धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन

विकल्प न्यूज/बेनी
माघ १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ ।

विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ र बिनियोजन ऐन संसोधन प्रस्ताव पारित भएको गाउँकार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले बिनियोजन ऐनको संसोधन प्रस्ताव अन्तरगत गत आर्थिक वर्षमा खर्च हुन नसकेको एक करोड ८८ लाख २९ हजार ७५१ रुपैयाँ बजेटको योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

गत असारमा भएको गाउँसभाबाट ३२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको धवलागिरीको बिनियोजन बिधेयक पारित भएपछि चालूतर्फ २६ लाख ९९ लाख ७५१ र पुजीगततर्फ एक करोड ६१ लाख तीस हजार रुपैया बजेट थप भएको छ ।

बिधेयक समितिका संयोजक समेत रहनुभएका प्रवत्ता छन्यालले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक प्रस्तुत गर्नुभएको थियो । पारित भएको बिनियोजन बिधेयक अध्यक्षले प्रमाणित गरेपछि कार्यान्वयनमा लगिने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । गाउँसभामा बिशेष सार्वजनिक महत्वको प्रस्तावको रुपमा पेश भएको सामाजिक विकृति न्युनीकरणका लागि लागू औषध निषेध नियन्त्रण र नियमन प्रस्तावमा छलफल गर्दा भाँगोखेत गिर्न नपाउने र गरिएको भाँगोखेती नष्ट गर्ने निर्णय भएको छ ।

अर्को बिशेष महत्वको प्रस्तावमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९९ उपदफा २ क, ख र ग अनुसार वडा न. गुर्जालाई बिशेष संरक्षित वा स्वायत्त क्षेत्र र सोही उपदफा ख बमोजिम वडा न. ५ मल्कवांगलाई संरक्षित घोषणाका लागि सिफारिस गर्ने निर्णय भएको छ । 

जेल्तुंग र लमसुंगमा स्थापना गर्न लागिएको पर्यटक सूचना केन्द्रबाट बाह्य पर्यटकलाई प्रतिपर्यटक दुई सय पचास रुपैयाँ र आन्तरिक पर्यटकको लागि पचास रुपैयाँ शूल्क निर्धारण गर्ने निर्णय भयो भने फिरन्ते ब्यापारका लागि आउनेलाई वार्षिक पाँच सय रुपैयाँँ शूल्क लिने निर्णय भएको छ ।
गाउँसभाको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।