पर्यटन विकासका लागि योजनाको अभाव

सन्तोष गौतम /विकल्प न्यूज
जेठ ३ गते । myagdi visit 1म्याग्दीमा सम्भावना भएर पनि ठोस योजनाको अभावमा पर्यटन क्षेत्रको उल्लेख्य विकास हुन सकेको छैन् । पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धनको अभावमा धेरैजसो पर्यटकीय स्थल ओझेलमा छन् ।
अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरी र अन्नपूर्ण आधार शिवीर तथा ढोरपाटन शिकार आरक्ष म्याग्दीका पर्यटकीय गन्तब्यको रुपमा परिचित छन् ।

धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, गुरील्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरी, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेली म्याग्दीका उदयीमान पर्यटकीय स्थल हुन् । विभिन्न ११ वटा हिमाल अवस्थित म्याग्दीका अधिकांश बस्तीबाट हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ ।

संसारको सातौ अग्लो ८ हजार १६७ मिटर उचाई भएको धौलागिरी पहिलो देखि, अन्नपूर्ण पहिलो (८०८१), गुर्जा (७१९३), मानापाथी लगायत हिमाल म्याग्दीको सौन्दर्यमा “चार चाँद” बनेका छन् । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरी चक्रिय पदमार्गमा समेटिएपनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिदैन् ।  godepani 3“प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीय स्थलको रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नुपर्छ” धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले भन्नुभयो “पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनको आवश्यकता छ ।”

दानाको रुप्से, हिस्तानको महभिर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोट लगायत दर्जनौ झरना कुनै षोडसी युवतीले ओडेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हालेको जस्तो दृष्य अवलोकन गर्न सकिन्छ ।

घारको पुनहिल, राम्चेको मोहरे, शिखको खोप्रा, भगवतीको रुईसे, कुहुँको टोड्के, बिमको मालिका, भकिम्लीको स्वर्गाश्रम, लुलाङको जलजला लगायत दर्जनौ टाकुराहरुबाट बिहानीमा लाली छाउँदै उडाउने सुर्योदय हिमालका चुचुरोमा पर्दा चार क्यारेटको सुन टल्कीएझै मनमोहक दृष्य देख्न सकिन्छ । खुलेको निलो आकाश, पाखाभरी फुलेका लालीगुराँसको जंगलको पृष्ठभुमिमा गगन चुम्न लागेजस्तो हिमाल देखिन्छ ।

दानामा रहेको छ हजार ९६७ मिटर गहिरो अन्धगल्छी म्याग्दीको गहना हो । दरवाङ दुखुको भाले बास्ने, शिखको खयर, हिस्तानको प्यारी, नांगी बाराही, निस्कोट, गुर्जा, गाईखर्क, कालीदह लगायतका ठाउँमा दर्जनौ तालतलैया छन् । बेनपा ४ को तातोपानी प्राकृतिक उपचार स्थल र अन्नपूर्ण २ को भुरुङ तातोपानी पर्यटकीय स्थलको रुपमा परिचीत छन् ।

शिख, दोवा, दर्मीजा, मुदी र गुर्जाको तातोपानी कुण्डको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार हुन सकेको छैन् । प्राकृतिक संग्रहालयको रुपमा रहेका कल्लेनीको क्यामध्याम, देविस्थानको देवताभिर, काभ्रेको बाजाढुङ्जा र गलेश्वरको जडभरत गुफा ओझेलमा छन् । godepani 1 (1)बेनपा ९ मा रहेको गलेश्वरमा पछिल्लो समय धार्मीक पर्यटकको आगमन बढेपनि बेनीकै महारानी, बरको रुख मुनि रहेको बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, वौद्धगुम्बा, राम्चेको करबाकेली थान, पुलाचौरको जगन्ननाथ, पछै, रघुगंगा गाउँपालिकाको रिखार, मालीकाथान लगायत दर्जनौ स्थल भक्तजनको प्रतिक्षामा छन् । ताकमकोट, ज्यामरुककोट, बेनी कोट र भगवतीमा रहेका ऐतिहासीक महत्वका कोटहरुको संरक्षण हुन सकेको छैन् ।

बेनी, तातोपानी, भुरुङ, दाना, घोडेपानी भ्रमणमा आउने पर्यटकहरुको लागि सुबिधासम्पन्न होटल सञ्चालन भएका छन् । टिकोट, कुहुँको पूर्णगाउँ, झिँ, गुर्जामा, खिवाङ, होमस्टे सञ्चालन भएको छ । नांगी, मोहरेडाँडा, फुलबारी, टिकोट, ढाँडखर्क, बयली, खोप्रामा सामुदायिक लज सञ्चालन भएको छ । ति सामुदायिक लजको आम्दानी सामुदायिक विद्यालय र स्वास्थ्य संस्था सञ्चालनमा परिचालन गरेर नमुनायोग्य काम भएको छ । मगर, छन्त्याल, थकाली, नेवार समुदायको मौलीक कला र संस्कृति पर्यटन विकासको अर्को आधार हो ।

धौलागिरी चक्रिय, अन्नपूर्ण आधार शिवीर, गुरील्ला, धौलागिरी आईसफल र सेञ्चुरी पदमार्गमा होटल तथा लजको सुबिधा नभएकाले क्याम्पीङ गर्नुपर्छ । सञ्चार र विद्युत सुबिधा पुगेको छैन भने सुरक्षा अर्को चुनौती हो । गाउँ पर्यटन प्रर्वद्धन केन्द्र (भिटोभ)का पूर्व महासचिव राजकुमार थापा म्याग्दीमा थुप्रै सम्भावना भएपनि पूर्वाधार, प्रचारप्रसार र प्रवद्र्धनको अभाव रहेको बताउनुहुन्छ ।

नयाँ रुटहरुमा पदमार्ग, क्याम्पीङ साईट, पदचिन्हको साथै गाउँहरुमा होमस्टे, चिया पसल र होटलहरु सञ्चालनका साथै स्थानीयबासीमा पर्यटक मैत्री ब्यवहारको विकास गराउन प्राथमिकता दिनुपर्ने थापाको भनाई छ । गुरील्ला पदमार्गका अभियान्त सुरेन्द्र रानाले प्राकृतीक सौन्दर्यमा रमाउन चाहने सौखिन पर्यटकले अरु नपुगेको र नयाँ ठाउँ रुचाउने हुनाले नयाँ पर्यटकीय स्थलको बारेमा प्रचारप्रसारसंगै न्युनतम आधारभुत पूर्वाधारको आवश्यकता रहेको बताउनुभयो ।

वार्षिक चालीस हजार जना पर्यटक भित्र्ने म्याग्दीमा आउने ९० प्रतिशत पर्यटकको गन्तब्य घोडेपानी पुनहिलनै हो । पछिल्लो समय पर्यटकको संख्या बढेपनि उनिहरुले खर्च गर्ने क्षमता भने घटेको बताउनुहुन्छ घोडेपानीका होटल व्यवसायी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन ।

अध्यक्ष पुनले धेरै संख्यामा भन्दा पनि बढी खर्च गर्न सक्ने क्षमता भएका पर्यटक भित्र्याउने योजना र कार्यक्रम आवश्यक रहेको बताउनुभयो । आन्तरिक पर्यटकहरु पनि खर्च गर्ने सवालमा बाह्य जत्तिकै सक्षम देखिएका घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनको भनाई छ ।

पछिल्लो समय आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिईएको छ । आन्तरिक पर्यटकले घुम्न निस्कदा योजना बनाउनुपर्ने र भ्रमण सम्बन्धि मान्यताहरुलाई आत्मसात गर्नुपर्ने आवश्यकता रहेको बुद्धुजाले बताउनुभयो । “पूर्वाधार निर्माणसंगै पर्यटकीय स्थलको बारेमा प्रचारप्रसारमा उत्तीकै जोड दिनुपर्छ” बुद्धुजाले भन्नुभयो “यसमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ ।

सडक विस्तार पर्यटन क्षेत्रको अर्को चुनौती बनेको छ । सडक विस्तारसंगै पुराना पदमार्ग विस्थापित मात्र नभएका छैनन् पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ । पुराना पदमार्ग सडकमा परिणत भएपछि बैकल्पीक र नयाँ पदमार्गको पहिचान र विकासमा जोड दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ईलाका कार्यालय घान्द्रुकका प्रमुख बिदुरबिक्रम कुईकेलले बताउनुभयो । पोखरेबगर घार शिख घोडेपानी पदमार्ग र बेनी जोमसोम पदमार्ग सडकमा परिणत भएपछि एक्यापको पहलमा बैकल्पीक पदमार्ग सञ्चालन भएको छ ।
कार्यान्वयन भएन् पर्यटन गुरुयोजना

म्याग्दीलाई पर्यटकीय जिल्लाको रुपमा विकास गर्ने उद्देश्यले पाँच वर्षअघि लाखौ खर्च गरेर तयार पारेको पर्यटन गुरुयोजना कार्यान्वयन हुन सकेको छैन् । सम्बद्ध निकायका कर्मचारी र जनप्रतिनिधिको ईश्चाशक्तिको कमी तथा स्रोतको अभावमा गुरुयोजना कार्यान्वयन अभावमा अलपत्र परेको हो । जिल्ला विकास समिति, टोड्के क्षेत्र विकास कोष र पर्यटन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले तयार पारेको गुरुयोजनामा म्याग्दीका पर्यटकीय स्थलमा पूर्वाधार निर्माणका लागि करिब बिस वर्षको अबधिमा करिब एक अर्ब रुपैयाँ लगानी गर्नुपर्ने उल्लेख थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले स्थानीय तहले आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थलको विकासमा गुरुयोजनालाई आधार मानेर काम गर्न सक्ने बताउनुभयो । “स्थानीय तहले अपनत्व ग्रहण गरेर गुरुयोजना अनुसार काम गर्दा सजिलो हुन्छ” केसीले भन्नुभयो “स्थानीय, प्रदेश र संघीय सरकारसंग गुरुयोजना कार्यान्वयनका लागि समन्वय गछौं ।” नयाँ पर्यटकीय स्थलको विकास र प्रवद्र्धन मार्फत म्याग्दीलाई “टुरीजम हब” बनाई रोजगारीको सृजना तथा गरिबी न्युनीकरणमा सहयोग गर्ने गुरुयोजनाको मुख्य लक्ष्य रहेको थियो ।

पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष 

म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा आईतबारदेखि पर्यटकीय सम्भावनाको पहिचान, उजागर र प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ सुरु हुदैछ् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले बेनीमा उद्घाटन गर्नुहुने कार्यक्रमको तयारी पुरा भएको छ । म्याग्दीका पुराना पर्यटकीय स्थलहरुको प्रवद्र्धन, नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धनका लागि विभिन्न गतिबिधि गरिने संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।

बेनी नगरपालिकासंगको सहकार्यमा कालीपुल बसपार्कमा पर्यटक सूचना केन्द्र ञ्चालन गरिने भएको छ । पर्यटन व्यवसायी र सम्बद्ध निकायका पदाधीकारी सहित प्रत्येक स्थानीय तहको कम्तीमा ४ वटा पर्यटकीय स्थलमा पुगेर त्यहाँको सम्भावना, समस्याको बारेमा छलफल तथा अध्ययन गरिने भएको छ ।

“पर्यटकीय स्थलको पहिचान, प्रर्वद्धन र विकासनै भ्रमण वर्षको उद्देश्य हो” संघका महासचिव लिलाराम गौतमले भन्नुभयो “म्याग्दी भ्रमण वर्ष जिल्लाको पर्यटन विकासमा कोशेढुङ्गा बन्नेछ ।” पोखरामा आउने र मुस्ताङ भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई म्याग्दीका पर्यटकीय स्थलमा घुम्ने बनाउन विभिन्न प्रवद्र्धनात्मक गतिबिधि गर्ने योजना बनाइएको छ । स्थानीय तह स्तरमा भ्रमण वर्षको स्वागत र प्रचारप्रसार समिति गठन भएको छ ।
जिल्ला स्तरमा अध्यक्ष कर्माचार्यको संयोजकत्वमा मुल समारोह, बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालको संयोजकत्वमा अतिथि सत्कार, प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार, महासचिव लिलाराम गौतमको संयोजकत्वमा सचिवालय व्यवस्थापन र कोषाध्यक्ष अमित बानियाँको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन भएको छ । भ्रमण वर्ष मनाउन ६७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । दृष्य, तस्विर, ब्रोसर, स्थानीय तह अनुसारका पर्चा पम्पलेट देखि टिर्सट टोपी लगायतका सामाग्री भ्रमण वर्षको प्रचारमा प्रयोग हुने भएको छ ।

रामायण पार्क बनाउँदै बेनपा

बेनी नगरपालिकाले बेनी बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रावण पार्क बनाउन बिस्तृत आयोजना प्रतिवेदन तयार पार्ने काम अघि बढाएको छ । चालिस लाख रुपैयाँ बिनियोजन भएको उक्त योजनाका लागि छनौट भएको परामर्श दाताले स्थलगत सर्वेक्षण सकेको छ । उसले दिने प्रतिवेदनको आधारमा पूर्वाधार निर्माण सुरु गर्ने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । रामयण पार्क योजनालाई ८ नम्बर वडाबाट समेत थप एक लाख बिनियोजन भएको छ । लभ्लिहिलमा पूर्वाधार निर्माणमा पाँच लाख बिनियोजन भएको छ । रत्नेचौरको उपल्लाचौर आधारभुत विद्यालय देखि सालधारी हँुदै माई पुज्ने डाँडा सम्मको पदमार्ग उद्घाटन गर्न दुई लाख बिनियोजन भएको छ । एक लाख रुपैयाँ बिनियोजन भएको गुफाको डिलमा भ्यु टावर निर्माणको काम भैरहेको छ । पुलाश्रममा रामायण जन्मिएको ऐतिहासीक धार्मीक ग्रन्थहरुमा उल्लेख भएको तथ्यको आधारमा रामायण पार्क बनाउन लागिएको हो ।

पर्यटकीय गन्तब्य अन्नपूर्ण 

जिल्लाका धेरै पर्यटकीय स्थलहरु अवस्थित अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा पदमार्ग लगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ । योजना शाखाका कर्मचारी कुलप्रसाद आचार्यले एक लाख पचास हजार बिनियोजन भएको रुप्से, अन्धगल्छी क्षेत्रको गुरुयोजना तयार पार्ने काम अघि बढेको जानकारी दिनुभयो । भुरुङ्ग तातोपानीमा होमस्टे तालीम सञ्चालन गर्न एक लाख, अन्धगल्छी परिसरमा सार्वजनिक शौचालय बनाउन पाँच लाख र नारच्याङको ढाडबेशी देखि निस्तारापुल सम्म पदमार्ग बनाउन दुई लाख पचास हजार बिनियोजन भएको छ । अन्नपूर्ण आधार शिवीर जोड्ने पदमार्ग निर्मणका लागि तिन लाख र राम्चेको पर्यटन सम्भाव्यता अध्ययन गर्न पचास हजार बिनियोजन भएको छ । हिस्तानको महिभिर झरनामा पूर्वाधार बनाउन पाच लाख, खादीखोल्सा पदमार्ग निर्माणमा पाँच लाख र टिकोटमा पदमार्ग बनाउन पाँच लाख चालीस हजार बिनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको आचार्यले बताउनुभयो ।

पूर्वाधार बनाउदै धौलागिरी

संसारको सातौ अग्लो धौलागिरि लगायत हिमाल अवस्थित धौलागिरी गाउँपालिकाले पनि पर्यटकीय स्थलमा पदमार्ग निर्माणमै जोड दिएको अध्यक्ष थमसरा पुनले बताउनुभयो । धौलागिरि हिमालको फोहोर व्यवस्थापनका लागि आठ लाख, गुर्जा रुघाचौर पदमार्ग निर्माणमा १५ लाख, गुर्जा र मुदीको सिमानाको तातोपानी कुण्डमा पूर्वाधार बनाउन ११ लाख पचास हजार बिनियोजन भएको छ । मुदीको दिवा हुदै नाउरा जोड्ने पदमार्ग बनाउन तिन लाख, नाउरा बगर पदमार्गलाई पाँच लाख, बाञ्चन पुतलीडाँडा रुवाचौर रिखार पदमार्गलाई पाच लाख पचास हजार बिनियोजन भएको छ । दुई लाख बिनियोजन भएको कल्लेनी पर्यटक क्याम्पीङ भवनको काम सकिएको छ । विपद् ब्यवस्थापन अन्तरगत बगराको टोपी लुकाउने ओडारमा पदमार्ग बनाउन पाँच लाख बिनियोजन भएको योजनाको काम सम्पन्न भैसकेको छ ।

पर्यटनमा रघुगंगाको ठूलो लगानी 

पर्यटन क्षेत्रमा अन्य स्थानीय तहको तुलनामा रघुगंगा गाउँपालिकाले बढी बजेट छुट्टाएको छ । रघुगंगा गाउँपालिका १ मा अवस्थित बेग बादुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुल देखि बेग देउराली जोड्ने एक किलोमिटर पक्की पदमार्ग निर्माणका लागि बिनियोजन भएको ४८ लाख बजेटबाट काम भैरहेको छ । लामो पुलदेखि बादुकतर्फ जाने बाटोमा ५५ मिटर रेलीङ बनाउन मर्मत कोषबाट बजेट ब्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । १६ लाख बिनियोजन भएको भगवतीको थामकोटमा भ्यु टावर, पिकनिक स्पोर्ट र खानेपानी सुबिधाको व्यवस्था गर्न काम सुरु भएको छ । तिन लाख बिनियोजन भएको योजनाबाट ठाडाखानी देखि मालीका जोड्ने तिन किलोमिटर पदमार्ग निर्माण भएको छ । रिहगाड जाने बाटोमा दुई लाखको पदमार्ग निर्माण सम्पन्न भएको छ । झिँ देखि टोड्के जाने बाटोमा तिन लाखको पदमार्ग निर्माण भएको छ ।

मालिकामा तालै ताल

समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटर उचाईमा अवस्थित मालिका धुरीबाट नामाकरण भएको मालिका गाउँपालिकामा पर्यटकीय महत्वका ताल तलैया रहेका छन् । दुखुको भाले बास्ने ताल आश्चार्यजनक स्थल हो । तालको संरक्षण गरी पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ । मालिका क्षेत्रमा पदमार्ग, भक्तजन तथा पर्यटकको बसाई ब्यवस्थापन लगायतका पूर्वाधार निर्माणमा यस वर्ष पन्ध्र लाख रुपैयाँ बिनियोजन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

विज्ञ र सरोकारवालाहरुसंग छलफल गरेर आवश्यकताको आधारमा बजेट परिचालन गर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले ८ लाख बिनियोजन गरेको बाईन्दफाँटदेखि बिमबाङ सम्म सडक पु¥याइएको छ । गाउपालिकाले बिनियोजन गरेको पाँच लाखबाट निस्कोट गाउँदेखि बराह ताल जाने ४३० मिटर पदमार्ग निर्माण भएको छ । पाँच लाख रुपैयाँ बिनियोजन भएको देविस्थान स्थित गाईखर्क ताल संरक्षणको काम भैरहेको छ । मालिकाको बाईन्दफाँटमा समेत बराह ताल रहेको छ । यस्तै रुमको डुरुलेकमा पर्यटन संभाव्यताको अध्ययनका लागि गाउँपालिकाले एकलाख रुपियाँ विनियोजन गरेको उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो ।

टोड्केमा सामुदायिक लज बनाउने योजना

मालिका गाउँपालिकाले पर्यटकीय स्थलमा सामुदायिक लज निर्माणको लागि गत असारको पहिलो गाउँसभाले नितीगत निर्णय गरेको थियो । बेनी नगरपालिका र रघुगंगा गाउँपालिकासंग समन्वय गरेर सामुदायिक लज बनाउने योजना अघि सारेको हो । यसैगरी मंगला गाउँपालिका राउण्ड टे«ेकको सम्भाब्यता अध्ययन गर्ने निर्यय भएको थियो । ३ नम्बर वडा झाँक्रेपानीमा यस वर्ष बिनियोजन भएको तिन लाख रुपैयाँबाट भ्यु टावर निर्माण सुरु भएको छ । गाउँपालिका स्तरीय संग्रहालय स्थापना गर्न एक लाख रुपैयाँ बिनियोजन भएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । नव विकल्पको अंक ३३ मा प्रकाशित