस वर्ष देखि करको दायरामा ल्याएको हो ।

रघुगंगा गाउँपालिकाले दोस्रो चौमासीकमै अनुमान गरे भन्दा दोब्बर राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको अन्त्य सम्म ३१ लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको रघुगंगाले फागुन मसान्तसम्म ६० लाख रुपियाँ राजश्व संकलन गरिसकेको छ ।

रघुगंगाले गत वर्ष २० लाख अनुमान गरेकोमा १४ लाख राजश्व संकलन गरेको थियो । भने यो वर्ष उसले गत वर्ष भन्दा आन्तरिक आम्दानी धेरै नै वृद्धि हुने देखिन्छ । हामीले गाउँपालिकाको आन्तरिक आम्दानी बढाउन नयाँ आयको खोजी ग¥यौं प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भन्नभयो, ‘चुस्तदुरुस्त राजश्व प्रशासन अवलम्बन गरेकाले लक्षय भन्दा दोब्बर आन्तरिक आम्दानी बढाउन सफल भएका हौं ।’

सवै वडा कार्यालयहरुलाई महिना समाप्ती भएको पहिलो हप्ता भित्र गाउँपालिकाको खातामा राजश्व जम्मा गरिसक्ने नीति बनाएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो ।

यसका साथै गाउँपालिकाको आम्दानी वृद्धि गर्नका लागि व्यवसाय,होमस्टे दर्ता र जुडीबुटीमा कर लिन थालिएको उहाँले बताउनुभयो । असार मसान्तसम्ममा एक करोड रुपियाँ राजश्व संंकलन हुने अपेक्षा गरिएको उहाँले दावी गर्नुभयो । सर्वसाधारणहरुमा कर शिक्षाको अभाव र करलाई विकास सँग जोड्न नसक्नु कर संकलनका अवरोधहरु भएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ ।

जिल्लाकै साधनस्रोत सम्पन्न एकमात्र बेनी नगरपालिकाले गत आर्थिक वर्ष भन्दा यस वर्ष झन्डै तेब्वर राजश्व संकलन गर्ने प्रक्षेपण गरेको छ । गत वर्ष बेनपाको एक करोड पचास लाख अनुमान गरेमा एक करोड ३५ लाख रुपियाँ राजश्व संकलन गरेको सह लेखापाल निर्मला शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ३ करोड १३ लाख रुपियाँ राजश्व संकलन हुने अनुमान गरेको बेनपाले दोस्रो चौमासीक सम्म आइपुग्दा एक करोड १९ लाख १२ हजार एकसय ५३ रुपियाँ राजश्व संकलन गरिसकेको छ ।

नागरिकमा करप्रतिको गलत बुझाईका साथै करको दायरामा ल्याउन नसक्नु मुख्य चुनौतीका रुपमा रहेको सहलेखापाल शर्माको बुझाई छ ।

बेनी नगरपालिकाले यो वर्ष देखि एकिकृत सम्पत्ति कर पनि लागू गरेको थियो । नगरबासीहरुमा कर प्रतिको बुझाई गलत भएकाले केही समय कर निर्धारणको विधिप्रति नगरवासीले विरोध पनि गरेका थिए ।

मंगला गाउँपालकाले गत आर्थिक वर्षमा २० लाख ९२ हजार ८ सय ४९ प्रक्षेपण गरेकामा १५ लाख रुपियाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्षमा ३६ लाख पचास हजार राजश्व संकलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

कर संकलनका अवरोधहरु
नागरिकमा कर शिक्षाको अभाव
करप्रतिको नकरात्मक सोचाई
 करलाई विकाससँग जोड्न नसक्नु
करको विषयमा कानुनी तथा नीतिगतको अस्पष्टता
 करको दायरा संकुचन
 करप्रतिको नकरात्मक धारणा विकास हुनु
 दक्ष प्राविधिक जनशक्तिको अभाव
 कर नियमित बुझाउनुपर्दछ भन्ने चेतनाको अभाव

उहाँका अनुसार फागुन मसान्त सम्म संकलित रकमको लेखा शाखाले रिपोर्ट तयार पार्न बाँकी रहेको छ । अनुमानित राजश्व संकलनको हारहारीमा पुग्ने आशा गरिएको उहाँले बताउनुभयो ।

मालिका गाउँपालिकाले पनि लक्ष्य भन्दा कम राजश्व संकलन गर्दै आएको छ । गत वर्ष २९ लाख ४२ हजार अनुमान गरेकोमा २३ लाख ६० हजार राजश्व संकलन गरेको गाउँपालिकाले चालु आवमा ३२ लाख ३६ हजार राजश्व संकलनको प्रक्षेपण गरेको छ । दोस्रो चौमासीक सम्म मालिकाले १२ लाख २३ हजार चारसय २० रुपियाँ राजश्व संकलन गरेको लेखापाल विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो वर्ष पनि लक्ष्यलाई भेटन मुस्किल पर्ने उहाँले बताउनुभयो । वित्तिय संस्थाको वाहेक घरवहाल कर उठाउन समस्या भएको उहाँले बताउनुभयो । साथै सम्पत्ति,मालपोत र विज्ञापन कर उठाउन समस्या भएको लेखापाल शर्माले बताउनुभयो । यसै गरी सेवा शुल्क, ढुङ्गा,गिटी,र बालुवाको पनि अनुमान गरेजति कर संकलन गर्न मुस्किल पर्ने उहाँले बताउनुभयो ।
जिल्लाकै विकट रहेको धौलागिरि गाउँपालिकाले गत वर्ष अनुमान गरेभन्दा सात लाख वढी राजश्व संकलन गरेको थियो । १० लाख रुपियाँ अनुमान गरेकोमा १७ लाख रुपियाँ राजश्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आवमा गाउँपालिकाले २० लाख रुपियाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा माघ मसान्त सम्ममा ११ लाख रुपियाँ संकलन गरिसकेको छ ।

गिटी वालुवाको स्रोत कम भएकाले व्यवसाय दर्ता,नविकरण,जन्मदर्ता,नागरिकता दस्तुर र सम्पत्ति मुल्याङ्कन गाउँपालिकाको मुख्य आन्तरिक आयको स्रोत भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । करलाई विकास सँग जोड्दै नागरिकहरुमा कर शिक्षा प्रदान गर्न सकेमा लक्ष्य अनुसार स्थानीय तहमा राजश्व संकलन भई आन्तरिक आम्दानी वृद्धि हुने देखिन्छ । त्यसका लागि कर शिक्षाका वारेमा सर्वसाधारणहरुमा जागरण ल्याउन जरुरी छ ।