दरबाङमा एकिकृत घुम्ती शिवीरमा सेवाग्राहीको भिड

सन्तोष गौतम/ विकल्प
दरवाङ, १८ जेठ ।

IMG_3536 मालिका गाउँपालिकाको केन्द्र दरबाङमा शुक्रबारदेखि एकिकृत घुम्ती शिवीर सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजना, मालिका र धौलागिरि गाउँपालिको समन्वयमा सञ्चालन भएको दुई दिने शिवीरमा सदरमुकाम स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु, प्रहरी नायब उपरिक्षक बीरबहादुर बुढा मगर, प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले संयुक्त रुपमा नागरिकताको प्रमाणपत्र प्रदान गरि शिवीरको औपचारिक सुरुवात गर्नुभएको थियो ।

शिविरमा नागरिकताको प्रमाणपत्र लिनेहरुको संख्या बढी देखिएको छ । मालिका गाउँपालिका–६ दरबाङकी सोनिया बुढाले आफ्नो आमा जालमायाँ बुढाको नामबाट नागरिकता लिनुभएको छ ।

पहिलो दिन १ सय भन्दा बढीले नागरिकताको सेवा लिएका छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त शिविरमा नागरिकता वितरण संगै जिल्ला स्थित सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुलाई दरबाङबाटै उपलब्ध गराईएको छ ।

बेनीबाट लिनुपर्ने सेवा दरबाङबाटै उपलब्ध गराउँदा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई राहत मिलेको र सर्वसाधारणको समय र खर्चको बचत भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

शिवीरको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधी वितरण र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट समेत आयुर्वेदीक उपचार सेवा प्रदान गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेका छन् ।

त्यस्तै जिल्ला भुःसंरक्षण, बन, कृषि, पशु सेवा, नापी, विद्युत, खानेपानी तथा सरसफाई सब डिभिजन, जिल्ला प्राविधिक, घरेलु तथा साना उद्योग विकास समिति, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्वास्थ्य विमा बोर्ड लगायतका कार्यालयहरुले आ–आफ्नो सुविधा एवम परामर्श सेवालाई शिविरबाटै प्रदान गरेका छन् ।

उक्त अवसरमा आएका नागरिकहरुलाई जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामुलक भिडियो समते पर्दशनी गरेको
छ ।
ग्रामीण भेगका नागरिकहरुलाई पायक पर्ने ठाउँमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

भौगोलिक रुपमा विकटता रहेको मालिका गाउँपालिकाको सबै वडा र धौलागिरि गाउँपालिकाको वडा नम्बर ५ मल्कबाङ र ६ मराङका नागरिकहरुले समेत उक्त शिविरबाट सेवा लिएका छन् ।

शिविरले एकैदिन स्वास्थ्य उपचार, नागरिकता संगै अन्य बिषयगत कार्यालयहरुको सेवा एवम परामर्श सेवा लिन सहज भएको मराङका पूर्ण गुरुङले बताउनुभयो ।