नेपाली काँग्रेसका लुला गोडाहरु तङ्ग्रिन थालकै हुन त अब !?

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
माघ ४ गते ।

नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु सबैले मञ्चमा उभिनासाथ “विपिले भन्नु भएको छ….”भनेर आफ्नो सम्बोधनको सुरुवात गर्दछन् । यो उनीहरुको थेगो मात्र होइन, काँग्रेसीकहरुको लागि यो वाक्यांश गायत्री मन्त्रजस्तै बनेको छ । नितान्त नीजि सोच, चिन्तन र आग्रहलाई विपीको नाम दिने स्वतन्त्रता काँग्रेसीहरुले निर्वाध उपभोग गर्दै आएका छन् ।

परम्परा नै बनेको छ । विपीविचारको विपरित कित्तामै उभिँदा पनि आफूलाई लागेको कुरा विपीको नाममा समर्पण गर्नु एकप्रकारको निष्ठा नै हो भन्नुपर्छ । निष्ठाको पकृति विचित्रको हुन्छ । मानिस स्वभावैले रक्तपिपासु जनावर हो । मानवसमाजको इतिहास रक्तरञ्जित दस्तावेज होभन्नु अत्युक्ति ठहर्दैन ।

मानिसको आमहत्या नगरिकन भगवानको दर्जा पाउने त बुद्ध र इशाजस्ता साह्रै थोरै महात्मा मात्र छन् । हिन्दू धर्मले त कलियुगको अन्त पनि तरवार लिएर घोडामा सवार कल्की अवतारले विश्वविजय गरेपछि हुन्छ भनेर भविष्यवाणी गरेको छ । अर्थात हिंसाविना धर्म पनि अपूरो रहन्छ । त्यही भएर होला, मांसाहारको क्षुधा शान्त गर्न मानिसले देवदेवीको नाममा पशुवली दिने परम्परा बसालेको छ ।

निरीह पशुको ज्यानलिने कार्य सहित आफ्ना नीजी इच्छा, आकांक्षा र कर्महरु देवतालाई समर्पण गरेर आफू पानीमाथिको ओभानो बन्ने मानव चतु¥याई यो होइन भन्न मिल्दैन । देवताको नाममा चढाइने हुनाले स्वभावतः प्राणीहत्याको पापपुण्यको भागिदारीबाट उम्कने मानवजुक्ति हो । त्यसलाई धुर्तता वा चलाकी पनि भन्न सकिएला ।

काँग्रेसीहरुले पनि त्यही चलाकीको सुन्दर अनुशरण गर्छन । पु¥याउँछन् आफ्नो मरोरथ, नाम लिन्छन् विपीको ?! जतिसुकै ठूलो अपराध गरेपनि, अनैतिकताको हद पार गरेपनि, वेइमानीको पराकाष्टा नाघेपनि विपीको नाम लिएपछि चारधाम यात्राको पुण्यफल प्राप्त हुन्छ । पापमोचन मात्रै होइन, मोक्ष प्राप्ती हुन्छ भन्ने मान्यता कांग्रेसी कित्तामा विकास भएको छ ।

दिवंगत काँग्रेसी नेता खुमबहादुर खडकाको धार्मिक अभियानलाई पाखण्डभन्दा बढी महत्व दिनुपर्ने ठानिदैनथ्यो । खड्काहरुको अभियान कमल थापाको राजजनीतिक सुशेधन्दा भन्दा बढी उन्नत आस्था हो भन्ने लाग्दैनथ्यो ।

पछिल्लोपटक महासमितिको कुम्भमेला भर्न राजधानीमा उपस्थित काँग्रेसीहरुले धर्मराज्यको पक्षमा हस्ताक्षर अभियान चलाए रे र त्यसको नेतृत्वमा कोइराला राजकुमारहरु थिए रे भन्ने समाचारले धर्मसम्बन्धी विपीविचार जान्ने बुझ्ने उतकण्ठा जाग्यो । त्यस विषयमा पत्रपत्रिका आएका विद्वत विचारहरु र उपलब्ध भएसम्मका विपीका लिखतहरु पढ्ने रहर गरियो । पहिल्यै हेरिसकेका, नसकेका केही थान पुस्तकहरु हेर्दा फिक्सन ननफिक्सन कतै पनि धर्मप्रतिको लगाव वा मोह विपीमा रहेको संकेत फेला परेन ।

अर्थात विशेश्वरको व्यक्तित्व निर्माणमा विशुद्ध भौतिकवादी दर्शनको प्रभाव रहेछ भन्ने कुरा पुन पुष्टि भयो । हुनत उनका कृतिहरुले उनलाई “राजावादी” पनि सावित गर्दा रहेनछन् । “मेलमिलापको नीति” तत्कालिक अवस्थामा अपनाइएको अल्पकालीन कार्यनीति मात्र रहेछ । “अड्को पड्को तेलको धुप” भनेजस्तो राजासंग घाँटी जोड्ने कुरा पनि कूटनीतिक चालवाजी रहेछ । तत्कालीन अप्ठेरो परिस्थितिमा अलिकता निहुरेरै भएपनि गुफाभित्र छिर्ने र सुरक्षित हुने चलाकी रहेछ । उनको मेलमिलापको नीतिलाई राजासंग सदाकाल घाँटी जोड्नुपर्ने अर्थमा बुझ्ने काँग्रेसीहरु र कम्युनिष्ट धुरन्धरहरु दुबैथरी गलत रहेछन् भन्ने रहस्य खुल्दो रहेछ ।

विपीको विलक्षण नेतृत्वक्षमताको गुण कोइराला राजकुमारहरुमा सायद पुस्तान्तरण हुन छुटेको विषय रहेछ कि ? हुनत कुल, घराना, वंशले नेतृत्वको गुणमा निखार ल्याउने भैदिएका भए वंशानुगत राजतन्त्रहरु विश्व मानचित्रबाट अस्ताउँदैै जाने नै थिएनन् होला । खासगरेर, हिन्दूधर्मप्रति विशेष आशक्ति अनुराग प्रदर्शन गर्नमा रुचि देखाउने डा. कोइरालाबन्धुहरु राजनीतिक दर्शन सिद्धान्तबाट च्यूत भएर धर्मको राजनीतिमा उत्रनुभन्दा खप्तड बाबाको अनुशरणतिर लाग्नु उत्तम हुन्थ्यो होला भन्नु “सानो थुतुनो, छुच्चो बोली” मानिएला ।

“कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि” ! कुरो कति मात्रै हो भने कोइराला परिवारलाई विपीको राजनीतिक निष्ठा र विद्वताले होइन, खड्काको लिँडे आग्रहले आकर्षित गरेकोजस्तो देखिनु बुझिनु दयालाग्दो परिस्थिति होइन भन्न सकिदो रहेनछ । आ–आफ्नो गम पाकेको केरा ! पाकेको केरा हातपरेपछि बोक्रैसित खाने कि बोक्रा फालेर भन्ने कुरा स्वेच्छाको विषय हो । पेट उति भोको छैन भने बाँदरले पनि केराको बोक्रो फालेर खान्छ । सत्ताको दृष्टिले कोइराला राजकुमारहरुको क्षुधाको पारो उकालो चढ्नु स्वभाविक हो । लिफ्ट चलेन भने घुमाउरो भए पनि भ¥याङ् चढ्नै प¥यो । सायद राजकुमारहरुको यतिखेरको टिठलाग्दो वाध्यता त्यसैको परिणाम होला कि ?

विचरा काँग्रेस ! विपीले देखाएको राजमार्गमा हिड्ने सामथ्र्य पनि राख्दैन, विपीको नाम नजपिकन बाँच्न पनि सक्तैन । दिव्य पचासवर्षसम्म विपीले लेखेर छोडिदिएको पार्टीविधानमा कमा र पूर्णविराम चिन्ह पनि नबदलिकन काम चलायो ?! विधान एउटा त समयानुकूल परिमार्जन गर्न नसक्ने पार्टीले नीतिसिद्धान्त र कार्यक्रमका बारेमा किन टाउको दुखावस् ? त्यसअर्थमा धर्मकै नाममा भएपनि घोषित रुपमा विपीविचारबाट पृथक बाटोमा हिड्ने काँग्रेसी कोशिसलाई सकारात्मक मान्नुपर्छ ।

काँग्रेसले विपीको वैशाखीविना पनि लुला गोडाहरु चलाउने अभ्यास बल्ल थाल्यो भन्नुपर्छ । लडिन्छ कि भनेर डराउने मनोविज्ञानले मानिसलाई कुञ्जो बनाउँछ भनिन्छ ।

पाइलो गलत ठाउँमा परोस् कि सही काँग्रेसले यसपटक उचालेको पाइलोको लक्षणलाई खराब भन्न मिल्दैन । पैतालामा आगोले पोल्यो वा काँडोले घोच्यो भने त्यता जान नहुने रहेछ भन्ने व्यवहारिक ज्ञान प्राप्त गर्नेछ । सुध्रने बुद्धि पलाउनेछ । गन्तव्यको पहिचान गर्ने क्षमता आर्जन गर्नेछ । यसपटक काँग्रेसले उठाउन खोजेको पाइलो प्रगतिकै पाइलो हो ।

व्यवहारिक ज्ञान प्राप्त गर्ने साधनको खोजी हो । उति धेरै आलोचना गर्नु काँग्रेसका चल्न खोज्ने हातगोडामा नेल हतकडी पहिराउनुजस्तै हो भन्ने चेतना मुखर आलोचकका रुपमा मिडियामा देखिएका कांग्रेसी विद्वान बुद्धिजीविहरुमा पलावस् भन्ने शुभकामना ।
खोइ ? काँग्रेसमा न धर्मको राजनीतिले गतिलिने लक्षण देखिन्छ न युवापुस्ताले हस्तक्षेपकारी भूमिका निभाउने संकेत देखिन्छ ? कसैको आशिष शुभकामनाले कसैको उन्नति प्रगति हुने भैदिएका भए संसारमा दुखी गरीब कोही हुदैनथ्यो । सुख समद्धि र उन्नति प्रगतिको आशिष आफन्त, अभिभावक, आमाबाबु र गुरुहरुबाट नपाउने को हुन्छ र ? सदमार्ग पहिल्याउने आफैले हो ।

उन्नति प्रगतिको शिखर चढाउने आफ्नो बलबुताले हो । काँग्रेस वटवृक्षमा “आँट” नामको फल कहिल्यै नलाग्ने भो क्या रे सायद ? यसपटक संयोगवस नेकपाको स्थायी समिति र नेकाको महासमितिको वैठक संगसंगै जस्तो सम्पन्न भयो ।

नेकपाका नेताहरुले अध्यक्षद्वयको प्रतिवेदनलाई सदस्यहरुले उठाएका प्रश्नहरु सम्बोधन हुनेगरी पुनर्लेखन गर्ने सर्तमा परित गरिदिए । नेताहरुले कहिले सहमति गरेर ल्याउलान् र ल्याप्चे ठोकौला भनेर प्रतीक्षामै काँग्रेसीहरुले दिन बिताए ! काँग्रेसी विरुवामा चिल्लो पात त यसपटक पनि देखिएन । नवविकल्प साप्ताहिकमा प्रकाशित