ज्यानकै बाजी थापेर बनाए गुर्जालीले तातोपानी कुण्ड (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
गुर्जा,जेठ १० गते । DSC_0952अग्ला पहाडको यात्रा अनि अनकन्टार भिर । साघुरो बाटो । ज्यानकै बाजि थापेर मात्र पुग्न सकिने गुर्जा खोलाको किनार जहाँ छ तातोपानीको कुण्ड । गुर्जाली शाहस र हिम्मतले मात्र सम्भव भयो तातोपानीको संरक्षण ।

गुर्जाबाट करिव पाँच घण्टाको पैदल यात्रा पछि मात्र यहाँ पुग्न सकिन्छ । म्याग्दीको गुर्जा हिमालको फेदीमा रहेको तातोपानीको मुहानलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने उद्देश्यले गुर्जालीहरुले तातोपानीको मुहानलाई व्यवस्थित गरि पोखरी निर्माण गरेका छन् ।

धौलागिरि गाउँपालिकाको १ गुर्जा र ४ नम्बर वडा मुदीको विच खरिबासमा पर्ने प्राकृतिक तातोपानीको मुहानलाई व्यवस्थित बनाई पर्यटक आकर्षीत गर्न सोच गुर्जालीको छ । ज्यानकै बाजी थापेर तातोपानीको मुहानलाई व्यवस्थित गर्ने काम ग¥यो तातोपानी कुण्ड तथा पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम छन्त्यालले भन्नुभयो,‘तातोपानीलाई संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य छ ।’ भौगोलिक रुपमा कठिन र दुर्गम भएपनि तोकिएकै समयमा योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।

गुर्जा गाउँबाट सुरु भई गुर्जा हिमालको फेदी भएर मुदी सम्म विकास गरिएको नयाँ पदमार्गका पदयात्रीहरुलाई तातोपानीमा स्नान गराई थकाई मेटाउने उद्देश्यले तातोपानीको मुहानलाई व्यवस्थित गरिएको गुर्जाका स्थानीय गुनराम छन्त्यालले बताउनुभयो । पदयात्रामा निस्केका आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई तातोपानी कुण्डले आनन्द दिने र पदयात्रालाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

धौलागिरी गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयहरुको श्रमदानबाट प्राकृतिक रुपमा निस्कने तातोपानीलाई संकलन गरि स्नानका लागि पोखरी बनाइएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । गुर्जा र मुदीका स्थानीयका साथै पदयात्रामा निस्केका पदयात्रीहरुले तातोपानी कुण्डमा स्नान गरि आनन्द लिन सक्ने उहाँले बताउनुभयो ।

करिब दश मिटर लम्बाई, पाँच मिटर चौडाई र एक मिटर गहिराईको पक्की पोखरी बनाइएको छ । पोखरीमा एक पटकमा कम्तीमा २५ जनासम्मले स्नान गर्न सक्ने क्षमता रहेको छ । स्नान तथा भ्रमणका लागि पुग्ने सर्वसाधारण र पर्यटकको सुबिधाका लागि दुई वटा सार्वजनिक शौचालय समेत निर्माण गरिएको छ । तातोपानी कुण्डमा पुग्नका लागि कठिन भिरमा पदमार्गको पनि निमार्ण गरिएको छ ।

अस्थाई टहरा हालेर बसोबास गर्ने व्यवस्थाका लागि भिरालो पाखोलाई सम्माइएको छ । गुर्जा गाउँदेखि मुहानसम्म जाने ब्यवस्थित पदमार्ग निर्माण भएको छ । गाउँपालिकाको ११ लाख रुपियाँ अनुदान र स्थानीयबासीको तिन लाख रुपियाँ भन्दा बढीको श्रमदानमा पूर्वाधार निर्माण भएको धौलागिरि गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

गुर्जा र मुदीदेखि ५ घण्टा पैदल यात्रा गरेपछि तातोपानीको मुहान रहेको ठाउँमा पुग्न सकिन्छ । भौगोलिक बिकटता, पूर्वाधारको कमी र प्रचारप्रसारको अभावमा ओझेलमा परेको तातोपानी कुण्डलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

सो तातोपानीलाई स्थानीयबासीले अस्थाई पोखरीमा संकलन गरेर स्नान गर्दै आएका थिए । गुर्जा र मुदीका स्थानीयहरु तातोपानी स्नानका लागि जाने गरेका छन् । तातोपानीमा स्नान गरेपछि हाडजोर्नी दुख्ने, ग्यास्ट्रीक, चोटपटक लागेको जस्ता स्वास्थ्य समस्या निको हुने गरेको तातोपानी तथा पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष छन्त्यालले बताउनुभयो । मुदी गाउँ देखि तातोपानीमा पुग्नका लागि जोखिम मोलेर भिरको बाटो यात्रा गर्नुपर्ने भएकाले व्यवस्थित पदमार्ग बनाउन सकेमा आन्तरिक एवम् वाह्य पर्यटकलाई आकर्षीत गर्न सकिने उहाँले बताउनुभयो ।