व्यापारीको इमान र बजारको नैतिकता

chandra parkash baniya
चन्द्रप्रकाश बानियाँ /विकल्प,

नाकाबन्दी कायमै छ । दैनिक उपभोग्य बस्तुहरुको मूल्यले आकाश छोएको छ । त्यो पनि भनेजति र खोजेजति महङ्गो मूल्य तिर्दा पनि पाइदैन । सबभन्दा बढी हाहाकारको अनुभूति पेट्रोलिय पदार्थका उपभोक्ताहरुले गरेका छन् । सरकार निरीह बन्दै गएको छ । भारतीय नाकाबन्दी सुरु हुनासाथ वैकल्पिक व्यवस्थाको लागि सरकारले कसरत सुरु गरेको हो । चीनतिर धायो । भारतलाई हजारचोटि अनुनय विनय ग¥यो । “सक्छौं भने ल्याउ” भनेर निजी व्यापारिक कम्पनी र प्रतिष्ठानहरुलाई समेत गुहा¥यो । महङ्गो परेछ भने सरकारले किनिदिने आश्वासन पनि दियो । तर कतैबाट तत्काल समस्या समाधान हुने सम्भावना देखिएन ।

अनुदानमा चीनले दिएको अलिकता तेल “हात्तिको मुखमा जीरा” भनेजस्तो भयो । आउन त दक्षिणका नाकाहरुबाट फाट्टफुट्ट तेलका टयाङ्कर र ग्यासका बुलेटहरु भित्रिएकै हुन् । रासनिङ्ग गरेर पठाएको तेल ग्यासले उपभोक्ताको माग धान्ने र समस्या समाधान गर्ने भन्दा मुलुकमा हाहाकारको स्थिति निर्माण गर्ने काम मात्रै ग¥यो । कतै पेट्रोलको लाइन ! कतै डिजेलको लाइन !। कतै ग्यासको लाईन !। कतै यातायातको साधन कुर्नेहरुको लाइन ! जताततै लाइनै लाईन ! बरु कतैबाट पटक्कै थोप्लो छिटो नछिरेका भए दुई नम्बरी बाटोबाट आएको तेल सक्नेले ढुक्कसँग किन्थे । नसक्नेले वैकल्पिक उपाय अपनाउथे । कमसेकम निर्धक्कको स्थिति त बन्थ्यो । न पेटभरी खान पाउनु न सुखसँग सुत्न पाउनु भनेजस्तो दयालाग्दो स्थितिको शिकार नेपाली उपभोक्ताहरु भए, हुँदैछन् ।

जे होस्, ४/५ गुणा बढी मूल्य तिरेरै भए पनि नेपालीहरुका चुला बलेकै छन् । सडकहरु पनि सून्य भएका छैनन । सास्तीकै भए पनि आवागमन रोकिएको छैन । यतिबेला कालो बजारी धन्दा मौलाएको छ । व्यापारीहरु त व्यापारी भैहाले सरकारी कर्मचारीहरु समेत कालोे धन्दामा सम्मिलित भएका घटनाहरु सार्वजनिक भैरहेका छन् । कालोबजार र कालाव्यापारीहरुप्रति पनि नेपालीहरुले सम्मान नै प्रकट गरिरहेका छन् । नेपालीहरुको त्यही शान्त प्रकृतिको फाइदा उठाउन अग्रसर हुने मध्येको एउटा “विराट” नामको आयात निर्यात गर्ने सरकारी अख्तियार पाएको व्यापारिक प्रतिष्ठान धुन्धुकारी बनेर निस्केछ । आएलनिगमले तोकेका मूल्यभन्दा दोब्बर बढी मूल्यमा अर्थात प्रतिलिटर २५०। को दररेटमा प्रेट्रोल हाकाहाकी खुलाबजारमा बेच्न थालेछ । जतिनै महङ्गो भए पनि खरिद गरेर काम चलाउन उपभोक्ताहरु वाध्य छन् । त्यसमाथि सरकारी अनुमति पाएको कम्पनीले तोकेको मूल्यमा प्रश्न उठाउने कुरै भएन । त्यो अति सायद, सरकालाई रुचेन । त्यसैले प्रहरीको फन्दामा परेछ ।
हुन त यो नेपाल हो । विराट कम्पनीका मालिकसँग अवश्य पैसाको खाँचो छैन होला । “पैसो देख्दा महादेवको पनि तेश्रो नेत्र खुल्छ” भन्छन् । नेपालको कर्मचारीतन्त्र कति भ्रष्ट रहेछ भन्ने कुरा भर्खर बहालवाला र भूतपूर्व बनेका पुलिसप्रमुखहरुको लामो लाइन अख्तियार प्राङ्गणमा पंक्तिबद्ध भएबाट प्रष्ट हुन्छ । विराटका मालिकलाई सुनपानी छर्केर चोख्याइने छ । आखिर समातेको पुलिसैले त हो । कुरा कतिमात्रै हो भने पैसोले मान्छेलाई कतिसम्म नैतिकहिन र अधैर्य बनाउँदो रहेछ भन्ने कुराको उदाहरण विराट कम्पनी बन्यो । नाकाबन्दी तत्काल खुल्ने सम्भावना पनि थिएन ।

तेल व्यापारको सरकारी अनुमति पाउने व्यापारीहरुको संख्या पनि धेरै थिएन । आखिर बजार उनीहरुकै एकलौटी नै त थियो । थोरै नाफा राखेर बेचेका भए पनि समय बढी लाग्दो हो नाफा कमाउने त उनीहरुले नै थियो । एकझमटमा धेरैे कुम्लाउने चेष्टा किन गनुृपथ्र्यों र ?  अखबारमा “विराट काण्ड”को समाचार पढ्दै गर्दा एकजना भारतीय अनुहारको नागरिक टाउकोमा लत्ताकपडाको भारी बोकेर मेरो घरडेराको कम्पाउण्डमा छि¥यो । घरपति ले तनना, सिरक, तकियाका खोल र २/४ पिस कुर्तासुरवाल छानिन्, मोलातोल मिलाइन् र रकम लिन घरभित्र छिरिन् । व्यापार वार्गेनिङ्को झमेलाबाट फूर्सद पाएको व्यापारी मतिर मुखातिव भयो । उसको मेरो बीचमा यसरी सम्बाद सुरुभयोः–
“अङ्कलले केही नलिने ?”
“म, एक्लै छु, घरमा कोही छैन ।”
“आन्टी कहाँ जानु भएको छ ?”
“पहाडघरमा ।”
“पहाड कतातिर ?”
“वेनीतिर ।”
“ए ! वेनी त म पनि जान्थ्यो । मैले धेरै व्यापार गरेको छ वेनीमा । आजकाल जान छोडेको ।”
“किन ?”
“अहिले व्यापार गर्न दिँदैन ।”
“कसले ?”
“वेनीको व्यापारीहरुले ।”
“किन दिदैन ?”
“हामीले सस्तो दिन्छु । एक पीसमा १००/५० नाफा पाए दिइहाल्छ । व्यापारीहरुले त्यही समान दोब्बर मूल्यमा वेच्छ । हामी गएपछि त उनीहरुको व्यापार हुदैन । वेनीबजारको व्यापारीहरुले हामीलाई खेद्छ, । लुट्छ । त्यसैले जाँदैन । जान छोडिदियो ।”

कुरो सामान्य थियो । उसको कुराले फेरि उही बजारनैतिकताको प्रश्नले मेरो मनमा चसक्क घोच्यो । विराटको मालिकभन्दा हाम्रो बेनीबजारका व्यापारीहरु पो के फरक रहेछन् र ? त्यो भारतीय नागरिकले पनि नाफा नलिइकन त अवश्य माल बेच्दैनथ्यो होला ! थोरै नाफा लिएर धेरै सामान बेच्ने उसको व्यापारिक नीति थियो होला । त्यसबाट उसलाई पनि फाइदा, उपभोक्तालार्ई पनि सहुलियत हुन्थ्यो । बेनी बजारका व्यापारीहरुले पनि भारतीय सडक व्यापारीहरुसँग प्रतिश्पर्धा गरिदिएका भए जनतालाई राहत हुन्थ्यो । वास्तवमा व्यापारीको सरोकार पैसासँगको हो । आम उपभोक्ताको राहत सहुलियतसँग उनीहरुको के साइनो सरोकार ? आफ्नो तिजोरी भर्नपाए पुगिगो । त्यसका निमित्त कसैसँग प्रतिश्पर्धा गर्नुभन्दा प्रतिश्पर्धीलाई पाखुरा देखाएर लघार्नु र बजार एकलौटी बनाउनुमै फाइदा ! धन्य हो व्यापार ! धन्य हुन व्यापारीहरु !! धन्य हो बजार नैतिकता !!! नवविकल्प साप्ताहिकको अंक १५ मा प्रकाशित