बेनीका बुढापाकाका लागि “डे केयर सेन्टर”को आवश्यकता पर्न थालेछ !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
माघ १३ गते ।

chandraparkash baniya
संयोग पनि अचम्मको हुन्छ । कहिलेकहीँ “म ताक्छु मुढो, वञ्चरो ताक्छ घुँडो” भनेजस्तो समय परिस्थितिमा कल्पनातित   प्रतिकूलता उपस्थित भैदिन्छ । पौष महिनाका दिनहरु शेष रहँदैको कुरा हो । कामविशेषले वेनी पुगिएको थियो । अड्डा अदालतको काम आफूले भने चाहेजस्तो छिटो छरितो हुँदैन । तैपनि मेरा लागि काममा विलम्ब हुनु पनि पट्यारलाग्दो नहुनु पथ्र्यों । इष्टमित्र, दाजुभाई, परिचित, आफन्तहरुसँग भेटघाट होला, भलाकुसारी गर्न पाइएला, गफगाप गरेर समय बिताउन पाइएला भन्ने लागेको थियो । तर त्यही दिन नगरपरिषदको आयोजना रहेछ । अधिकांश मानिसहरु त्यतै व्यस्त भैदिनाले वेनीमा परिचितहरुको दर्शन पनि दुर्लभ भैदियो । मालपोतमा दरवन्दीअनुसारका कर्मचारीहरुको अभावको कन्तविजोग रहेछ । “उसै त मुसुरी त्यसमाथि हिङ राखेको” भनेजस्तो कार्यालयमा कर्मचारी पर्याप्त नहुँने अवस्थाको मर्म भूक्तभोगीलाई मात्रै जानकारी हुने कुरा होरहेछ । टेबुल कुर्चीहरु मात्र होइन, सिङ्गासिङ्गै कोठाहरु खाली हुँदा रहेछन् । “भूतले खाजा खाने बेला” भनेजस्तो काम गर्ने मान्छे नभएको बेलामा पुगिएछ ! ढिलो भो भनेर भन्नु पनि आफैले लाजमान्नु पर्ने ! अविवेक प्रदर्हन गरेको ठहरिए मात्र त केही हुँदैनथ्यो आफू “ठूलो बडो” भएको दम्भ प्रदर्शन गरेको ठानिदेलान् कि भनेर आफै खुम्चनुपर्ने अवस्था रहेछ । विचरा, कर्मचारीकहरुलाई चिया खाजा खान पनि पालो कुर्नुपर्ने रहेछ । पालोसान्ति कार्यकक्षहरु खाली भैदिनाले काममा झन विलम्ब हुँदो रहेछ । आफूलाई हतारो भएर के गर्नु ? कार्यालयको हवितगले नै “किन चाउरिस् मरिच….” भनेजस्तो कागजपत्र “क्यु”मा राखेर धैर्यपूवर्क पालो पर्खनुको विकल्प रहेनछ । पुष महिनाको चिसो, कोठाभित्र बसिरहन पनि गाह्रो, बाहिर निस्कँदा पनि घामको दर्शन झन् दुुुुर्लभ ! सूर्यको किरणमा धुलोका कणहरु तैरिएको दृश्य बादललाई प्रतिस्थापित गरिदिएको जस्तो लाग्दो रहेछ । त्यो विचित्रको वातावरणले राजधानीको धुवाँधुलोको तुँवालोलाई माथ गर्न थालिसकेजस्तो लाग्दो रहेछ ! बाहिर निस्कँदा कार्यालय प्राङ्गणमै संयोगबस एकजना मेरा समवयी आफन्तजनसँग जम्का भेट भो । “ढुङ्गा खोज्दा देउता मिलेको” स्वर्णिम अनुभूति भो ! वेनी बाजारकै बासिन्दा भए पनि नगरपरिषदको निम्ता नपाउनेमध्येको नागरिक भएकोले फुर्सदमै रहेछन्, सायद !
त्यसदिन मेरा लागि कुनै परिचित फेलापार्नु मरुभूमिमा शितको थोपा फेलापार्नुभन्दा कम रोचक अनुभूति थिएन । उनी मेरा लागि तृषित काकाकुलको मुखमा अकस्मात परेको “स्वातीबुँद” कै प्रतिरुप बनेर उभिन आइपुगेका थिए भन्दा फरक पर्दैन । स्वभावत आफन्तजनसँग भेट भएपछि कुशलक्षम, घरव्यवहार, वन्दव्यवशाय र दिनचर्याको बारेमा कुराकानीको लेनदेन हुने नै भो । यद्यपि हाम्रो भलाकुसारी नितान्त औपचारिक मात्रै थियो । किनिकि त्यत्तिका लागि हामीबीच भेटघाटको कुरा त परै रहोस्, फोनसम्पर्क पनि हुदैनथ्यो होला । संयोग नै भए पनि दुबैजनाका लागि त्यो भेटघाट प्रितिकर नै थियो भन्नुपर्छ । मानिसले मनको वह पोख्ने अवसरको खोजी सधै गरिरहन्छ भनिन्छ । मौका पर्नासाथ मनभित्र गुम्सिएर रहेका कुण्ठा र असन्तोषहरु अवचेतनमै पोखिन थालिहाल्छन रे । घरव्यवहार, वन्दव्यवशाय, स्वास्थ्यस्थिति सबै कुरा राम्रो भए पनि मेरा आफन्तलाई एउटा पिरलोले सताउन थालेको रहेछ । बुढ्यौली मान्छेको जीवनमा आउने अप्रितिकर तर अनिवार्य नियति हो । नेपालको सन्दर्भमा साठी नाघ्दाननाघ्दै बुढयौलीको चिन्ताले मानिसलाई सताउन थालिहाल्छ । जागिरबाट अवकाश, वन्दव्यवशायबाट अवकाश, रामरमाइलोबाट अवकाश, खेलतमासाबाट अवकाश ! जता हे¥यो उतै अवकाशको अवसादले घेर्न थालेको अनुभूति हुन्छ । अत्याउन थाल्छ । उकुमुसको वातावरणको आभास हुनथाल्छ । मेरा आफन्तलाई पनि त्यही पिरालोले सताउन थालेको रहेछ ।
”काम धन्दा छैन । घरभित्र कति गुम्सिइरहनु ? कति पुस्तक र अखबारमा रमाउनु ? बाहिर निस्कुँ, विचार मिल्ने, उमेर मिल्ने, कुरा मिल्ने दौंतरी सँगीहरु भेटिदैनन् । साँचै सथी बनाउने हो भने कि गिलास समात्नुपर्छ कि तासको खालमा नारिनुपर्छ । एक जमाना थियो डिलाघरे साहु, पाण्डे बुढा, कान्छा साहु, श्रीलालहरु जाडो याममा चौरतिर थुप्रेर, गर्मी याममा चौताराहरुमा जम्मा भएर गफगाफ गर्थे, हाँसो ठट्टा गरेर बुढ्रयौलीका बेकार दिनहरुलाई मनोरञ्चक बनाउने कोशिस गर्थे । उनीहरुको त्यतिबेलको दिनचर्या सम्झँदा लोभ लाग्छ । आहारिस लाग्छ । आफूले त त्यस्ता मनमिल्ने साथीहरु बनाउन पनि सकिएन । उनहिरुलेजस्तो गरी समय विताउन सकिने समय पनि छैन । त्यतिबेलाको जस्तो न गर्मीमा चौतारीहरु खाली रहन्छन् न घाम ताप्नका लागि कतै पाहारिलो चौरको कुनो नै बचेको छ । साँघुरो ठाउँ, मानिसहरुको किर्चघान, सवारी साधनको कोलाहल, धुलो, धुवाँ ! सञ्चसँग कतै टेकिने बिसाउने ठाउँ नै छैन !”
उनको गुनासो स्वाभाविक थियो । बुढ्यौली वयका पटयारलाग्दा दिनहरु काट्न कटाउन गाह््रो पर्ने वेनीमा पूर्वमन्त्री भीमप्रसाद गौचन र पूर्व राजसभाका सदस्य रुद्रबहादुर केसीहरु दुवैजना काठमाडौं छोडेर यतै रमाएका छन् त ? भन्ने मेरा जिज्ञासामा उनले दिएको उत्तर झन् रोचक थियो । “वनको चरी वनमै रमाउँछ । हामी केटाकेटी हुँदा राम्रो नेपाली साहित्य भन्ने किताबमा “लक्ष्मीको माइती” भन्ने नीतिकथा पढिएको थियो । बैकुण्ठको सुखसयल आनन्द छोडेर माइती हिँडेकी लक्ष्मीले समुद्रको किनारमा पुगेर बालुवामा लडीबुी खेलेरै वैकुण्ठ फर्कन बिर्सेकी थिइन् रे ! हो, त्यसैगरी बितिरहेको छ दुबैजना माननीयहरुको दिन पनि ! केसीजीको लागि गलेश्वर नै सानो संसार बनेको छ । बृद्धबृद्धा, वेदपाठशाला, माता, जोगी, खाने पानी, हिड्ने बाटो, वगैचा, मन्दिर र मूर्तिको व्यववस्था, हेरविचार र चिन्ताबाट बचेको समय घतानको सामाजिक समस्यामा अनधिकृत न्यायाधीशको भूमिका निर्वाह गर्दैमा फूर्सद छैन । त्यसैमा मग्न छन् । व्यस्त छन् । चुर्लुमम्म डुबेका छन् । गौचनजीको पनि आफ्नै अलग संसार छ । स्वभावतः थकाली समुदायका छोराछोरीहरुको पहिलो चिन्ता कमाई धमाई नै हुने गर्छ । उनीहरुको सामाजिक संस्कारमा प्राकृतिक उद्यमशीलता रहन्छ । उमेर छउञ्ज्याल राजनीतिले फुर्सद मिलेन । रानीतिमा सुकेनास लागेपछि उनी त तन्नेरी पो भएका छन् । बुढेसकालमा अनेक उद्यम व्यवसाय गर्न थालेका छन् । कमाउने धन्दाबाट फुर्सद छैन । दुबैजना बुढाहरुको आ–आफ्न् ै संसार छ । त्यसैमा मस्त र व्यस्त छन् ।”
मेरा ती आफन्तको कुरा सुनेपछि बेलैमा वेनी छोडेर “ठिकै गरिएछ” भन्ने लाग्यो । सँगसँगै पोखराको विन्द्यवासिनी परिसरमा सुरु भएको बुढाबुढीहरुका लागि भनेर स्थापना गरिएको “डे केअर सेन्टर” को सम्झना आयो । हो त नी बुढाबुढीहरुको लागि भनेर रम्ने रमाउने ठाउँको व्यवस्था भैदिए कति जाती हुन्थ्यो । दौतरीहरुसँग हाँसखेल, गफगाफ, भलाकुसारी गर्ने साझा ठाउँ भैदिएका भए मेरा आफन्तीको चिन्ता समस्या दूर हुँदो हो । बच्चाबच्चीहरुका लागि “डे बोर्डर्स” को व्यवस्था गर्नसक्ने नीजी स्कुल कलेजका संस्थापक सञ्चालहरुले त्यतातिर पनि दृष्टि पु¥याइदिए बृद्धबृद्धाहरुको भलो हुन्थ्यो, उनीहरुलाई आशिष मात्रै होइन, अर्थलाभ पनि हुृन्थ्यो । आखिर व्यवशायको चुनाव पैसो हेरेर गरिने त हो नी ! पैसो त त्यो बृक्षमा पनि लटरम्मै फल्दो हो । होइन र ? नविकल्प पत्रिका अंक १८ माघ १० गते प्रकाशित