जलविद्युतमा म्याग्दीवासीलाई लगानीको सुनौलो अवसर

बिनोद कुँबर /विकल्प न्यूज
पुस ३ गते । जलस्रोतको हिसाबले म्याग्दी धनी जिल्ला भएर पनि हामी धेरै पछाडि छौं । जलस्रोतलाई सदुपयोग गरेर हामीले जिल्लालाई समृद्ध बनाउन सक्छौं । हामी सँग कालिगण्डकी,म्याग्दी र रघुगंगा जस्ता ठूला नदीहरु छन् । यसका साथै अन्य साना खोलानालाहरु पनि प्रशस्त मात्रामा छन् ।

तिनको उपयोग गर्न सकिरहेका छैनौं । पछिल्लो समय केही निजी प्रयासमा कालिगण्डकी भेगतिर जलविद्युत आयोजनाहरु निर्माण सुरु गरिएको छ । यसले म्याग्दीवासीमा उत्साह र आशा जगाएको छ । म्याग्दीखोला भेगतिर पनि जलविद्युत विकासको राम्रो संभावना छ । त्यही संभावनालाई उजागर गर्न र लगानीको अवसर लिएर जन्मभूमिमा हामी आएको छौं । रोजगारी र पेशा व्यवसायको खोजीमा संसारका विभिन्न मुलुकहरुमा पुगेका म्याग्देलीहरुलाई हामीले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना मार्फत जोड्न खोजेका छौं । हामीले विदेशमा आर्जन गरेको सीप,ज्ञान र पुँजीलाई मातृभूमीमा लगानी गर्न खोजेका छौं । यो आयोजनामा हामीले सवै म्याग्देलीहरुलाई लगानीको अवसर दिएका छौं । हामीलाई आशा छ यहाँहरु सवैले लगानी गर्नुहुने छ ।

हामीलाई यहाँ सम्म ल्याउन यहि भुमीको ठुलो योगदान छ । मातृभुमीको ऋण तिर्नका लागि कर्मभुमीबाट आएका छौं । हामीलाई आशा छ जिल्लावासीसवैले हामीलाई सहयोग गर्नुहुनेछ । यो आयोजनामा जोडिनुहुनेछ । लाहुरेको जिल्ला भनेर चिँनिदै आएको हाम्रो जिल्लालाई अव फेर्नुपर्दछ ।  त्यसका लागि युवाहरुलाई यहिँ अवसर सिर्जना गर्नुपर्दछ । हामीले यो आयोजनालाई नमुनाका रुपमा निर्माण गर्नसक्यौ भने अन्य आयोजनाका लागि पनि ढोका खुल्छ । यसले रोजगारी सिर्जना र लगानीको अवसर प्राप्त हुन्छ । तरकारी र दुध विक्री गरेर आर्जन गरेको सानो पुँजीलाई जलविद्युतमा लगानी गर्ने अवसर सिर्जना हुन्छ । आज देखि सुरु गरिएको आयोजनालाई यहाँ सम्म ल्याउनका लागि गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकामगर,राजनीतिक दलका आदरणीय नेताहरु, माननिय सांसद भुपेन्द्रबहादुर थापा,पूर्व सभासद रेशमबहादुर बानियाँ,नवराज शर्मा लगायत जनप्रतिनिधि ज्यूहरुको साथ र सहयोग छ ।

म यस अवसरमा यहाँहरु सवैलाई हार्दिक आभार व्यक्त गर्दछु । भोलीका दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा आयोजनाले राखेको छ । यो आयोजना हाम्रै म्याग्देलीहरुको हो । म्याग्देलीहरुले पनि जलविद्युत आयोजना निर्माण गर्न सक्छन् भन्ने सन्देश हामीले दिनुछ । आयोजनालाई शिलान्यास सम्म ल्याउनका लागि विगतमा विभिन्न झन्झटीला प्रक्रियाहरु पार गरेका छौं । विगतमा प्रमोद श्रेष्ठ लगायतहरुको आयोजनालाई यहाँ सम्म ल्याउनका लागि विशेष योगदान छ । उहाँहरुको परिश्रम र आँट नगरेको भए यो आयोजना अहिले हाम्रो हातमा आउने थिएन ।

 

त्यसैले जिल्लाका उद्योगी व्यवसायीहरुलाई लगानीका लागि अनुरोध गर्दछु । यहाँहरुको सहयोगले नै आयोजना अघि वढ्ने हो । म्याग्दीवासीका धेरै आशा र सपना छन् त्यसलाई पुरा गर्ने दायित्व हाम्रो हो । विदेशमा वसेर विभिन्न संघसंस्थाको नेतृत्व र त्यहाँ वसेर कम्पनी चलाएको अनुभव हामी सँग छ । गाउँले गरेको लगानी ढुब्ने अवस्था कुनै पनि हालतमा आउँदैन । ढुक्क भएर लगानी गर्न अनुरोध पनि गर्दछु । यो आयोजना म्याग्दीवासीको सम्पत्ति हो ।

हामी सवैमिलर आयोजना सम्पन्न गर्नुपर्दछ । जिल्लाको विकास र समृद्धिका लागि आयोजनाले इट्टा थप्ने विश्वास लिएको छु । पश्चिम भेगतिर मात्र होइन यसले समग्र जिल्लाको विकासमा टेवा पु¥याउने भएकाले लगानी गर्न म अनुरोध गर्दछु ।

दरवाङ म्याग्दीखोला आयोजनाको शिलान्यास कार्यक्रमा व्यक्त भएका विचारहरुलाई सम्पादित गरेर प्रकाशित गरिएको हो । कुँबर आयोजनाको प्रवद्र्धक धौलागिरि हाइड्रो लिमिटेडका अध्यक्ष हुनुहुन्छ । नवविकल्पमा प्रकाशित