विकल्प न्यूज/बेनी
साउन १८ गते । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले दुई साता अघि बाढी पहिरोको चपेटामा परेको पर्वतको उत्तरी जलजला गाउँपालिकामा स्थलगत रुपमा निरीक्षण गर्नुभएको छ । उहाँले बाढी र पहिरो पीडित परिवारलाई राहत वितरण गर्नुभएको छ ।
अध्यक्ष तिमिल्सीनाले बाढी पहिरोमा परेको जलजला गाउँपलिका वडा नं ७ र ८ मा पर्ने लस्तीमा पुगेर शुक्रबार बिहान गाउँपालिका अध्यक्ष,प्रमुख जिल्ला अधिकारी र राजनीतिक दलका प्रतिनिधि सहभागि कार्यक्रममा पीडित परिवारलाई राहत वितरण गर्नुभएको हो ।बाढी र पहिरोले भएको क्षति पुगेको लस्तीमा खोला संरक्षणका लागि तटबन्ध बनाउन तथा पहिरोबाट बिस्थापित सुकुम्बासी दलित परिवारको आवास निर्माणका लागि पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले क्षति अनुसार तटबन्ध बनाउन, सिंचाई कुलो मर्मत र खानेपानी आयोजना मर्मतका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउनुभयो
। ‘सबै बिभागीय मन्त्री र सरोकारवालाई पीडितलाई आवास र भत्किएको तटबन्ध बनाउनका लागि ध्यानाकर्षण गराएको छु’ उहाँले भन्नुभयो ‘स्थानिय स्तरमा गरिएको स्टिमेटका आधारमा छिट्टै रकम बिनियोजन हुने बिश्वास छ’ जिल्ला बिपद् ब्यबस्थापन समितिको बैठकले लस्ती खोला नियन्त्रणका लागि ३ करोड ५० लाख, पहिरोले क्षति पु¥याएको लस्ती फर्से सिंचाई लगायतका सिंचाई योजना मर्मतका लागि ३१ लाख १८ हजार र खानेपानी प्रणालीमा पुगेको क्षति मर्मतका लागि ८ लाख ५० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको थियो । पछिल्लो समय दैबी प्रकोपको घटना बढ्नुमा सार्वजनिक सम्पतिको दोहन र अतिक्रमण तथा जथाभावी सडक खन्ने कुरा भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सीनाले नदी र खोला क्षेत्र अतिक्रमण रोक्न तथा जथाभावी सडक निर्माण रोक्न आवश्यक रहेको बताउनुभयो । तिमिल्सीनाले बाढी पहिरो पिडीत १८ घरपरिवारहरुलाई नगद ५ हजार र खाद्यान्न सामाग्री राहत स्वरुप बितरण गुर्नभएको थियो । कार्यक्रममा जलजला ८ का अध्यक्ष विकास जिसी र ७ का कार्यवाहक अध्यक्ष पूर्ण वहादुर नेपालीले वाढी पहिरोले पु¥याएको क्षतिका वारेमा अध्यक्ष तिमिल्सीनालाई जानकारी गराएका थिए । जलजलाका प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।