विकल्प न्यूज/बेनी
माघ १० गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले म्याग्दीको धौालागिरी गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्नुहुने भएको छ । माघ १३ गते आइतवार गाउँपालिकाको केन्द्र मुनामा आयोजना गरिएको पाँचौ गाउँसभालाई सम्बोधन गर्न मुख्यमन्त्री गरुङ म्याग्दी आउन लाग्नुभएको हो ।
गत शनिबार वसेको गाउँकार्यपालिकाको वैठकले गाउँसभामा मुख्य मन्त्री गुरुङलाई ल्याउने निर्णय गरेको थियो ।
गाउँपालिकाको समस्या र विकास योजनाका वारेमा मुख्य मन्त्रीलाई जानकारी गराई गाउँपालिकाको विकासमा सहयोग मिल्ने अपेक्षा सहित मुख्य मन्त्रीलाई ल्याउन लागिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
जिल्लाकै दुर्गम र विकट भुभाग भएको गाउँपालिकाको गाउँसभालाई सम्बोधन गर्न मुख्यमन्त्री आउनु हाम्रो गौरबको विषय हो अध्यक्ष थापाले भन्नुभयो,‘यो अवसरलाई गाउँपालिकाको समृद्धि र विकास सँग जोड्ने छौं ।’ मुख्यमन्त्री गुरुङले हेलिकोप्टरबाट धौलागिरीको पर्यटकीय स्थल,जलविद्युत,जडीबुटी र कृषिको संभावनाका वारेमा अवलोकन गर्नुहुने कार्यक्रम रहेको अध्यक्ष पुनले बताउनुभयो ।
पर्यटन,कृषि र पशुपालनको संभावनाका वारेमा मुख्यमन्त्रीलाई हेलिकोप्टरबाट अवलोकन गराउने सोच रहेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
कार्यपालिका बैठकमा पेश भएको गत आर्थिक वर्षमा खर्च हुन बाँकी एक करोड ८८ लाख रुपैयाँ बिनियोजन गर्ने र जुवातास नियन्त्रण सम्बन्धि प्रस्ताव गाउँसभामा पेश हुने प्रवक्ता झक छन्त्यालले बताउनुभयो ।