सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ असार । बेनी नगरपालिका ६ मा महिलालाई सामाजिक र आयमुलक कार्यमा सक्रिय बनाउन प्राथमिकता दिइएको छ । जनप्रतिनिधिहरुले आमा समूहलाई परिचालन गरेर सामाजिक रुपान्तरण, विकृति नियन्त्रणको अभियानका साथै आयआर्जन वृद्धिका लागि सीप विकासको कार्यक्रमलाई जोड दिएका हुन् ।
सबै बस्ती र टोलमा गठन भएका आमा समूहलाई संस्थागत गरी उनिहरुलाई क्षमता विकाससंगै सीपमुलक तालीम दिएर आयआर्जनको गतिबिधिमा संलग्न बनाउन पहिलो चरणमा सामुदायिक भवन निर्माणको काम अघि बढाइएको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो ।
यस वर्ष डम्मरा, चुक्रेनी, भगवती टोल र छापमा आमा समूहले चार वटा सामुदायिक भवन निर्माण गरेका छन् । कोठेसाँघु, एकपाटे शिवालय, जामुनाखर्क, एक्लेपिपल, बाँसबोट, अर्थुङगे देउराली, राधाकृष्ण आमा समूहको भवन निर्माणका लागि वडाको प्रस्तावमा नगरपालिकाले चालु आर्थिक वर्षमा पन्ध्र लाख पचास हजार रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।
यस वर्ष सुरु भएको सामुदायिक भवन निर्माण योजनालाई आगामी वर्ष पूर्णता दिइने वडा अध्यक्ष बानियाँले बताउनुभयो । अनुदानको दोब्बर बढी सहयोग र श्रमदान जुटाएर आमा समूहले भवन निर्माण गरेका छन् । नगरपालिकाको दुई लाख र तत्कालीन सांसद विकास कोषको एक लाख रुपैयाँ अनुदान प्राप्त डाँडाबारी आमा समूहको भवन निर्माणका लागि स्थानीय स्तरबाट थप चार लाख जुटाइएको अध्यक्ष कमलदेवी खत्रीले बताउनुभयो ।
सामुदायिक भवनमा सामाजिक समस्या तथा विकृति नियन्त्रण, विकास निर्माण, सारक्षता, बचत आदीको विषयमा छलफल, क्षमता तथा नेतृत्व विकाससंगै विभिन्न सीपमुलक तालीम सञ्चालन गर्ने योजना रहेको छ । सिलाई कटाई, ढाकाका कपडा, स्विटर, अल्लो कपडा बुनाई जस्ता सामुहिक व्यवसायमा महिलाहरुलाई संलग्न गराई आयमुलक कार्यमा संलग्न बनाउँने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।
यसैबीच बेनी नगरपालिका छ मा चालु आर्थिक वर्षमा बिनियोजन भएको एक करोड रुपैयाँ भन्दा बढी बजेटका अधिकांश योजनाहरु सम्पन्न भएका छन् । सडक निर्माण, स्तरोन्नती, विद्यालयमा पूर्वाधार निर्माण, पैदलमार्ग निर्माण, पहिलो रोकथाम लगायतका योजना उपभोक्ता समिति मार्फत निर्माण गरिएको वडा सदस्य गणेशबहादुर शाहीले बताउनुभयो ।
सबैभन्दा बढी पाँच लाख रुपैयाँ बिनियोजन भएको देउराली बागेश्वर सडक योजना अन्तरगत एक किलोमिटर भन्दा बढी नयाँ ट्याक खोल्ने र पुरानो सडक स्तारोन्नती गरिएको छ । सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन र गुणस्तर सुधारका लागि कुनै पनी शूल्क नदिने व्यवस्था मिलाएको वडाले जामुनाखर्क मावी, विद्यामन्दीर, थाकनपोखरी र बागेश्वरी प्रावीको भौतीक पूर्वाधारमा यस वर्ष दश लाख लगानी गरेको छ ।
सामाजिक विकास तर्फ २३, पूर्वाधारतर्फ १३, आर्थिक विकासका दुई, वातावरण तथा विपद् ब्यवस्थापनतर्फ एक, संस्थागत विकास तथा सेवा प्रवाह सम्बन्धि ९ वटा योजना सञ्चालन भएको थियो । आगामी आर्थिक वर्षमा खानेपानीलाई व्यवस्थित बनाएर घरघरमा धारा जडान गर्ने र टुक्रे भन्दा उपलब्धि देखिने प्रभावकारी योजना सञ्चालन गर्ने वडा अध्यक्ष बानियाँले बताउनुभयो ।