चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
जेठ २९ गते ।
”आगो निभेको छैन !”
घर कटेरो वा जङ्गलमा लागेको आगोको कुरा होइन । सुपरिचित पत्रकार हरिहर विरहीको संस्मरण–कृतिको नाम हो यो । पुस्तक प्रकाशित भएको पूरै एक वर्ष सात महिना नाघिसकेछ ! मेरो हातमा परेको पनि एक वर्षभन्दा बढी नै भयो होला ।
“पढ्नलायक संस्मरण रहेछ यो” । पुस्तक थमाउँदै मेरो छोराले गरेको टिप्पणी सम्झन्छु । त्यतिखेरै लगातार भन्न मिल्नेगरी विजयकुमार पाण्डे, रुक्माङ्गद कटवाल, किशोर नेपाल, रमेशनाथ पाण्डे, छत्रमान गुरुङहरुका यस्तै प्रकृतिका चर्चित पुस्तकहरु एकपछि अर्को उनैले उपलब्ध गराएका थिए ।
नयाँ पुस्तक बजारमा आएपछि आफूले पढिसकेर मलाई दिने गर्छन । अघिल्ला पुस्तकहरुमध्ये रमेशनाथ पाण्डेको पुस्तक सबैभन्दा जानकारीमूलक रहेको उनको टिप्पणीसँग म पनि सहमत भएको थिएँ । हरिहर विरहीको पुस्तकलाई पनि “उपयोगी र पठनीय छ” भनेको हुनाले स्वभावतः पुस्तक हेरिहाल्ने हुटहुटी त थियो ।
तर त्यतिखेर मेरो अध्ययन अन्तै अल्झिएको थियो । “मृत्यु संस्कार विमर्श” नामको वृस्तित लेखोट तयार गर्ने सन्दर्भमा संस्कृत साहित्यहरुसँग पौंठेजोरी खेल्नु पर्ने परिस्थिति सिर्जना भएको थियो ।
संस्कृत भाषाको आधारभूत ज्ञानविहिन मान्छेका लागि वेद, उपनिषिद, ब्राह्मण, सूत्र, स्मृतिहरु छिचोल्नु तौल नमिलेको “बक्सिङ् बाउट” मा सहभागि बन्नुजस्तै कठिन हुने नै भो । अनुवादहरु, शब्दकोशहरु र भाष्यहरुको जोरजाम, सन्दर्भ विषयहरुको खोजविन र सान्दर्भिक विषयहरुको टिपोटमै पूरापुर दुई वर्ष बित्यो । त्यसैले हात परेर पनि विरहीजीको पुस्तक खोल्ने मौका नै जुरेन ।
मेरो स्वघोषित अभियान समाप्त भएको साता दिन बित्न लागेछ । २\४ दिन यता अखवार बाहेक अरु पढलेख गरिएन । मजैले आराम फर्माइयो । पछिल्लो हप्ता पुस्तकको एउटा पानो पनि नफर्काइकन बिताइएछ । पोखरा बसाई सरे यता यति धेरै दिन पढलेख विना बसेको सायद यो दोश्रो पटक होला ।
गतवर्ष बानियाँ बन्धु समाजको म्याग्दी भेलामा सामेल भएर फर्कदा वेनीबाट सङ्क्रामक भाइरल बोकेर आइएछ । त्यसले झण्डै दुई हप्ता लडाएको थियो । यसपटक भने स्वेच्छाले आराम फर्माइयो । अल्छी विद्यार्थीले झै पुस्तक खोल्नु नपर्दा हाइसञ्चोको अनुभूति गरियो भन्दा फरक नपर्ला ! तर हिजोको दिन भने निकै पट्यारलाग्दो लाग्यो ।
अखबारहरुका अक्षरहरुले आँखा अघाए पनि मनको धित मरेन । संयोगबस, दिनभरिजस्तै नेटले पनि काम गरेन । नेटले काम गरिदिएका भए धेरै दिनदेखि पेण्डिङ्गमा रहेको “पुलहस्मृतिको खोजी अभियान” मा लागिन्थ्यो होला । एक खालको छटपटीमै दिन बित्यो । “धेरै भए चिनी पनि तीतो लाग्छ” भनेजस्तो मेरा लागि आराम पनि हराम बनिदियो ।
आज भने सबेरै विरहीको पुस्तकको सम्झना आयो । कोठाभर अव्यवस्थित रुपमा छरिएको पुस्तकको ढाँडबाट ढुँढलेर विरहीको किताब निकालेँ । प्रदिप गिरीको भूमिका पढेँ । त्यति धेरै सुरुचिपूर्ण लागेन । उनको कलमले कञ्जुस्याई गरेजस्तो लाग्यो । पुस्तकभित्र छिरेर “अग्निपथमा पहिलो कदम” भन्ने शिर्षकको पहिलो संस्मरण पढिसकेर भान्सातिर छिरेँ ।
विरहीजीको संस्मरण वि.सं. २०२६ सालको फागुन महिनाबाट सुरु हुँदो रहेछ र प्रारम्भमै जनकपुरको प्रसिद्ध जानकी मन्दिरको मूलगेट अगाडि स्थापना गरिएको महेन्द्रको शालिकमा आफ्ना साथी केशव कोइरालासँग मिलेर प्रजातन्त्र दिवसको अघिल्लो रात “कालो पोतेको” घटनाको सविस्तार टिपोट रहेछ ।
राजाको शालिकमा कालो पोत्ने कोइराला र शहिद केशव कोइराला भने एउटै व्यक्ति होइन रहेछन् । यी कोइराला ओखलढुङ्गे रहेछन् । बरु त्यही घटनाको अभियोगमा काँग्रेसका नेता तथा पञ्चायती शहीद केशव कोइरालालाई राजकाज अपराधको झुट्टा मुद्दा लगाएर भद्रगोल जेलमा कोचिएको रहेछ ।
आफ्नो केटौले उपद्रोको कारणबाट नेता केशव कोइरालाई कैद काट्नुपर्ने बनाएकोे घटनाबाट उत्पन्न पश्चाताप र अपराधबोधले विरहीजीलाई निकै पोलेछ । पछि महेन्द्रको जन्मोत्सवमा विरोधजुलुस निकाले वापत आफू पनि भद्रगोलमै पुगेपछि उनलाई जेल पु¥याउने नादानी आफूहरुले गरे÷गराएको हो भनेर सुनाउन पाउँदा बोझ हलुङ्गो भएछ । संस्मरणको पहिलो थुङ्गो यतिमै टुङ्गिदो रहेछ ।
विरहीजीको पहिलो लेखोटले उनले भन्दा ठिक बीस वर्षपछि दुरुस्त उस्तै कार्यमा आफू संलग्न भएको घटनाको स्मरण गरायो । विरहीजीको चेष्टा नितान्त निजी भावनाको परिणाम थियो । केशव कोइराल, महन्त ठाकुर र विरही समेतको तीनजनाको टोलीबाहेक चौथो मानिस राजाको शालिकमा कालो पोत्ने कार्यमा सामेल रहेनछन् । महन्त ठाकुर नेविसंका विद्यार्थी्नेता भए पनि त्यो घटनामा कसैको संस्थागत संलग्नतामा भएको रहेनछ ।
राजाको शालिकमा कालो पोत्ने कार्यक्रम छ भन्ने कुरा कुनै राजनीतिक संघ, संस्था वा नेता कार्यकर्ताहरुको जानकारीमा रहेनछ । विरहीजी र उनका साथी केशवको लहडको परिणाम रहेछ । तर म संलग्न भएको “कालो पोत्ने अभियान” भने तत्कालीन माले सम्बद्ध “प्रराएमञ्च” नामको खुला संगठनको निर्देशन र आयोजनामा भएको देशव्यापी कार्यक्रम थियो ।
वि.सं. २०४५ सालमा तत्कालीन मालेले वद्रीप्रसाद खतिवडाको नेतृत्वमा पञ्चायती शासनविरुद्ध खुला आन्दोलन सञ्चालनको निमित्त प्रराएमञ्च (प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च) नामको केन्द्रिय संगठन बनाएको थियो ।
म्याग्दीमा पनि “अमित” नामले पार्टीभित्र चिनिने तत्कालीन माले जिल्ला कमिटीका सचिव लम्जुङे महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा एउटा सानो कमिटी बनेको थियो । अर्धभूमिगत ढाँचाको त्यो कमिटीले मूलतः भूमिगत शैलीमा जिल्लास्तरीय संघर्षका कार्यक्रमहरु सञ्चालन गर्दथ्यो ।
त्यही संगठनले २०४६ सालको चैत्र २५ गतेको राती जिल्लाका सबै गाउपञ्चायत भवनमा रहेका साइनबोर्डमा कालो पोत्ने र कालोझण्डा गाड्ने कार्यक्रम राखेको थियो । मेरो जिम्मामा पुलाचौर र अर्थुङ्गेका गाउँ पञ्चायत भवनहरु परेका थिए ।
वेनी विहानै झरेको भए पनि दिन घर्कँदासम्म योजना कार्यान्वयनको तारतम्य मिल्न सकेको थिएन ।
तिनताका व्यवस्थाविरोधी आन्दोलनमा सघाउने मानिस वेनीमा कोही थिएन । यतिखेर राजनीतिक दलहरुको नेतृत्वमा रहेका नेता कार्यकर्ताहरु कित केटा केटी नै थिए कि त प्रतिकार समितिमा बसेर आन्दोलन दवाउन प्रशासनलाई सघाउने काम गर्थे । अथवा कोही जागिर, वन्द व्यवसायमै निमग्न थिए ।
दिन घर्कर्दै गएपछि पनि काम गर्न अघिसर्ने मानिस फेला परेन । ज्यालामा त्यस्तो काम गराउँदा पोल खुल्ने डर हुन्थ्यो । पञ्चायतविरुद्धको आन्दोलन सहरहरुतिर चर्कर्दै गएको भए पनि गाउँघरहरुमा संक्रमित भैसकेको थिएन । म्याग्दीको गाउँठाउँहरु तिर आन्दोलन उठ्न थालिसक्दा पनि वेनीबजार भने मस्त निद्रामा थियो ।
ठूलाबडा टाँठाबाठाहरु सबै पञ्चायतकै पक्षमा थिए । काठमाडौंबाहिरको मात्र परिस्थिति मूल्याङ्कन गर्दा तत्काल व्यवस्थाविरोधी आन्दोलन सफल भैहाल्छ भन्न सकिने अवस्था थिएन । त्यसैले फुकी फुकी कदम चलाउनुपर्ने अवस्था थियो । सिङ्गो दिन बित्यो, घाम अस्ताए, काम बन्ने सम्भावना सून्य जस्तै थियो ।
अन्तिम प्रयत्नस्वरुप भगवान श्रेष्ठको पसलमा गएँ । उनकहाँ सधैंजस्तो आउजाउ हुनेगथ्र्यो । त्यसैले कताबाट किन भनेर सोधिएन । दिन ढल्की सकेको हुनाले ग्राहकहरु पातलिदै गएका थिए । भगवानजीको नगिचै गएर निकै धिमा स्वरमा “एक मिटर कालो कपडा” मागेँ । “शनीलाई दान गर्ने हो कि कसो ?” साहुजीको अनुहारमा व्यङ्ग्यात्मक भाव प्रस्फुटन भयो ।
मैले चोर बिरालोले झै यताउता चारैतिर चिहाएँ । परिवेश सुरक्षित जस्तो लागेपछि वास्तविकताको जानकारी गराएँ । वास्तवमा त्यस दिनको कार्यक्रममा भगवान साहुलाई प्रयोग गर्न सकिन्छ भनेर मन छाम्न गएको थिएँ । वेनीबजारको नेवार समुदायमा मेजरमान र भगवान श्रेष्ठलाई उन्ताका सु¥याईका पर्याय नै मानिन्थ्यो ।
प्रशासनको आँखा छलेर जिल्ला प्रशासन कार्यालयको छेउमै रहेको गाउँ पञ्चायत भवनमा झण्डा गाड्नु थियो । वेनीमा अरु कसैले “हिम्मत नर्गे भो, तपाईले यति काम गर्नुप¥यो” भन्ने मेरो आसय प्रकट हुँदा नहुँदै भगवानजी मेरा लागि साँच्चिकै भगवानको रुपमा अवतरित भैदिए । त्यो काम देवताबाट पनि गराउन नसकिने ठहरिसकेको थियो ।
अरु कोही फेला नपरे आफैले पनि त्यति काम गर्नै पथ्र्यो । भगवानजी काम गर्न उत्साहित भैदिएपछि बाँकी योजना सुनाए र एउटा मङ्गलाघाटतिरबाट आउने बाटो ढुक्ने र अर्को बजारतिरबाट आउँजाउ गर्नेहरुको चियो गर्नका लागि कमसेकम अरु दुईजना साथीहरु खोज्नुपर्र्ने सल्लाह दिएँ । र कार्य सम्पन्न गर्ने ससमयको जानकारी गराएँ ।
समयको तालमेल मिलेन भने काम सम्पन्न हुन कठिन हुन सक्थ्यो । किनकि राजधानीतिर आन्दोलन चर्कदै गएको हुनाले देशभरकै पुलिस प्रशासन सजग भएको थियो । रातविरात डाँडाका टुप्पातिर राँके जुलुस, नारावाजी र शंखनाद गर्ने कार्यक्रमहरुको निरन्तरताले पनि पुलिसप्रशासनलाई चनाखो रहनुपर्ने बनाएको थियो ।
राँके जुलुस बजारमै पो आउने हो कि भनेर सधै अलर्ट रहुनपर्ने भएको थियो । “स्यालको शिकार गर्न, बाघ मार्ने सर्जाम जुटाउनु” भनेजस्तो अर्थुङ्गे गाउँ पञ्चायतको साइनबोर्ड रङ्गाउने उद्देश्य पूरा गर्नका लागि विशेष कार्यक्रम बनाइएको थियो । त्यसका लागि वेनीमा रहेको पुलिस टुकडीलाई भ्रमित बनाउनु आवश्यक थियो ।
त्यसैले चैत्र २५ गतेको रातको ठीक ११ बजे मल्लाजको भूर्तुलाको डिलमा राँके जुलुस, नाराबाजी र शंखनाद, त्यसको २० मिनेछपछि वेनी माथिको गुफाको डिलमा र त्यसको २० मिनेट पछि खबराको थाप्लो, आजकाल लभ्ली हिल नामाकरण गरिएको डिलमा त्यस्तै प्रदर्शन गर्ने व्यवस्था मिलाइएको थियो र त्यही ४० मिनेटभित्र अर्थात मल्लाजको राँको निभ्नु र लभ्लीहिलमा बल्नुपूर्वकोे समयभित्र वेनीस्थित गाउँ पञ्चायत भवनको साइनबोर्डमा कालो पोतिसक्नुपथ्र्यो । पुलिस “यता जाने कि उता जाने” भनेर रनभूल परेको मौकामा झण्डा गाड्ने र साइनबोर्डमा कालो पोत्ने काम सक्नुपथ्र्यो ।
यो कथा मैले अर्कों कुनै प्रसंगमा लेखिसकेको छुजस्तो लाग्छ । यसपटक विरहीजीको लेखोटले पुनस्मरण गराएको मात्र हो । तर पनि यतिखेर राजनीतिमा सरोकारै नराखेजस्तो देखिने भगवान श्रेष्ठले वेनीको गाउँ पञ्चायत भवन र मङ्गलाघाट बसोबास भएका रवि बानियाँले पुलाचौरको गाउँ पञ्चायत भवनको साइनबोर्ड पोत्ने काम सम्पन्न गरेर त्यतिखेरको आन्दोलनलाई ठूलो सहयोग पु¥याएका थिए भनेको सुन्दा धेरैलाई पत्याउन गाह्रो पर्छ होला !