“भेडाखोर” अर्थात भेडीखर्कहरु पनि बेनी नगरपालिकामा !

chandra parkash baniya चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज,

पौष १५ को ओल्तिर पल्तिरको समय । स्वभावतः वेनी चिसै थियो । विरेन्द्र चोक भने अपेक्षाकृत गुलजार लाग्थ्यो । तत्कालीन राजा विरेन्द्रको शालिक विस्थापित भैसकेको हुनाले चोकलाई पुरानो नाम दिनु उपयुक्त नहोला । अवश्य, चोकले नयाँ नाम पाएको हुनुपर्छ । तर मेरो जानकारीमा थिएन, छैन । भारतको आर्थिक राजधानी भनेर चिनिने बम्बई सहर “मुम्बई”मा रुपान्तरित भयो । पुरानो राजधानी सहर कलकत्ताले फेरि पुरानै नाम पायो । पेकिङ्ले बेइजिङको नयाँ कलेबर फे¥योे ।

कुनै दिन काठमाडौंलाई ऐतिहासिक नाम “कान्तिपुर” बाटै चिनाउन थालियो भने पनि आश्चर्य मानिने छैन । त्यसैले वेनीको पिपलचोकले पुरानै नाम प्राप्त गर्ने सम्भावना पुरै निमिटयान्न भैसक्यो भन्न सकिन्न । कुखुराको व्यापारबाट व्यवशाय सुरु गरेका मेरा एकजना आफन्तलाई प्रशस्त आर्थिक उन्नति गरिसक्दा पनि वेनी बजारले “कुखुरे साहु” भनेर चिन्छ, बोलाउँदैछ । हुलाकचोकका कुविर साहुलाई“कान्छा मुखिया” भनेर चिन्ने बोलाउने मानिसहरु पनि अझै छन् । एकपटक बनिसकेको सामाजिक परिचय कहिल्यै मेटिदैन ।

पूर्व न्याय तथा कानुन सहायक मन्त्री दीपबहादुर खड्कालाई बाचुञ्ज्याल समाजले “विचारीबुढा” भनेरै सम्मान दिन्थ्यो । लखन थापाको शालिकले पृथ्वीनारायणको शालिकलाई विस्थापित गरेको वर्षैंां बितिसकेको भए पनि पोखरेली समाजले “पृथ्वीचोक” भनेरै चिन्छ, बुझछ । पिपलचोकले पनि विरेन्द्रचोकको नामबाट सायदै मुक्ति पाउँला । आगामी कैयौं वर्षसम्म त्यो नाम जन जनको जिब्रामा झुण्डिएरै आफ्नो अस्तित्व जोगाउने प्रयत्न गरिरहनेछ ।
जाडोको मौसममा पनि पिपलचोकको चौतारी खचाखच थियो । तर अचम्म ! एउटा पनि परिचित अनुहार देखिएन । सबै नयाँ नौला थिए । कार्यविशेषले जम्मा हुनआएका ती मानिसहरु सबै बराञ्जा पखेरका बासिन्दाहरु रहेछन् । म आफै पनि कसैको पर्खाईमा थिएँ । पर्खनु, कुर्नु भन्दा पट्यारलाग्दो काम अरु केही हुँदैन । एक एक पल, एक एक मिनेट सिङ्गो युग झै लामो लाग्छ । धन्न, संयोग ! त्यो दिन वेनी नगरपरिषद नामको भेला आयोजित रहेछ । सदरमुकाम वरपरका धेरै आफन्त परिचितहरुको बाक्लै उपस्थिति थियो । ठाडठाडै भलाकुसारी गर्न भ्याइयो । आरामविरामको सोधपुछ गरियो । बन्दव्यापार, खेतिबारीदेखि राजनीतिसम्मका गफगाफ गरियो । हल्काफुल्का भए पनि विचारको आदान प्रदान गर्ने अवसर मिल्यो । आनन्दै लाग्यो । मध्यसडकमै उभिएर झण्डै डेढ दुई घण्टा बिताइएछ । समय बितेको पत्तै भएन ।
सन्दर्भ नगरपरिषदको भएको हुनाले चर्चा पनि त्यसैको हुनु स्वाभाविक थियो । नेपाली काँग्रेसका जिल्लानेता माधव रेग्मी भन्दै हुनुहुन्थ्यो–“ दुर्गम बस्तीका गाउलेहरुका लागि नगरपालिका भनेको त थारो गाई पाल्नुजस्तो वेअर्थको घाँडो हुँदो रहेछ । लिनु पाउनु केही छैन, दिनुमात्रै पर्ने । प्रतिफल सून्य” ! त्यही प्रसङ्गमा अर्को कसैले थप्यो–“ हाम्रो भेडाखोर पनि नगरपालिका……!”
भेडाखोरले मेरो एउटा पुरानो सम्झना ताजा बनायो । उतिबेला त मलाई गते, मिति, साल सम्वत्सरको हेक्का थिएन । सायद, २०१७ सालको हिँउद हुनुपर्छ । मेरो पिताजी अकस्मात हराउनु भएको थियो । कतै लुक्नु भएको थियो । आमालाई भने अवश्य बाबाको आश्रयस्थलको जानकारी थियो होला । किनकि आमाको दैनिकी सामान्य थियो । चिन्तासुर्ताको कुनै लक्षण देखिदैनथ्यो । बाबा हराएपछि दिनरात पुलिसको लर्को लाग्न थाल्यो । नयाँ नौला अनुहारहरुको आवागमन बढ्यो । उसै पनि हाम्रो घरमा तिनताका मानिसहरुको बाक्लै आउजाउ हुन्थ्यो । तर त्यतिखेर सुकिला मुकिला नयाँ नौला अनुहार बढी देखिन्थे ।

पुलिसहरुको व्यवहार निकै रुखो हुने गथ्र्यो । केटाकेटीहरुको मात्र होइन, बुढापाकाहरुको पनि बोलीपिच्छे सातो खान्थे । एकदिन एकजना हाकिमजस्तो लाग्ने पुलिसँग मेरी हजुर आमाको हाथापाई नै भयो । स्वभावतः पुलिस त रुखो थियो नै, मेरी हजुर आमा पनि जण्ड हुनुहुन्थ्यो । छोरो निकाल कि निकाल भनेर ताकेता गर्ने पुलिसलाई ठाडठाडै जवाफ फर्काउनु भो । छोराको बारेमा जानकारी नदिए आमालाई नै हतकडी लगाएर घिसार्छु भन्ने पुलिसलाई नाडीमा समातेर “आमाको दूध खाएको छोरो होस भने लौ हतकडी लगा” भनेर हजुरआमाले ¥याख¥याख्ती पार्न थालेपछि पुलिस बिचरो विझेको बिरालो बनेथ्यो ।
एकदिन नैनासुतको कमिज सुरुवाल लगाएको नेवार थकालीजस्तो लाग्ने एकजना मानिसले मलाई एकान्तमा बोलाएर हातभरी पिपरमेन्ट राखि दियो अनि “बाबा कहाँ लुक्नु भएको छ ?” भनेर सोधेको मलाई सम्झना छ । (अलिकता सुकिलो भेषभुषाको मान्छेलाई तिनताका गाउँमा “नेवार थकाली” होला भनेर अनुमान लगाउने गरिन्थ्यो) मलाई जानकारी भए पो बताउँनु ? बाबा लुकेको ठाउँको जानकारी भैदिएका भए मिठाइ दिने मायालु अङ्कललाई बताइदिँदो हुँ । बताउनु हुँदैन भन्ने मलाई जानकारी थिएन । पुलिसहरुले घरको निगरानी गर्ने, सोधपुछ गर्ने, खाजतलासी गर्ने, खानाखानेगरी रातमा बास बस्न आउने, झिसमिसे विहानै आँगनमा टुप्लुक्किने गर्न छोडिहालेको नभए पनि अलि पातलो भने हुँदै गएको थियो । बाबाले घर छोडेको कति दिन वा महिना भएको थियो कुन्नी ? मलाई भने वर्षौं बितेको हो कि जस्तो लाग्थ्यो । एक दिन बुढावा (हजुरबा) डेकबहादुर र मेरो बाबा दुबै जनाले बागुङ्गको ठानामा गिरफ्तारी दिएको खबर आयो ।
तत्कालीन राजा महेन्द्रले सैनिक “कु” गरेर विसेश्वर कोइरालाको जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि देशभर राजनीतिक नेता कार्यकर्ताहरुको गिरफ्तारीको सिलसिला चलेको थियो । गिरफतार गर्नुपर्ने मान्छेको सूचिमा मेरा बाबाको नाम पनि परेको रहेछ । वारेन्ट जारी भएको सुईंको पाउनासाथ मेरा बाबा र डेकबहादुर हजुरबा दुबैजना आ–आफ्ना घर गाउँ छोडेर भूमिगत हुनुपर्दा “भेडाखोर” भन्ने ठाउँलाई आश्रयस्थल बनाउनु भएको रहेछ । दिनभर जङ्गलमा लुक्ने, रातपरेपछि भेडाखोरका घरगोठहरुमा आश्रय लिने गरेर एकडेढ महिना बिताउनु भएको रहेछ । जङ्गल जङ्गल चहारेर कतिञ्ज्याल लुक्ने ? पुलिस प्रशासनसं सधैं लुकामारी खेलेर व्यवहार चल्दैनथ्यो । त्यसैले आफै बडाहाकिम समक्ष उपस्थित भएर गिरफतारी दिनु भएछ । दुबैजनालाई एकडेढ महिनाको काराबास पछि राजाको कदमलाई समर्थन गर्ने लिखित कबुलियतनामा गराएर दैनिक तारेखमा छोडिएछ । कसरी हो कुन्नी पछि बाबाको तारेख छुट्यो, हजुरबा भने वनारसतिर हानिनु भो । हो, पुरानो पुलाचौर गाउँ पञ्चायतको ७ नम्बर, पुलाचौर गाविसको ९ नम्बर र हालको वेनी नगरपालिकाको वडा नं १२ मा पर्ने “भेडाखोर” डडुवा गाउँको शिरमा अवस्थित छ । भेडाको बथान राख्ने ठाउँलाई भेडाखोर नाम दिइएको हुनुपर्छ ।
पुरानो जमानामा भेडाहरु खोरमा पालिदैनथे । सामान्यता भेडाको बथान फाकटमै बस्छन, राखिन्छन् । खोर भनेको त्रीसाले खेतीको लागि बारबान्नो गरेर घेरिएको आवादी जग्गा हो । सामान्यतः गाइभैसी राख्ने फाकटलाई “खर्क” भन्ने चलन हुन्छ । सायद भेडाखोर पनि भेडाखर्क नै होला । जेहोस, पुलिस प्रशासनको आँखाबाट बच्नका निमित्त उपयोग भएको भेडाखोर अवश्य दुर दुर्गममा अवस्थित होला भनेर सजिलै अनुमान गर्न सकिन्छ । त्यही दुर दुर्गमको विकट ठाउँ पनि नगर पालिका अन्तर्गत पर्न आउनु निश्चयनै विष्मयकारी विषय ठहरिने नै भो । नगरोन्मुख गाउँबस्तीहरु समेटेर नयाँ नगरिपालिकाहको घोषणा गरिको भए पनि वडा मात्रै होइन, गाउँविकास समिति समेतलाई विभाजन नगर्ने अव्यवहारिक सरकारी नीतिका कारण दुर दुर्गम र कहिल्यै नगरको सुविधा पुग्न नसक्ने ठाउँहरु पनि नगरपालिकामा पर्ने÷गनिने विडम्बना बनेको कुरा तितो यथार्थ हो । भेडाखोरको नियति भोग्ने मुलुकभर अनेकौ. गाउँ ठाउँहरु कति होलान, होलान् ! नवविकल्प साप्ताहिकको अंक १७ माघ ३ मा प्रकाशित