बेनीको नगर गुरुयोजना तयार पारीने

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २० चैत । IMG_9543बेनी नगरपालिकाले गुरुयोजना बनाउने भएको छ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरि अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागेको हो । परामर्शदाता छनौट गरेर गुरुयोजना निर्माणको तयारी भएको नगर कार्यपालिकाका प्रवत्ता समेत रहनुभएका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीले मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । उहाँका अनुसार गत फागुन २८ गते स्थगीत भएको नगरसभा चैत २३ गते बस्ने भएको छ ।

आगामी नगरसभाले आर्थिक र शिक्षा ऐन साथै प्रशासनीक र न्यायीक समितिको कार्यबिधी पारित गर्ने प्रवक्ता बराईलीले जानकारी दिनुभयो । यसअघि ८ वटा नियमावली तयार पारिसकेको कार्यपालिकामा चार वटा नियमावली छलफलका लागि पेश भएका छन् ।

प्रवक्ता बराईलीले रामायण पार्क, बेनी पात्लेखेत सडक कालोपत्रे, खुल्ला मञ्च विस्तार, कालीपुल बसपार्क लगायतका योजनालाई नगरका गौरवका योजनाका रुपमा अघि बढाइने बताउनुभयो । आँपरुख, गुफाको डिल र पौलत्स्यलाई समेटेर रामायण पार्क योजनाका लागि डिपीआर तयार पार्न अध्ययन भैरहेको बताउनुभयो ।

पार्क र रामायणको मुती राख्न यस वर्ष पचास लाख बिनियोजन भएको छ । प्रवत्ता बराईलीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा नगरपालिकाले बजेट बिनियोजन गरेका ८८ वटा योजना तथा कार्यक्रम सम्पन्न भैसकेको जानकारी दिनुभयो ।

३ नम्बर वडा भकिम्लीले ९० प्रतिशत र अन्य वडाले ६५ प्रतिशत भन्दा बढी भौतिक प्रगती हाँसील गरेका जानकारी गराउनुभएको थियो । ३७ करोड ७८ लाख ८६ हजार रुपैयाँ कुल बजेट मध्य शशर्त अनुदानतर्फ १७ करोड ८० लाख ८६ हजार रुपैयाँ बिनियोजन भएकोमा १३ करोड दुई हजार ७८० रुपैया खर्च भएको छ ।

समानीकरणको चालुतर्फ चार करोड ५० लाख बिनियोजन भएकोमा एक करोड ३२ लाख १४ हजार ६४ र पुँजीगततर्फ १४ करोड ८१ लख ११ हजार बिनियोजन भएकोमा तिन करोड २७ लाख खर्च भएको छ । एक करोड ५० लाख रुपैयाँ आन्तरीक आम्दानी गर्ने लक्ष्य रहेकोमा ६६ लाख रुपैयाँ उठीसकेको प्रवक्ता बराईलीले बताउनुभयो ।

३७१ वटा योजना तथा कार्यक्रम मध्य पूर्वाधार तर्फका २५० वटा योजनाका लागि बजेट बिनियोजन भएको छ । २३२ वटा योजनाको सर्वेक्षण, २२५ वटाको लगत ईस्टिमेट तयार र २२६ वटा सम्झौता भएका छन् । ठेक्का मार्फत सञ्चालन हुने तिन वटा योजनाको सम्झौता भईसकेको छ ।

सहरी विकास तथा भवन डिभिजन कार्यालयसंग समन्वय गरेर कालीपुल बसपार्कलाई व्यवस्थि तगर्न लागिएको बराईलीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी पुल देखि कालीपुल बसपार्क हुदै वेष्ट पोईन्ट तलको सडक दुई लेनको कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का प्रक्रिया अघि बढाएको छ ।

क्याम्पसचोक र मंगलाघाटमा बाढी तथा पहिरो नियन्त्रणका लागि १२ लाख ५० हजार रुपैया दरका दुई वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् । समयमै गुणस्तरीय रुपमा योजना सम्पन्न गराउन अनुगमन र सहजिकरण भैरहेको बराईलीले बताउनुभयो ।