म्याग्दी भ्रमण वर्षको समिक्षाको होस् (सम्पादकीय)

विकल्प न्यूज/बनी
कार्तिक १५ गते । beni new photoएकहप्ता अघि मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुले बेनीमा होटल खोज्दा पाएनन् । होटलमा वास नपाएपछि कालिपुल वसपार्क स्थित कर्वडहलमा पर्यटकहरुले रात काट्नुप¥यो । बेनीमा भएका होटलहरु भरिभराउ भएपछि कुश्मा र बागलुङमा वास खोज्नुपर्ने भयो । यो क्रम निरन्तर पाँचवर्ष देखि चलिरहेको छ । म्याग्दीले भ्रमण वर्ष २०७५ मनाइरहेको छ । तर म्याग्दी र मुस्ताङको भ्रमणमा आएका आन्तरिक एवम् वाह्य पर्यटकलाई वासवस्नकै समस्या छ । पर्यटन सिजन सुरु भएलगत्तै म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलहरुमा पर्यटकहरु भरिभराउ छन् । भ्रमणको उपयुक्त समय भएकाले पनि यतिखेर पर्यटकहरुको चाप वढेको हो । म्याग्दी र मुस्ताङका हरेक पर्यटकीय र धार्मिक स्थल, पदमार्ग र होटल बजार स्वदेशी र विदेशी पर्यटकले भरिभराउ भएका छन् । भौगोलिक, धार्मिक, सांस्कृतिक विविधतापूर्ण विशेषताले म्याग्दी उत्कृष्ट गन्तव्य बन्ने सम्भावना छ । म्याग्दीमा आकर्षक पर्यटकीय गन्तव्यहरु धेरै छन् । कतिपय पहिचान भएका छन त कतिपय ओझेलमा छन् ।

म्याग्दीको घोडेपानी,पुनहिल,खोप्रालेक,टोड्के,रुप्से झरना,अन्धगल्छी,धौलागिरी आधारशिविर,गुर्जा,नागी लगायतका स्थलहरु प्राकृतिक रुपमा मनोमहक छन् । धार्मिक हिसावले पनि जिल्लामा उत्तिकै सम्भावना युक्तस्थलहरु छन् । गत वर्षको तुलनामा यसवर्ष म्याग्दी र मुस्ताङको भ्रमण गर्ने संख्यामा निकैनै वृद्धि भएको छ । पर्यटक आगमनको वृद्धिले खुशी बनाए पनि पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको अभाव खडकिएको छ । भौतिक पूर्वाधारको अभावका कारण भोलीका दिनहरुमा नकरात्मक सन्देश प्रवाह हुनसक्ने खतरा पनि छ । कालिगण्डकी करिडोरले पूर्णता पाएमा भोलीका दिनहरुमा अझै पर्यटक आगमनमा वृद्धि हुनसक्ने देखिन्छ । भोलीका दिनहरुमा वृद्धि हुने पर्यटकलाई लक्षित गरेर सुविधा सम्पन्न होटल,लज र अन्य भौतिक पूर्वाधारको विकासमा ध्यान जानुपर्ने देखिन्छ । पछिल्लो समय आन्तरिक पर्यटकमा वृद्धि भएको छ । पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकले वास पाउन कठिन हुने गरेको छ । दसै र तिहार जस्ता ठूला चाढपर्वहरुमा घुम्नुपर्छ भन्ने मानसिकता विकास भएकाले आन्तरिक पर्यटकको संख्या बढेको छ । दसैँ–तिहारजस्ता चाडबाडले उपलब्ध गराएको उत्साह, फुर्सदका कारण आन्तरिक पर्यटकलाई थप प्रोत्साहन गरेको छ ।

पर्यटकको आगमनलाई दिगो बनाउन पूर्वाधारमा लगानी र प्रवद्र्धनमा जोड दिनैपर्छ । सुविधासम्पन्न होटल,लज,पदमार्ग र यातायात क्षेत्रको सीमित क्षमता यसका लागि चुनौतीपूर्ण छ । पर्यटन बजार बलियो बनाउन यस क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न आवश्यक छ । मुस्ताङ र म्याग्दी भ्रमण गर्ने आउने पर्यटकले वास पाउन समस्या विगत पाँचवर्ष देखि नै भोग्दै आएका छन् तर यो विचमा भौतिक पूर्वाधारको विकास तर्फ कुनै सोच नै भएन । म्याग्दी भ्रमण वर्ष मनाइरहँदा पर्यटकीय स्थलहरुमा भौतिक पूर्वाधारको विकास र होटलहरुको क्षमता विस्तारमा निजी क्षेत्रले कुनै चासो दिएको जस्तो लाग्दैन । म्याग्दी घुम्नलाई निमान्त्रण बाड्दै हिड्ने तर खान र वस्नको व्यवस्था गर्न सकेनौ भने यसको सन्देश कस्तो जाला ? यसतर्फ पनि सोच्न जरुरी छ । अर्को तर्फ भ्रमण वर्षको अवधिमा पर्यटन सँग सम्बन्धित कुनै नमुना योजना पनि अघि सार्नुपर्दथ्यो त्यो पनि अझै आउन सकेको छैन । खाली भ्रमण वर्ष मात्र भनेर अव पुग्ने देखिदैन यसका लागि ठोस योजनाको पनि आवश्यक छ । भ्रमण वर्षका अवधिमा कमसेकम जिल्ला भित्रका विभिन्न संघसंस्थाहरुले जिल्ला भित्रै भ्रमणको कार्यक्रम बनाउनु पर्दथ्यो । स्वयम भ्रमण वर्षको आयोजक नै निम्ता दिने नाममा जिल्ला बाहिरको भ्रमणमा निस्कनुले कस्तो सन्देश जाला ? भ्रमण वर्षका अवसरमा गरिएका अहिले सम्म भए गरेका गतिविधिहरुका वारेमा आयोजक र सरोकारवाला निकायहरुले गम्भिर समिक्षा गर्न जरुरी छ ।