कम्युनिज्मको रसपान गर्ने नेपाली तिर्खा कहिल्यै नमेटिने भो !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज
असार २८ गते । chandraचीनभ्रमणबाट फर्केपछि नयाँ सरकारका नविकृत प्रधानमन्त्री खड्गप्रसाद ओलीले दुबै छिमेकीहरुसँगको मैत्री सम्बन्ध सुधारेको जानकारी सदनलाई दिएका छन् । चीनभ्रमणको अवसरमा चीनसँग भए गरिएका सम्झौताहरुको निकै लामो सूचि प्रस्तुत गर्दैगर्दा प्रधानमन्त्रीको भावभङ्गिमा अर्थात बडील्याङ्ग्वेज भने उति उत्साहजनक देखिएको थिएन ।

करीब हप्तादिनको यात्राबाट उत्पनन थकानको कारण हो अथवा विकास निर्माण उन्नतिप्रगति भन्ने कुरा आफूले कल्पना गरेजस्तो चमत्कारिक नहुने रहेछ भन्ने तथ्यबोधले हो प्रधानमन्त्रीको प्रस्तुति अपेक्षाकृत उत्साहविहीन र फिकाजस्तो देखिएको थियो । तीन महिनामै घरघर र चुलामा चुलामा ग्यासपाइप जडान गरिदिने ! एक वर्षमै हावाबाट विजुली निकालेर देशमा छेलोखेला बनाइदिने !! दुई वर्षमै साउदी अरबीयालाई नेपाली खनिजतेल बेच्ने !!! जस्ता गफ हावादारी सावित भएकाले जिब्रो चलाउँदा संयमित हुनुपर्ने चेत पसेको पनि हुनसक्छ ।

भनेजस्तो गरिपु¥याउन सजिलो हुँदो रहेनछ भन्ने दिव्य ज्ञान प्राप्त भएपछिको शिथिलता पनि हुनसक्छ । अति उत्साहको परिणाम शिघ्र थकान हो भनिन्छ । नत्रभने चीनसँग भएका दुईपक्षीय सम्झैता समझदारीहरु उत्साहजनक छैनन् भन्न मिल्दैन । साँचै समयमै कार्यान्वयन भैदिने हो भने चीनको सहयोगमा नेपालको समृद्धिको ढोका खोलिने सम्भावना स्पष्ट दष्टिगोचर हुन्छ भन्नु अतिशयोक्ति हुदैन होला ।
माके एमाले एकीकरणले एउटा बलियो पार्टी बनेको छ । संसदमा एउटै पार्टीको एकमना बहुमत छ । एकल संसदीय बहुमत प्राप्त पार्टीको नाममा “कम्युनिष्ट” जोडिएको छ । यतिखेर एकीकृत बनेको पार्टीको मुख्य घटक एमाले नामको मात्र कम्युष्टि थियो भन्ने कुरा “ओपन सिक्रेट” हो । लक्ष, दृष्टिकोण, सिद्धान्त र व्यवहारका दृष्टिले धनविनाको “धनीराम” मात्र थियो । त्यही धनीराममा अर्को पार्टी मिसिएपछि “बलराम”बनेको हो । “जुत्ताको नापअनुसार खुट्टा काटेर मिलाउने हो भने आउ, नभए तिम्रो बाटो लाग” भनेर माकेलाई एमालेले सार्वजनिक रुपमै चेताएकै हो । उसैको सर्तमा माके एमाले एकीकरण भएको हो ।

त्यसैले एकीकृत पार्टी भविष्यमा कस्तो होला भनेर अनुमान गरिरहनुपर्ने आवश्यकता छैन । माके एमाले एकीकरणको उद्देश्य एमाले पार्टीलाई ठूलो बनाउने मात्रै होइन उसैको सिद्धान्त, व्यवहार र नीतिसंस्कृतिलाई पनि निरिन्तरता दिने उपक्रम थियो, हो । नयाँ पार्टी बनेपछि कम्युनिष्टहरु “बलिया भए” भनेर काँग्रेस र काँग्रेस सम्बद्ध बुद्धिजीविहरुले गर्ने गरेको रोइलोमा रत्तिभर सत्यता छैन । पार्टी एकीकरणबाट कम्युष्टिहरु बलिया भएका होइनन्, एमाले बलियो भएको हो । एमालेको विचार र नीति बलियो बनेको हो ।

एमाले भनेको राजनीतिक अर्थशास्त्रका दृष्टिले काँग्रेसकै जुम्ल्याहा भाई हो । त्यसैले काँग्रेस र काँग्रेसीहरुको गुनासो व्यर्थ हो । अब भविष्यमा हुने काँग्रेस र नेकपाबीचको प्रतिद्वन्दिता र प्रतिपश्र्धा दुई भिन्न दर्शन, सिद्धान्तबीचको होइन । त्यो प्रतिपश्पर्धा केवल सत्ताको लागि हुनेछ । उद्देश्य र कार्यक्रममा समानता भएपछि पार्टी फरक हुनुले के अर्थ राख्छ र ? बस, हुने कुरा भनेको “कहिले दाइको पालो कहिले भाइको पालो” भनेजस्तो मात्र हो ।

हो, नेपालमा बुझेर हो वा नबुझैरै हो अथवा काँग्रेसप्रतिको वितृष्णाको कारणले हो नेपाली जनमत कम्युनिष्ट पार्टीहरुप्रति अनुरक्त रहँदै आएको छ । कम्युनिष्ट पार्टीको नीति सिद्धान्त बुमmेरै समर्थन गरिएको हो भनेर दावी गर्न तथ्यहरुले दिदैनन् । कम्युनिष्ट सिद्धान्तले समाजमा आधारभूत परिवर्तनको माग गर्दछ ।

हाम्रो समाज “बाहुनवाद”बाट ग्रसित छ । समाजको प्रगतिशील रुपान्तरणका लागि पहिलो अवरोध त्यही हो । त्यो अन्ध परम्पराप्रतिको अन्धआस्था, अन्धभक्ति र प्रेम वा अपनत्वभाव सबभन्दा बढी खस समाजमा देखिन्छ । राजनीतिक विश्लेषक सिके लालले भनेजस्तै एमाले “पहाडी ब्राह्मण वर्चस्वको पार्टी” बनेको कुरा तीतो यथार्थ हो । माकेको एमालेमा भएको विलयले त्यसलाई थप मलजल गरेको छ ।

अर्को यथार्थ के पनि हो भने जनमतले त्यही पार्टीलाई लोकप्रिय सावित गरिदिएको छ । नयाँ नेकपा समाजको आधारभूत परिवर्तनको पक्षमा छैन र त्यही पार्टीलाई जनताले पत्याउनु भनेको कम्युनिष्ट दर्शन नबुझीकन गरिएको समर्थन होइन भन्न मिल्दैन ।
निकै ठूला सपनाहरु देखाएर नेकपाले संसदीय निर्वाचनमा बहुमत प्राप्त गरेको छ । गफ गरेजस्तै जनताको नजरमा पर्नेगरी अर्थात भूईं तहका जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी कुनै काम हुनेछैन । गरिने छैनन् । सरकार वर्गसापेक्ष हुन्छ भन्ने माक्र्सवादी मान्यता पत्याउने हो भने एमालेको नेतृत्वले भूईं छोडिसकेको छ ।

नेपालीहरुको पहिलो प्राथमिकताको प्रश्न जनजीविकाको हो । रोजगारीको हो । अन्तरदेशाीय रेल सञ्जाल, ठूला सडक संरचना र ठूला जलविद्युत योजनाहरुको सुरु गर्दैमा पाँच गर्ष बित्नेछ । त्यतिबेला सम्म कुनै उपलब्धी जनताको हात लाग्ने छैन । पाँचवर्ष पछिको निर्वाचनमा नेपाली जनतमतले विकल्पको खोजी गर्नुपर्ने आवश्यकताबोध गरे भने आश्चर्य मान्नुपर्ने छैन । त्यस्तो परिस्थिति उत्पन्न भैहाल्योे भने विकल्प फेरि पनि नेपाली काँग्रेस नै हो । यतिखेरका ठूला दलहरुलाई विस्थापित गर्नेगरी तेश्रो शक्ति निर्माण भैहाल्ला भनेर पत्याउन सकिदैन ।
जनमतका दृष्टिले शक्तिशाली प्रमाणित भएएका नेपाली काँग्रेस र नेकपा दुबै परम्परावादी यथास्थितिवादी पार्टीहरु हुन् । तिनीहरुबाट क्रान्तिकारी परिवर्तनको अपेक्षा गर्नु भनेको मट्टीतेलको डेब्रीबाट विजुलीको चिमको जस्तो उज्यालोको अपेक्षा राख्नुजस्तैे हो । कोरा समृद्धिको नाराले नेपाली जनमत आकर्षित हुदैन ।

त्यसो हुन्थ्यो भने पुजिवादी नवउदारवादी समृद्धिको असली नेपाली उत्तराधिकारी नेपाली काँग्रेस नै थियो । नेपाली जनताले काँग्रेस छोडेर कम्युनिष्ट नामको पार्टीको समर्थन गर्दैनथे ।

गर्नु पर्दै पर्दैनथ्यो । पानीको तीर्खा तेलले मेट्दैन । पानीको तीर्खा मेट्न पानी नै चाहिन्छ । नेपाली मतदाताहरुले कम्युनिष्ट दर्शन सिद्धान्त धेरैथोरै बुझरै नेकपालाई समर्थन गरेका हुन् भने नेपाली मानसिकतामा साम्यवादी तिर्खा रहेछ भन्नुपर्ने हुन्छ । अर्थात समृद्धिको नेपाली तीर्खा साम्यवादी बाटोबाट मात्र मेटिन सक्छ । तर दुर्भाग्यको कुरा के देखिन्छ भने नेपालीहरुले खोजे चाहेजस्तो कम्युनिष्ट पार्टी नेपालले सुमर्न पाउने सम्भावन सून्य छ ।

एमाले माके एकीकृत भएर बनेको पार्टी कम्युनिष्टको नाउँमा नेवार समुदायको साउने नाचको एउटा पात्र “लाखे” जस्तो मात्र हो । लाखे नाचमा भयानक मुकुण्डो भिरेर मानिस नक्कली राक्षस बन्छ । नाच्छ, उफ्रन्छ, ताण्डव देखाउँछ तर वास्तवमा ऊ मान्छे नै हुन्छ । उसको नृत्य, हाउभाउ र भेषभूषा सबै नक्कली हुन्छ । अल्पकालिक हुन्छ । नेकपा (संसदवादी !) ले नोपाली जनताको तिर्खा मेटाउने हैसियत किमार्थ राख्दैन ।

संसद बाहिर रहेका कम्युनिष्टहरु पनि जनतासँग जोडिने सम्भावना देखिदैन । जनतासँग एकाकार भएर चल्न नसक्ने अभियानले जनसमर्थन प्राप्त गर्न सक्तैन । जनताको समर्थन र सहयोग विना कुनै शक्तिले पनि राजनीतिक परिवर्तनको अभिष्ट प्राप्त गर्न सक्दैन । डर, धम्की, बम, वारुदले होइन जनताको साथ, समर्थन र आकर्षणलाई शक्ति मान्ने विचार दृष्टिकोणले मात्र समाज रुपान्तरणको नेतृत्व गर्न सक्तछ ।

जनसरोकारका विषयले जनतालाई अभियानसँग जोड्छ । जनताको आवश्यकता होइन सरकारको कामको प्रतिक्रियामा जीविका गर्ने पार्टीले कहिलयै प्रगति गर्देन । उनीहरुले समातेको बाटोले पेरुको “टुपाक अमारु” नियतिमा नपु¥याउला भन्न सकिन्न । त्यसैले कम्युनिज्मको रसपान गर्ने नेपाली धोको सदाकाल अधुरै पो रहने हो कि भन्ने चिन्ता गर्नुपर्ने भएको छ ।