विकल्प न्यूज/बेनी
चैत २७ गते । म्याग्दीको धौलागिरी गाउँपालिका २ लमसुङमा एक महिलाले बेकरी उद्योग स्थापना गर्नुभएको छ । लम्सुङकी फुलमाया बुढाले तिन लाख रुपैयाँको लगानीमा गाउँमै बन्दना बेकरी उद्योग स्थापना गरी स्वरोजगार बन्नुभएको हो । गत माघ महिनादेखि सञ्चालन भएको उद्योगबाट बेकरीका विभिन्न परिकार उत्पादन हुने गर्छ ।
स्थानीय नमुना उद्यमशिल महिला सहकारीबाट एक लाख, गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको घुम्ती कोषबाट ६३ हजार ऋण, २७ हजार रुपैयाँ अनुदान र बाँकी स्वलगानी गरेर उद्योग सञ्चालन गरेको बुढाले बताउनुभयो ।
सोलार र ग्याँसबाट चल्ने ओभनबाट बेकरी बनाउने गरेकी बुढाले स्थानीय लघुजलविद्युत परियोजना पहिरोका कारण बन्द भएकाले उद्योग सञ्चालन गर्न समस्या भएको बताउनुभयो । दुई सय वाट क्षमताको सोलार जडान गर्न ९० हजार रुपैयाँ लगानी भएको छ । दैनिक ३० देखि ३५ दर्जन बेकरी उत्पादन हुने गरेको छ ।
लमसुङ, लुलाङ, खोरीया र गुर्जामा बेकरी बिक्री हुने बुढाले बताउनुभयो । एकल महिला बुढाले उद्योग सञ्चालन गरेपछि घरब्यवहार र पाँच जना छोरीहरुको पढाई खर्च जुटाउन सहज भएको बताउनुभयो । उहाँलाई संगम म्याग्दीले बेकरी बनाउने एक महिने तालीम दिएको छ ।