धौलागिरी गाउँपालिकाको प्रोफाईल तयार

सन्तोष गौतम/ विकल्प
म्याग्दी १८ जेठ ।Dhaulageri Gaupalikaम्याग्दीको धौलागिरी गाउँपालिकाको आर्थिक, सामाजिक, मानविय, भौतिक अवस्था समेटिएको बस्तुगत विवरण (प्रोफाईल) तयार भएको छ ।

पहिलो गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोफाईल तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता शुभारम्भ उद्यमशिल नेपाल प्रालीले विवरणको शुक्रबार प्रस्तुतीकरण गरेको छ ।
गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा परामर्शदाता कम्पनीका समाजशास्त्री केशव ढुङगेल र परामर्शदाता कृष्ण चोम्वाङले बस्तुगत विवरण प्रस्तुत गर्नुभएको थियो । घरधुरीको समेत नम्बरीङ गरिएको प्रोफाईलमा विपन्नताको अवस्थालाई पनी समेटिएको छ ।IMG_3448

विवरण अनुसार दश हजार ३६.६६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलीएको, ७ वटा वडा रहेको धौलागिरीमा १३ जातका तिन हजार १२९ घरधुरीको बसोबास रहेको छ । मगर समुदायको बाहूल्य बसोबास रहेको धौलागिरी गाउँपालिकाका कृषिमा आधारीत ५३ प्रतिशत जनसंख्याको आर्थिक क्षेत्रमा १७ प्रतिशत र बैदेशिक रोजगारीमा संलग्न १७ प्रतिशतको ६१ प्रतिशत योगदान रहेको छ ।

एक हजार ७०७ जना बैदेशिक रोजगारमा रहेका विवरणमा उल्लेख छ । गाउँपालिकामा एक हजार २७८ घरधुरी गरिबको रेखामुनी छन् । प्रोफाईल तयार पार्न चार लाख पचास हजार रुपैयामा सम्झौता भएको थियो । १२३ वटा सूचकमा आधारीत विवरण संलग्न गरिएको छ ।

प्रस्तुत विवरणमा फरक परेका तथ्याङ्क र तत्थ्यहरुलाई सहभागीको सुझाव अनुसार परिमार्जन गरेर केही दिनमै गाउँपालीकालाई प्रोफाईल उपलब्ध गराउने परामर्शदाता ढुङ्गेलले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले वर्तमान अवस्था, आवश्यकता, समस्या पहिचान गरेर अघि बढ्न बस्तुगत विवरण तयार भएपछि सजिलो हुने बताउनुभयो ।
प्रोफाईललाई आधार मानेर योजना, निती र बजेट तर्जुमा गरिने अध्यक्ष पुनले बताउनुभयो । उपाध्यक्ष रेशम छन्त्यालले प्रोफाईललाई गाउँपालीकाको मार्गदर्शकको रुपमा लिएर अघि बढ्ने बताउनुभयो । बस्तु अवस्थाको बारेमा जानकारी भएपछि अलमल र अन्यौलता हटेर काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले प्रोफाईलको तथ्याङ्कलाई विश्लेषण गरेर योजना तथा कार्यक्रम तय गरिने बताउनुभयो । प्रोफाईलमा गाउँपालीकाका सबै घरधुरीको नम्बरीङ गरिएको र विपन्नताको अवस्था पहिचान भएको बताउनुभयो ।

सो कार्यक्रममा गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक बुद्धी लिम्बुले धौलागिरी गाउँपालिकाको लुलाङ, मुना, मुदी, मराङ, मल्कवाङ र ताकममा कोष मार्फत एक करोड ७२ लाख ९९ हजार ९५५ रुपैया परिचलन भएको जानकारी दिनुभएको थियो ।