चन्द्रप्रकाश बानियाँ/
विक्रम संवतको दशौं महिनाको पहिलो दिनलाई नेपालको पहाडतिर “माघे संक्रान्ति” र मधेस तराईतिर “माघी” पर्वको रुपमा मनाउने चलन रहेको छ । माधेसंक्रान्ति होस् अथवा माघी दुवै शब्दहरु माघ महिनासँग सम्बन्धित छन् । यो पर्व विक्रम संवतसँग जोडिएको छ र त्यो सम्वत प्रचलनमा रहेको मुुलुक नेपाल मात्र हो । हिन्दू तथा गैरहिन्दू दुबै धार्मिक समुदायले समानरुपमा मान्ने चलन रहेकोभए तापनि गैर खस÷गैरहिन्दू समुदाय, खासगरेर, थारु, छन्त्याल र मगर समुदायको साझा र मौलिक चाडको रुपमा यो पर्व रहेको छ । पुरानो मगरात क्षेत्रमा रहँदै बस्दै आएको खस समुदायको पनि यो पर्वसँग समान नाता गाँसिएको देखिन्छ । मगरात भन्नाले पूर्वमा त्रिशूली देखि पश्चिममा कर्णाली नदीबीचको पहाडी भूभाग भनेर चिनिन्छ । खस समुदायले यस क्षेत्रमा प्रवेश गरेपछि लाङ्घाली (मगर) समुदायमा प्रचलित रहेका देवता “भूमि र वराह” मान्न थालेजस्तै माघी अर्थात माघेसंक्रान्ति पनि मान्न थालेको हुनपर्छ भनेर अनुमान गर्न सकिन्छ ।
मगरात क्षेत्र अन्तर्गत बसोवास गर्ने खस समुदायमा माघेसंक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने चलन रहेको भए पनि त्यो पर्व त्यस समुदायको मौलिक भने होइन । आजकाल वैदिक परम्पराको “मकर संक्रान्ति”लाई नै माघेसंक्रान्तिको रुपमा मान्ने गरिएको हो भन्ने भनाईले मान्यता पाएको देखिन्छ । वास्तवमा खस समुदायले वैदिक संस्कृति अवलम्बन गरेको पनि निकै पछि अर्थात विक्रमको बाह्रौं शताब्दीपछि मात्रै हो । त्यस क्षेत्रमा यतिबेला रहेको बस्तीसघनतालाई दृष्टिगत गर्दा निकै अगाडि देखि नै खस समुदायको उपस्थिति मगरात क्षेत्रमा थियो भन्नुपर्ने हुन्छ । त्यसको अर्थ मकर संक्रान्तिको महत्व र मान्यतालाई स्वीकार्नुभन्दा अगाडि देखिनै खस समुदायले माघे संक्रान्ति मान्न थालेको हुनुपर्छ भनेर अनुमान गर्नुपर्ने हुन्छ ।
भविष्य पुराणमा भनिएको छ ः
“संक्रान्त्या पक्ष्योन्तरे ग्रहणे चन्द्रसूर्ययोः ।
गंगास्नानो नरःकामाद् ब्रह्मणःसदनंव्रजेत् ।।”
अर्थात संक्रान्ति, ग्रहण, औंसी र पूर्णिमाजस्ता पुण्यपर्वहरुमा गंगास्नान गर्नु महापुण्यदायक मानिन्छ । त्यस कर्मबाट ब्रह्मलोक प्राप्ति हुन्छ । हो, त्यही धार्मिक सांस्कृतिक मान्यताबाट वैदिक समाजमा गंगास्नान गर्ने परम्परा सुरु भएको हो । मकरसंक्रान्तिलाई हिन्दू धर्मसंस्कारले निकै महत्व दिएको देखिन्छ । सक्नेहरुले काशीप्रयाग वा समुद्र (सिन्ध)मा स्नान गर्ने, नसक्नेहरुले पनि पायकपर्ने गंगा वा साना नदी तथा तलाउहरुमा डुबुल्की लगाएर पुण्यार्जन गर्ने परम्परा रहेको हो ।
खस समाजले माघे संक्रान्तिलाई नै मकर संक्रान्ति हो भनेर मान्ने गरेको भए पनि मकर संक्रान्ति र माघे संक्रान्ति एउटै होइनन । नेपाली समाजमा “संक्रान्ति” भन्नाले महिनाको पहिलो दिन भनेर बुझ्ने गरिन्छ । महिनाको पहिलो दिनलाई संक्रान्ति मानिने पररम्परा विक्रम संवतको हो । वैदिक परम्परामा भने संक्रान्तिको शाब्दिक व्युत्पत्ति महिनाको पहिलो दिनबाट भएको मानिदैन ।
वैदिक मान्यतानुसार हरेक महिना सूर्यले एउटा राशीबाट अर्को राशीमा संक्रमण गर्दछ र त्यही प्रक्रियालाई संक्रान्ति भनिन्छ । राशीहरुका संख्या १२ भएको हुनाले एक वर्षमा बाह्रैवटा संक्रान्ति पर्दछन् । चन्द्रमास अनुसार मकर संक्रान्तिमा सूर्य उत्तरायण हुने शुभ मुहुर्त पर्दछ । सूर्यले धनुराशी छोडेर मकर राशीमा पदार्पण गर्ने हुनाले त्यो दिनलाई “मकर संक्रान्ति” नाम दिइएको हो । इस्वी संवतको क्यालेण्डर अनुसार त्यो तिथि जनवरी महिनाको १३÷१४ तारिखमा पर्दछ । यसपवर्ष माघे संक्रान्तिको मुहुर्त जनवरी १५ मा छ । अर्थात मकर संक्रान्तिको भोलिपल्ट माघेसंक्रान्ति परेका छ ।
हिन्दू धर्मग्रन्थहरुमा मकर संक्रान्तिको जति नै महिमा मण्डन गरिएको भए पनि त्यो परम्परा त्यति धेरै पुरानो भने होइन । इसापूर्व १००० तिर लेखिएका उपनिषद, ब्रह्मणजस्ता धार्मिक ग्रन्थहरुमा उत्तरायणको महत्व उल्लेख भए पनि राशीको कतै उल्लेख भएको भेटिदैन । पारस्कर गृहसूत्र, धर्मसूत्र र याज्ञवल्क्यस्मृतिमा समेत नक्षत्रको मात्र उल्लेख गरिएको छ । यिनै तथ्यहरुको आधारमा भारतीय धर्मशास्त्रका प्रकाण्ड विद्वान डा. पाण्डुरङ्ग वामनकाँडेले राशीको आरम्भकाल इसवी सम्वतपूर्वको होइन भनेर मानेका छन् । अर्थात करीव दुईहजार वर्षपूर्वदेखि मात्र मकर संक्रान्तिले वैदिक धर्मसंस्कारमा मान्यता पाउन थालेको हो । बरु माघी वा माघे संक्रान्ति विक्रम संवतको मास गणनासँग सम्बन्धित देखिने हुनाले त्यो पर्व वैदिक संस्कृतिको मकरसंक्रान्तिभन्दा अलिकता जेठो होकि भन्ने अनुमान हुन्छ ।