ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
जेठ ३ गते । प्राकृतिक स्रोतसाधानले भरिपूर्ण,विभिन्न जातजातिका कला संस्कृतिले धनी र धार्मिक पर्यटकीय क्षेत्रको अपार संभावनायुक्त जिल्ला म्याग्दी हो । चाँदी जस्तै टलक्क टल्कीने मनोरम हिमश्रृङखला, जैविक विविधतायुक्त भौगोलिक बनावट, परम्परागत कला र मौलिक संस्कृति म्याग्दीको पर्यटन विकासका आधारहरु हुन् । यसका साथै मुक्तिनाथको प्रवेशद्धार म्याग्दी नै हो । जसबाट म्याग्दीले मुक्तिनाथको भ्रमणमा आउने पर्यटकबाट फाइदा लिन सक्छ । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा २०७५ लाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाउन लागिएको छ । बैशाख ३० गते भ्रमणको औपचारिक घोषणा गरिएको छ । भ्रमण वर्षले जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लामा रहेका ऐतिहासिक र पुरातात्तिक महत्व बोकेका धार्मिकस्थलहरु पनि पर्यटकीय संभावना बोकेका सम्पदाहरु हुन । बेनी नगरपालिका ९ मा रहेको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाम जिल्लाको ठूलो सम्पत्ति हो । गलेश्वर सँगै जिल्लामा अन्य धार्मिक स्थलहरु पनि छन् । जो धार्मिक पर्यटन विकासका आधारहरु हुनसक्छन । तिनको प्रचारप्रसार,संरक्षण र विकास गर्न हामीले सकिरहेका छैनौं । यसका साथै हामी सँग दुइ ठूला नदीहरु पनि छन् जसबाट जलयात्रा पर्यटनको प्रवद्र्धन गर्न सक्छौं ।
कालिगण्डकी नदीलाई धार्मिक महत्वका रुपमा पनि लिन सकिन्छ । हिन्दु धर्मालम्बीहरुका लागि कालीगण्डकी पवित्र नदी हो । तर हामीले यसको महत्वका वारेमा प्रचारप्रसार गर्न सकेका छैनौं ।
हामी सँग अर्को तर्फ रमणिय गाउँहरु छन् । विभिन्न जातजातिका मानिसहरु वसोबास गर्ने र आफ्नै कला संस्कृतिले भरिपूर्ण समुदाय हाम्रा सम्पत्ति हुन । सयौं वर्ष देखिको मौलिक कला सस्कृति पर्यटकहरुका लागि अध्ययन गर्ने विषय हुनसक्छ । गाउँमा भित्रिले पर्यटकहरुको न्यानो स्वागत र सत्कार गर्ने प्रचलन हामीकहाँ छ । यसले पनि पर्यटकहरु खुसी हुँदै आफ्नो देश फर्किएर यहाँको प्रचारप्रसार गर्न सक्छन् । अन्नपूर्ण फेरो र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएका उत्तरी अन्नपूर्ण गाउँपालिकाका राम्चे, शिख, घार, नारच्याङ, भुरुङ तातोपानी लगायतमा रहेका पर्यटकीयस्थल र राउन्ड धौलागिरि पदमार्गको फेरोमा रहेका वस्तीहरु पर्यटकीय आधारहरु हुन । घोडेपानी र पुनहिल यस क्षेत्रकै प्रशिद्ध पर्यटकीय क्षेत्र हुन । जहाँ वर्षेनी हजारौं पर्यटकहरु आउने गर्दछन् ।
यि क्षेत्रको प्रवद्र्धनमा थप लगानीको आवश्यकता छ ।
यसका साथै धौलागिरि आइसफल पदमार्ग, बरङ्जाको झाँक्रेपानी, कुहुँ, झीँ र टोड्के धुरी, मालिका धुरी, लुलाङको जलजलाको लेक, गुर्जाघाट, राखु र बेग क्षेत्रमा समेटिएको रुइसे, प्राकृतिक उपचार स्थलका रुपमा परिचित सिङ्गा तातोपानी कुण्ड, रुप्से झरना, अन्ध गल्छी, खयरभरानी ताल, निस्कोट ताल पर्यटकीय क्षेत्रका रुपमा राम्रो संभावना भएका क्षेत्र हुन । यी क्षेत्रमा प्रचार प्रसार र भौतिक पूर्वाधारको अभाव छ । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाको शिखमा रहेको खोप्रालेकले पर्यटक तान्न थालेको छ तर यहाँ भौतिक पूर्वाधारको अभाव छ ।
त्यस्तै, मुक्तिनाथको प्रवेशद्वारका रुपमा गलेश्वरधामसँगै माहारानीथान, बेनीको शिवालय,भगवती मन्दिर, बुद्धविहार, मालिका धुरी लगायतका क्षेत्रमा धार्मिक पर्यटक बढ्न थाले पनि रावणको जन्म भएको ऐतिहासिक ठाउँ पछै क्षेत्र, प्राचीन इतिहासको मुख्य अवशेषका रुपमा रहेको जगन्नाथ मन्दिर, ऐतिहासिक धार्मिकस्थल कुइनेमङ्गलेको रिखार क्षेत्र, भकिम्लिको स्वर्गाश्रम लगायतका महत्वपूर्ण धार्मिकस्थलको प्रचार–प्रसार नहुँदा सोचेअनुरुप धार्मिक पर्यटन विकास गर्न सकिएको छैन ।
जिल्लाभित्र थुप्रै पर्यटकीय सम्पदा रहे पनि आन्तरिक व्यवस्थापन नहुनु, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासीको निष्क्रिय हुनु, होमस्टे सञ्चालनमा नआउनु, प्रचार–प्रसार नहुनु,सुरक्षा चुनौती रहनु लगायतका कारण म्याग्दीमा पर्यटन विकासका सम्भावना उजागर हुन नसकेको हो । धौलागिरि हिमाल, गुर्जा हिमाललगायत अन्नपूर्ण हिमालको प्रथम आधार शिविरसमेत म्याग्दीमै छ । धौलागिरि आरोहणको ५८ वर्ष भएको छ । आइतवार नै धौलागिरि आरोहण दिवस पनि मनाउन लागिएको छ । धौलागिरि क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहिले सम्म भएका प्रयासहरु अपुग छन् । यस क्षेत्रमा होटल र पदमार्गको विकास आवश्यक छ ।
हिमशृङ्खला र रमणीय स्थलको दृश्यावलोकन र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको म्याग्दीमा पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार र पूर्वाधारको अभावका साथसाथै जनस्तरमा चेतनाको अभाव चुनौतीका रुपमा रहेको छ । कास्की, म्याग्दी, मुस्ताङ्ग, मनाङ्ग र लमजुङ जिल्लाका बिभिन्न गाउँ भएर गरिने अन्नपुर्ण क्षेत्रको पदयात्रा मार्गमा साना ठूला समेत ६ हजार होटलहरु मात्र छैनन प्रत्येक बर्ष विश्वका बिभिन्न राष्ट्रका करिव एक लाख तीस हजार पदयात्रीले अन्नपुर्ण क्षेत्रको पदयात्रा गर्ने भएकोले यसवाट त्यस क्षेत्रको सामाजिक–अर्थिक विकास र गरिवी निवारणमा सहयोग पुगेको छ । पदयात्राको प्रसङगमा धौलागिरी हिमाल तथा त्यस क्षेत्रका पदयात्रा मार्गको प्राकृतिक सौन्दर्यले असंख्य विदेशी पर्यटकहरुको मन छोएको छ । हिमाली दृष्यावलोकन, पर्यापर्यटन, विभिन्न जातजातिको समुदायको बसोवास रहेको स्थलको योजनावद्ध प्रचार प्रसार र प्रवद्र्धन गर्न सकिए पर्यटक आगमनको दृष्टिले ४ नम्बर प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीले फड्को मार्न सक्ने स्पष्ट छ । म्याग्दीको तातोपानी, मुस्ताङ्ग क्षेत्रका पदयात्रा, अन्नपुर्ण क्षेत्रका घान्द्रुक, लान्द्रुक, पुनहिल र अन्नपुर्ण आधार शिविर लगायतमा रहेका पदयात्रा मार्गमा परिवर्तित आवश्यकता अनुसार पुर्वाधार विकास गर्नेतर्फ स्थानीय तह र केन्द्रीय स्तरमा सोचिनु आवश्यक छ, ताकि प्रदेशका यी क्षेत्र विश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा पर्न सकुन् ।उत्तरी भूभागमा माथिल्लो मुस्ताङ्ग हुँदै चीनको कोरला नाकादेखि दक्षिणमा नवलपरासी क्षेत्रवाट भारत जोडने यातायात सञ्जाल भएको प्रदेश ४ को तीव्र आधुनिकीकरणको संभावना रहेकोले पर्यटनका साथै जलविद्युतको विकासलाई उच्च प्राथमिकता दिनु पर्दछ । हिमाल पारीका जिल्ला मुस्ताङ्गका प्राकृतिक सम्पदा र पर्यटकीय स्थल, म्याग्दी जिल्लामा रहेको बिश्वकै सवैभन्दा गहिरो कालीगण्डकीको खोच पर्यटकीय आकर्षणहरु देश भीत्र र बाहिर प्रवद्र्धन गर्नेतर्फ ध्यान दिइएमा आगामी वर्षहरुमा त्यस क्षेत्रमा पर्यटक आगमनमा तीव्र बृद्धि हुन सक्नेछ । कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ्ग र मनाङ्गमा ७६२९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तथा २०४९ सालमा स्थापित अन्नपुर्ण संरक्षण क्षेत्र विविध वनस्पति, वन्यजन्तु र जैविक विविधताले पुर्ण रही आएको छ ।
विश्वकै उत्कृष्ट मानिएका मध्ये अन्नपुर्ण पदमार्गमा गुरुङ्ग, थकाली सहित जनजातिका संस्कृति रहनसहन र भेषभुषाले विदेशी पर्यटकहरुलाई लोभ्याउने गरेको छ । म्याग्दीका प्राय गाउँहरुले ग्रामिण पर्यटनको अपार संभावना वोकेका छन् । यसका लागि होमस्टेको अवधारणालाई विकास गनुपर्दछ । म्याग्दीले यस वर्षलाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेसँगै आइतवारबाट यसको विधिवत रुपमा सुभारम्भ गरिँदै छ ।
भ्
रमण वर्षलाई मात्र घुमफिर र रमाइलोका लागि मात्र नभएर पर्यटकीय क्षेत्रहरुमा लगानीको वर्षका रुपमा पनि लिनुपर्दछ । स्थानीय तह गाउँपालिका, नगरपालिकाले ठोस योजना निर्माण गरि पर्यटन विकासमा योगदानको आवश्यक छ । गाउँपालिकाले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गरि विकास र प्रवद्र्धनका लागि दिर्घकालिन योजना बनाउनु पर्दछ । पर्यटकीय सम्पदाले समृद्ध म्याग्दीका संभाव्य सवै क्षेत्रलाई पर्यटक आगमनका दृष्टिले उत्कृष्ट गन्तव्यका रुपमा विकास र बिस्तार गर्न निजी क्षेत्र र स्थानीय सरकारको राजनीतिक प्रतिवद्धताका साथै ठोस योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक छ । विकास र समृद्धिका लागि पर्यटन एक आधार हो । म्याग्दी भ्रमण वर्षले जिल्लाको समृद्धिको यात्रा तय गर्न सहयोग पुगोस शुभकामना । नवविकल्प साप्ताहिमा प्रकाशित