जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गर्न मोनाले सहयोग जुटाउने

हरिकृष्ण गौतम,विकल्प\
फ्रि वाईफाई जिल्ला बनाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय कार्यकारी समितिले सघाउने भएको छ । कात्तिक २ र ३ गते म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न प्रथम सम्मेलनबाट जारी गरिएको घोषणापत्रको ६ नंबर बुँदामा डिजिटल साक्षरता अभियान्ता महाविर पुन एवम् जिल्ला विकास समिति म्याग्दीको सक्रियतामा सुरू भएको अभियानलाई प्रवासबाट सहयोग जुटाउने प्रतिबद्धता जनाइएको छ ।
‘म्याग्दी जिल्लाको प्रतिष्ठाको विषय हो, हामीले यसलाई सफल बनाउन निरन्तर लागि पर्नेछौ’ मोना आईसीका कोषाध्यक्ष चक्र थापाले भने । उनले महाविर पुनलाई प्रथम अतिथिका रुपमा सम्मेलनमा बोलाएर जिल्लाकै महत्वपुर्ण योजनामा सहयोग जुटाउने वातावरण बनाइएको बताए । बेनी नगरपालिका सहित जिल्लाका सबै ३५ गाविसका गाउँमा इन्टरनेट पु¥याउने र हरेक गाउँमा इन्टरेनट सेन्टर र आधुनिक र गुणस्तरिय स्वास्थ्य सेवाका लागि काठमाण्डौमा रहेका प्रतिष्ठित अस्पतालसंग सहकार्य गरी टेलिमेडिसिन सेवा समेत सुरु गर्ने योजना रहेको छ ।
जिल्लालाई सुचना र प्रविधिमा नमुना बनाउन सकेमा आन्तरिक तथा बाह्य पर्यटक तथा अवलोकनकर्ता समेत बढ्ने र त्यसले पर्यटन क्षेत्रलाई समेत सघाउने भएकाले पनि यो अभियानमा सहयोग गर्न महाविर पुनले नै अनुरोध गरिसकेका छन् । मोना आईसीले यो अभियानको जिम्मा संस्थापक अध्यक्ष एवम् संरक्षक प्रकाश पुनलाई संयोजक तोकेको छ । जिल्लाभर इन्टरनेट पु¥याउन हटस्पट सहित टावर, सोलार, जेनेटर लगाएतका उपकरण सहित करिव २ करोड ५० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । नेपाल दुरसञ्चार प्राधिकरण कोष, जिविस म्याग्दी, गाविस, गैरसरकारी संस्था र स्थानीयस्तरबाट समेत सहयोग संकलन गरिने छ । मोना आईसीले आफ्नो १८ बुँदे घोषणापत्रमा यसलाई महत्वपुर्ण र कार्यान्वयनमा प्राथमिकतामा राखेर अन्य बुँदालाई समेत क्रमश अगाडी बढाउने जनाएको छ ।