चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
मंसिर १३ गते ।
कान्तिपुर दैनिकको यही मंसिर ११ गतेको अंङ्कमा साधना प्रतीक्षा लिखित “धर्म, राजनीति र वामपन्थ” शिर्षकमा अभिव्यक्त दृष्किोणमा परेको “भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैनन्” भन्ने वाक्यलाई आजको लेखनको शिर्षक बनाउन मन लाग्योे । गैर वामपन्थी कमलबाट वामपन्थी राजनीतिप्रति गरिएको एउटा सुन्दर टिप्पणी थियो त्यो जस्तो लाग्दछ । दुईदशक अगाडिसम्मको नेपाली समाजमा कसैको पियक्कड स्वभावका लागि “आफूलाई कम्युनिष्ट भन्छ तर दिउँसै रक्सी धोकेर हिड्न लाज मान्दैन” भनेर गरिने आलोचनाहरू बाक्लै सुन्न पाइन्थ्यो ।
वामपन्थी आदर्शको सम्बन्धमा समाजले बनाएको त्यस्तो मान्यताले हरेक कम्युनिष्ट कार्यकर्तालाई गौरवान्वित बनाउँथ्यो । पछिल्लो कालखण्ड अर्थात माओवादी जनयुद्धकालसम्म पनि जुवातास र मद्यपानमा संलग्न रहनेहरूलाई “भाटे कार्वाही” हुन्छ रे भन्ने हल्लाले समाजमा एउटा सकारात्मक सन्देश पं्रवाह गथ्र्योजस्तो लाग्छ । समय फेरियो । नेपाली वामपन्थको चरित्र पनि बदलियो । आदर्शच्यूत भएका नेता कार्यकर्ताहरू नामका मात्र कम्युनिष्ट रहे । कम्युनिष्ट नेताकार्यकर्ता र आदर्श चरित्रबीच स्थायी सम्बन्ध विच्छेद भैसक्यो भन्दा फरक नपर्ने भैसक्यो । तैपनि साधना प्रतीक्षाजस्ता अध्ययताहरूमा वामपन्थी आदर्शप्रति रहेको विश्वास छचल्किएको देख्ने सुन्ने अवसर पाउँदा खुसी लाग्दो रहेछ । कतज्ञता जाहेर गर्न मन लाग्दो रहेछ ।
साधना प्रतीक्षा वामन्थी कित्ताभित्रको नाम होइन । वाम राजनीतिले उनलाई चिन्दैन । वामपन्थको बिल्लाधारी कुनै पत्रकार वा लेखकले वामपन्थी आदर्शप्रति त्यस्तो विश्वास व्यक्त गरेका भए त्यसको उति महत्व हुदैनथ्यो । किनकि त्यो औपचारिक कथन मात्र मानिन्थ्यो । “दूधको साँक्षी विरालो” भन्ने लोककथनको उदाहरण ठानिन्थ्यो । प्रतीक्षाजीको कलम कम्युनिष्ट दर्शनप्रति आलोचक रहँदै आएको छ ।
अर्थात उनको कलमले उनलाई वामकित्ता बाहिरको भनेर स्पष्ट कित्ताकाट गरिदिन्छ । गैरकम्युनिष्ट कित्ताको विद्वान समीक्षकहरूको बुझाई कम्युनिष्ट आदर्शप्रति सकारात्मक नरहनु स्वाभाविक हो । अर्थात कम्युनिष्ट दर्शन व्यवहारबाट प्रयोगसिद्ध हुन वा व्यवहारमा प्रमाणित हुन सक्तैन । त्यसैले एकदिन संसारबाटै कम्युनिष्ट राजिनीतिको अन्तिम मलामी निस्कन्छ भन्ने मान्यता राखेको देखिन्छ । प्रतीक्षाजीमा पनि कम्युनिष्ट दर्शन अव्यवहारिक छ भन्ने धाराणा रहेको देखिन्छ ।
वामपन्थी विचाधाराको प्रखर आलोचक हुँदाहुदै पनि त्यो दर्शन, सिद्धान्त र मान्यताप्रति एउटा आदर्श विश्वास रहेको देखिनु दुर्लभ कुरा हो । आस्था र विश्वास फरक कुराहरू हुन् । आस्था श्रद्धा नराखिने विषयप्रति विश्वास रहनु महत्वको विषय मानिन्छ । मन्दिर नधाउने र पूजा प्रार्थन पनि नगर्ने मानिसले भगवानको अस्तित्वमा विश्वासा गर्नुजस्तो हो यो प्रशङ्ग । उनको सुन्दर कलमबाट निस्रित “भ्रष्टाचार र कमिसनतन्त्र वामपन्थी आदर्शभित्र पर्दैन” भन्ने उद्गारले प्रतीक्षाजीको अन्तर्हृदयमा रहेको वामपन्थी आदर्शप्रतिको गहिरो विश्वासको झलक प्रदर्शन गरेको छ ।
दुःखका साथ भन्नैपर्छ कि साधना प्रतीक्षाहरूले पालेको विश्वासको गरुङ्गो भारी बोक्ने हैसियत वर्तमानको नेपाली वापनथी आन्दोलसंग अब रहेन । अरु सबै कुरा एकातिर पन्छाएर प्रतीक्षाजीले उठाएका दुईवटा कुराहरूलाई यथार्थ धरातलमा राखेर वामआन्दोलनले देखाउन थालेको चरित्रको मूल्याङ्कन गर्दा मन खिन्न बनाउनुपर्ने र लोकलज्जाको ख्याल गर्ने हो भने नतमस्तक हुनुपर्ने परिस्थिति उत्पन्न हुन्छ । वामपन्थी नेताहरूको वर्गउत्थान भैसकेको छ । सिङ्गो नेतृत्वमण्डली नवधनाड्य वर्गमा रूपान्तरित भैसकेको कुरा तीतो यर्थाथ बनिसकेको छ । विना उद्यम व्यवशाय अकुत धनार्जन गरिने बाटो दृश्य वा अदृश्य जे भएपनि त्यो दोश्रो नम्बरको धन्दा नै हो । दुई नम्वरी धन्दाको माध्यमबाट धनार्जन गर्नु भ्रष्टाचार नै हो ।
यो आलोकमा पर्गेल्दा सत्ताधारी कम्युनिष्ट पार्टीको सिङ्गो नेतृत्व भ्रष्टाचारी रहेको ठहर्छ । पार्टीका दुई अध्यक्षहरूको मात्र कुरो गर्दा एकजनाको निजी भव्य महल निर्माणको वैधानिक आयश्रोत खुलाउन सक्ने र अर्को एकजनाको राजसी जीवनशैलीलाई निरन्तरता दिने आर्थिक श्रोत खुल्ने सम्भावना छदैछैन भन्न कर लाग्छ । “जेठा मामाको त भाङ्ग्राको धोती, कान्छा मामाको कुन गति ?” भनेजस्तै शिर्ष नेतृत्व नै भ्रष्ट ठहरिएपछि तल्लो तहका कार्यकर्ताहरूमा अनधिकृत आर्जन चारधामको तीर्थयात्रा जस्तै पवित्र ठान्ने प्रवृत्तिको विकास हुनु स्वाभाविक हुने नै भो ।
साधना प्रतीक्षाजीको कलमले व्यक्त गरेको दाश्रोकुरा कमिसनतन्त्रबाट पनि सत्ताधारी कम्युनिष्ट पार्टी उति नै आक्रान्त भएको छ । कमिसनको वैधानिकताको कथा सार्वजनिक गर्ने साह्त्यिकार प्रश्रित सायद पहिलो एमाले नेता हुन क्या रे ! उनको गौथलीगुँडले कमिसनतन्त्रको घृणित खेललाई नाङ्गै बनाइदिएकै हो । त्यसयता ठूला नेताहरू सबैको वैधानिक कमाइैको ठूलो श्रोत कमिसन नै बनेको छ ।
भर्खरै वाइवडीवाला जहाज खरिदकाण्ड सदनदेखि सडकसम्म छताछुल्ल भएर पोखिएको छ । देशको ऐन कानूनले समात्न सक्ला वा नसक्ला तर जहाज खरिद काण्डमा कमिसनको खेल भएको थिएन भन्नु उज्यालोको लागि दिउँसै वत्ति बाल्नुजस्तै हो । जहाज निर्माता कम्पनीसँग भन्दा विक्रिकर्ता एजेन्टसँग जहाज किन्दा सस्तो पर्ने सनातन अभ्यासले जहाजको पहिलो बिक्रिमै हुने कमिसनको खेलको पोल खोल्दो रहेछ ।
विक्रि एजेन्ट, र जहाज किन्ने अख्तियार प्राप्त अधिकारीहरू दुबैथरले कुस्त कमिसन कुम्ल्याउँदा पनि निर्माता कम्पनीसँग किन्नु भन्दा दोश्रो पक्षसँग जहाज किन्न सस्तो प¥यो भन्नुको अर्थ जहाजको वास्तविक मूल्यभन्दा सार्वजनिक गरिने बजार मूल्य अरबौैं डरल बढी तोकिँदो रहेछ भन्ने कुरा पुष्टि हुन्छ । अर्थात कानून लागोस् कि नलागोस् हरेक सरकारी खरिदारीमा कमिसनको खेल हुन्छ नै र यसपटक वाइवडीको जहाज किन्दा मन्त्रीदेखि निगमका अधिकारीसम्मको भण्डार भरिएको छ भन्ने कुरा “ओपन सिक्रेट” नै हो ।
दुर्भाग्यबस्, यसपटक जहाजमन्त्री सत्ताधारी कम्युनिष्ट पार्टीकै सदस्य छन् र नियमानुसार आफ्नो भागमा परेको कमिसन रकम सरकारी कोषमा जम्मा गर्ने सदाशय देखाउने कुरा त परै रहोस्, सत्य सार्वजनिक गर्ने हिम्मत पनि गर्दैनन् । आजसम्म अरु कसैले त्यसो गरेको पनि छैन र भोलि पनि कसैले गर्ने सम्भावना छैन भने वर्तमान मन्त्रीले कमिसन कुम्ल्याए भनेर किन कोकोहोला मच्चाउनु व्यर्थैमा ? प्रतीक्षाजीले बुझेजस्तो कमिसनतन्त्र कम्युनिष्ट आदर्श बाहिरको कुरा अब रहेन । कमीसनतन्त्र र भ्रष्टाचारबाट आर्जित रकमको अङ्क जति मोटो भए पनि कम्युनिष्टहरूको क्षुधाग्निले सजिलै पचाउन थालेको छ । त्यो अब सनातान परम्परा नै बनिसक्यो । बरु साधना प्रतीक्षाजीहरूले आफ्नो पुरातन मान्यता र विश्वाश बदल्नुपर्ने समय आएको छ ।
कुनै पाखण्डी पण्डितले ”किताबको माछो पो खान नहुने हो, खोलाको माछा खानुमा कुनै प्रदोष लाग्दैन” भन्थ्यो रे ! साधानजीहरूले बनाएको मान्यताको आधार किताबमा लेखिएको आदर्श, दर्शन र सिद्धान्तका कुरा हुन् । नेपालको वाम राजनीतिले अभ्यास गरेको वा प्रदर्शन गरेको चरित्रको आधारमा निर्माण भएको अवधारणा होइन । किताब पढेर बनाइएको धारणा व्यवहारमा रूपान्तरित हुन्छ भन्न नसिकने रहेछ । त्यसो हुन्थ्यो भने गीता पढ्ने मानिसहरू सबै कृष्णजस्तै ज्ञानी हुन्थे, अर्जुन जस्तै धर्मात्मा धर्मभिरु हुन्थे । संकराचार्यहरूमा उग्रता र धर्मान्धता देख्नु सुन्नुपर्ने थिएन ।
अयोध्याको बाबरी मस्जिद भत्कदैनथ्यो । प्रमाणित इतिहास मेटेर अप्रमाण्ति पौराणिक गाथा स्थापति गर्ने मुर्खता मानिसले गर्दैनथ्यो । अर्थात गीताका सच्चा अनुयायी गीतापाठले जन्माउने भैदिएका भए अयोध्यामा संसारकै सबभन्दा अग्लो मूर्ति स्थापना गर्ने बहुलठ्ठी मान्छेले प्रदर्शन गर्न सक्तैनथ्यो । नेपालको सन्दर्भमा कम्युनिष्ट दर्शन न विज्ञान रह्यो, न समाजिक रूपान्तरणको शास्त्र बन्यो । त्यो त गीताजस्तै पाठगर्ने तर अनुुशरण भने गर्नुनपर्ने धर्मग्रन्थमा फेरियो । यो दिव्य जानकारी प्रतीक्षाजीहरूले पनि राख्दा राम्रो होला कि ?!