त्यो खम्बा फेरि फर्केर वेनी आउने भो रे !

चन्द्रप्रकाश बानियाँ /
यतिखेर विद्युतीय सामाजिक सञ्जाल फेसबुकको भित्ताभरी एउटा “विद्युतपोल”को चर्चा छ ! पाटनगेटनेरको कुनै होटेल रेष्टुरेण्टतिर कतै चौकीदारीमा खटिएको त्यो पोललाई म्याग्दी फर्काउने अभियान सुरु भएको छ । आजसम्म म्याग्दीमा मात्रै हजारौको संख्यामा विद्युतपोलहरु भित्रिए होलान् । तिनीहरु मध्येका कैयौं हराए होलान्, मासिए होलान् । तिनको कतै हिसाब किताव छ जस्तो लाग्दैन ।

त्यही एउटा पोल जसले २०६० साल चैत्र ७ गतेको रात्रीमा माओवादी विद्रोही र संयुक्त सुरक्षा फौजबीच मञ्चन भएको भयङ्कर भीडन्तमा सयौ गोली खाएको थियो, हो त्यसैको यतिबेला खोजी हुन थालेको हो । जसरी पनि खोजी छोड्ने र वेनीबजारमा पुन स्थापित गराइछोड्ने भीष्मप्रतिज्ञा गर्नेहरु निस्केका छन् । उनीहरुको अभियानमा होस्टेमा हैसे मिलाउन प्रतिबद्ध एउटा सिंगो सचेत पुस्ता नै तयार भैसकेको छ । धन्य हो, त्यो महत्वपूर्ण “पोल” धातुको परेछ । काठको हुन्थ्यो भने यतिबेलासम्म खरानी परिसक्थ्यो होला । अथवा हँसियाको बीँड, हलोकोे अनौं, ठेडी, विनारी वा जुवाको सोइलोको रुपमा अस्तित्व धान्ने भगिरथ प्रयत्नमा निमग्न रहँदो हो, विचरो !
समयको प्रवाहसँगै वेनीबाट धेरै कुुराहरु बाहिरिएका छन्, मासिएका छन् र हराएका छन् ।

DSC07769 तिनको कसैले खोजी गरेको देखिदैन । एउटा विद्युतपोलको भने जङ्गलमा हराएकी सीताको रामले गरेको खोजतलासको पौराणिक कथा बिर्साउनेगरी खोजी हुन थालेको छ । त्यो मुक विद्युतपोल विद्रोही माओवादी र संयुक्त सुरक्षा फौजबीचको भीडन्तको साँक्षी थियो । युद्धको प्रत्यक्षदर्शी मात्र भैदिएका भए त्यसको कुनै महत्व हुदैनथ्यो । किनकि त्यो खम्बा मान्छेको भाषा बोल्न सक्तैनथ्यो । कतै चोक चौतारातिर उभिएर युद्धकथा पारायण गर्न सक्तैनथ्यो । अड्डा अदालतका कठघरामा उभिएर वकपत्र गरिदिन सक्तैनथ्यो । त्यसले सयौं गोली खाँदा पनि सतिसालझै दुई बन्दुकहरुका बीच उभिएर योद्धातिर लक्षित गोलीहरु आफ्नो छातीमा थापेको थिया । कैयौैं योद्धाहरुको ज्यान जोगाएको थियो ।  त्यसलाई पुनस्थापित गर्ने अभियानमा लाग्नेहरुको

भावनामा के छ कुन्नी ? उनीहरुको आशय के हो भनेर पनि सबैले जान्ने बुझने कुरा भएन । सायद गोलीले छियाछिया भएको पोल काठमाडौं शहर पुग्नु र आजपर्यन्त गल्ली कुरेर ठडिनुको कारणले त्यसको विशेष महत्व होला भन्ने लागेको होला । अथवा माओवादी आन्दोलनको विभत्स हिंसाको साँक्षी युग युगसम्म बनिदेला भन्ने आशा पनि हुनसक्छ ।
मलाई भने त्यो खम्बा माओवादीको मतियार थियो जस्तो लाग्छ । त्यो निर्जीव खम्बा युद्धको साँक्षी मात्र पटक्कै थिएन । त्यसले माओवादीको तर्फबाट युद्धमा स्वयम भाग लिएको थियो । पक्ष लिएर लडेको थियो । योद्धातिर लक्षित सयौं गोलीहरु उसले आफ्नो छातीमा थापेको थियोे । माओवादीहरुले गोलीभन्दा बढी घरेलु विष्फोटकहरुको प्रयोग गर्थे भनिन्थ्यो । जान अनजानमै किन नहोस् माओवादीहरुको रक्षक बनेर त्यो खम्बा उभिएको हनुपर्छ ।

किनकि उसको आङभरी असंख्य गोलीका निशानहरु थिए । जति त्यो खम्बाको शरीरमा गोलीका निशानहरु थिए सायद त्यतिको संख्यामा माओवादीहरुले त्यो रातको युद्धमा गोली दागेकै थिएनन् होला । विचरो निर्र्जीव खम्बाले न्याय अन्याय छुटयाउने हैसियत त राख्दैनथ्यो । जुन पक्षको सहयोगी बनेको भए पनि त्यो परिबन्द मात्रै थियो । सचेततापूर्वक कसैको रक्षा वा प्रतिरोध गरेको होइन । चेतना भएको भए अथवा हातखुट्टा चलाउन सक्ने हैसित राख्ने भए ज्यान जोगाउन सुरक्षित स्थान तिर भाग्दो हो । भाग्न नसक्ने वा भाग्नु नपर्ने उसको भौतिक अवस्थाले मध्ययुद्धस्थलमा रातभर डटिरहन विवश बनेको हो । वाध्य बनाएको थियो ।

chandra parkash baniya

सयौं गोली खाएर पनि नढलेको त्यो वीर योद्धा मध्यबजारबाट कुनैदिन अकस्मात गायब भएछ । सायद त्यसलाई कसैले रातारात विस्थापित गरिदिएको होला । गोलीले छलनी भएको भए पनि आफ्नो कामको लागि ऊ अयोग्य भैसकेको थिएन । हजारौ भोल्टको विद्युतीय तरङ्गग प्रशारण गर्ने विद्युत लट्ठाहरु काँधमा बोकेर पूर्ववत यथास्थानमा उभिएकै थियो । “हिराको परख जौहरी गर्छ” भनेजस्तो कुनै पारखीका आँखा त्यसमा परेहोलान् । त्यसका शरीरमा परेका प्वालहरुबाट सहस्रधाराको पहराबाट निस्रित हुने अजस्र पानीका श्रोतहरु झैं हरिया डलरका थाकहरु झर्ने सम्भावना देख्यो होला । त्यो घाइते पोल काठमाडौं पुग्नुको कारण नत उपचारका लागि थियो नत जलाग्रहका निमित्त पशुपति आर्यघाट जानु नै थियो । रहस्यमय तरिकाले पोल अन्तध्र्यान भएको तिथिमितिको सायदै कसैलाई हेक्का थियो होला । कसरी कसको चतुर दिमागमा त्यो हराएको खम्बाको स्मरण ताजा हुन गयो कुन्नी ? र खोजी हुन थाल्यो । महासुर हिरण्याक्षको डकैतीमा परेका वेदादि ग्रन्थहरुलाई भगवान नारायणको बराह अवतारले पातालबाट ढुँडलेर निकाले जस्तै राजधानीको कुनै गल्लीतिर युद्धगाथा सुनाउँदै गरेको अवस्थामा त्यसलाई फेला पारेछन् ।

हुनत त्यो पोल उतैबाट म्याग्दीतिर आइपुगेको हो । वंशज वा जन्मका आधारमा त्यो म्याग्दीको नागरिक किमार्थ होइन । तैपनि उसले पाएको पहिचानको श्रोत म्याग्दी हो । म्याग्दीले उसलाई विशिष्टता प्रदान गरेको हो । ऊ म्याग्दीको अङ्गिकृत नागरिक अवश्य हो भनेर सिन्दुर पोते पहि¥याएर विवाह गरेकी श्रीमतिमाथि लोग्नेको हक लाग्छ भन्ने रुढीवादी सामाजिक मान्यता रहेजस्तै त्यो विद्युतखम्बामा म्याग्दीले हकदावी गर्न थालेको छ । हो, त्यो युद्ध स्मारक हो र त्यो युद्धस्थल वेनीबजार हो । त्यसले कहने कथा वेनीको हो । त्यसैले त्यो कथा वेनीको भूमिमै कहिनु सुनिनु पर्छ । तत्कालीन राजा वीरेन्द्रको सालिक आन्दोलकारीहरुद्वारा उखेलिएर उजाड बनेको वेनीमा युद्धस्मारकको रुपमा त्यही खम्बा ठडिनुपर्छ, ठडयाइनुपर्छ । वेनीको भावना र चाहना हो यो ।

युद्धको महत्वको तत्वबोध होस् कि नहोस् युद्धस्मारकरुपी विद्युतखम्बाको महत्व म्याग्दीले बुझेको छ । हुन पनि त हो नी ? चिहानको पनि त महत्व हुन्छ । मिश्रका पिरामिडहरु संसारभर प्रसिद्ध छन् । विश्वको सप्त आश्चर्यको गणनामा पर्ने ती पिरामिडहरु पनि आखिर चिहानै त हुन् । भारतको आग्रास्थित ताजमहल पनि विश्वको अद्वितीय कारीगरीको नमुना मानिन्छ । सप्ताश्चर्य मध्येको एउटा मानिने मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजमहलको स्मरणमा बनाएको चिहानै त हो त्यो । रसियाको भ्रमणगर्ने पर्यटक पाहुनाहरुले लेनीनको लासको श्राद्धपूर्वक दर्शन अवश्य गर्छन् । महात्मा गाँधीको चिहान रहेको जमुनाकिनारको राजघाट पवित्र तीर्थस्थल नै बनिसकेको छ । त्यसैले पनि त्यो खम्बो म्याग्दी ल्याउनै पर्छ र ससम्मान पुनस्थाापित गरिनुपर्छ । वर्षाैवर्षसम्म त्यसले सुनाउने युद्धकथा म्याग्दीले सुन्न सुनाउन पाउँनुपर्छ । म्याग्दीको वेनीबजार पनि सयौंका संख्यामा मरेका मारिएका माओवादी योद्धाहरुको चिहानै त हो ।
म्याग्दीका जागरुक नागरिकहरुले फर्काउन सकेछन् भने खम्बा एकपटक फेरि म्याग्दीको भूमिमा शानसँग ठडिने छ । स्मरणयोग्य एउटा कुरा के हो भने त्यो खम्बो कमसेकम काठमाडौंको गल्लीतिर सहीसलामत रहेछ र फर्केर आउने सम्भावना देखियो । सायद समाज अव निकै चेतनशील भैसकेको छ । ऐतिहासिक महत्वका चीजबस्तुहरुको संरक्षण गर्नेुपर्ने चेत समाजमा पलाएको छ । ३०÷४० वर्ष पहिले वेनीको समाजमा त्यस्तो चेत थिएन । समाज जागरुक हुन्थ्यो भने पर्वत राज्यको ऐतिहासिक दरबार (टकसार) मासिने नासिने थिएन । ऐतिहासिक सत्तलको विनाश पनि हुने थिएन । ती अमूल्य ऐतिहासिक धरोहरहरुको नाम निशाना मेटिएको घटनाको स्मरणले हृदयको कतै कुनामा चसक्क घोचिमाग्नुपर्ने परिस्थिति उत्पन्न हुदैनथ्यो । अब पछुताउनुभन्दा बढी के गर्न सकिन्छ र ? हो, त्यसैले त्यो खम्बो वेनी फर्केकै राम्रो । यतिबेला खम्बा फर्काउने अभियानमा लाग्नेहरुको सोच र मनारी त्यसले पूरा गर्ला वा नगर्ला तर त्यसले एउटा इतिहासको कथालाई सुरक्षित गर्ने छ । कुनै दिन मुलुकले समृद्धि प्रगतिको फड्को मारेछ भने समाज परिवर्तनको एउटा महत्वपूर्ण आयामको जीवित साँक्षी त्यो बन्ने छ । मुलुकको कायालपलटमा म्याग्दीले खेलेको अहम भूमिकाको अमरगाथा गाइरहने छ । नवविकल्प साप्ताहिक पत्रिकाको अंक १६ पुस २६ मा प्रकाशित

२०६६ सालमा म्याग्दी आउनुभएका तत्कालिन नेकपा माओबादीका नेता डाक्टर बाबुराम भट्टराईद्धारा पोलको अवलोकन गर्दै /तस्विर ठाकुरप्रसाद आचार्य, बनी

pool

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  अवैध तरिकाले काठमाण्डौको पाटन स्थित ढोकी मै क्याफेमा राखिएको पोल । तस्विर /अभिषेक पौडेल