विकल्प न्यूज/बेनी
चैत २० गते । बेनी बजार संरक्षण कार्यक्रम अन्तरगत मंगलाघाट स्थित म्याग्दी नदी किनारमा निर्माण भएको मेसीनरी पर्खाल । तस्विर नवविकल्प
एक वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङद्धारा सञ्चालीत बेनी बजार संरक्षण आयोजना अन्तरगत दोस्रो प्याकेजको नदी नियन्त्रण योजनाको काम लक्ष्य भन्दा सात महिना अघिनै सकिएको छ । सडक, भवन, नदी नियन्त्रण, सिँचाई लगायत म्याग्दीमा सञ्चालीत पूर्वाधार आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा निर्माण व्यवसायीले एक वर्षको काम पाँच महिनामै सकेका हुन् । २०७४ कात्तिक २६ गते कार्यालय र समानान्तर बिएन जेभी बीच छ करोड २६ लाख पाँच हजार ९२२ रुपैयाँमा एक वर्षका लागि ठेक्का सम्झौता भएको थियो ।
कालीपुलमा कालीगण्डकीको बाँया किनारमा १२० मिटर र मंगलाघाट स्थित म्याग्दी नदी किनारमा ३२४ मिटर लामो मेसीनरी पर्खाल निर्माण भएको छ । नदी कटानबाट सदरमुकाम बेनी बजारलाई जोगाउने उद्देश्यले बनाइएको पर्खालको उचाई छ मिटर छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा १०० मिटर आरसिसी पर्खाल निर्माण भएको छ ।
पर्खाल निर्माण भएको ठाउँमा फिलीङ गर्ने बाहेक अरु संरचनाको काम सकीएको कार्यालयका साईट ईञ्जिनियर अनिल मिश्रले बताउनुभयो । उहाँका अनुसार सो कम्पनीले लक्ष्य अघिनै काम सकेकाले यसअघिको वर्ष कालीगण्डकी किनारमा निर्माण भएको पर्खाललाई टेवाका लागि सल्याब राख्न दिइएको काम समेत अन्तिम चरणमा पु¥याएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडीपट्टी देखि दोभान सम्म कालीगण्डकी किनारमा ३८० मिटर आरसीसि पर्खाल निर्माण गर्न पाँच करोड ८ लाख ३२ हजारमा सम्झौता गरेको खड्का कृष्ण जेभीले पनि कामलाई तिब्रता दिएको छ । साँघुरो क्षेत्रमा खोला तर्काएर काम गर्दा अप्ठ्यारो भएकाले बर्खाअघि नसेपनि निर्धारीत समयमा काम सकिने खड्का कृष्ण जेभीका प्रतिनिधि रवीन्द्र कार्कीले बताउनुभयो ।
यसैगरी जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँट र पर्वत बेनी बजार संरक्षणका लागि समेत नदि नियन्त्रण आयोजनाको काम भैरहेको छ । विगतका वर्षमा ढिलागरी ठेक्का सम्झौता हुने र नदीमा पानीको सतह बढेपछि सहज रुपमा काम गर्न अप्ठ्यारो परेको थियो । आर्थिक वर्षको सुरुमै ठेक्का प्रक्रिया सुरु गरी कात्तिकमै सम्झौता गरेकाले छिटो काम भएको कार्यालयका प्रमुख खगेन्द्र भट्टचनले बताउनुभयो । समानान्तर बिएन जेभीका सञ्चालक नारायण जिसीले निर्माण सामाग्रीको मूल्यवृद्धिका बावजुद पनि पर्याप्त जनशक्ति र उपकरण परिचालन गरेर लक्ष्य अघिनै काम सम्पन्न गरेको बताउनुभयो ।
विभिन्न बाहनामा विकास योजनामा ढिलासुस्ती गर्नेहरुका लागि लक्ष्य अघिनै काम सकेर नैतीक दवाव सिर्जना गरेका बजारबासीले बताएका छन् । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजार नदी कटानका हिसाबले नेपालका जोखिमयुक्त सदरमुकाममा पर्छ । आर्थिक वर्ष २०७१७२ देखि ७३७४ को अवधिमा कालीपुलमा रहेको मोटरेबल पुल देखि म्याग्दी उद्योग वाणिज्य संघको भवनको पछाडी सम्म ३५९ मिटर आरसिसी पर्खाल निर्माण भएको थियो । आर्थिक वर्ष २०७६७७ सम्ममा बेनी बजार संरक्षण आयोजना सम्पन्न गर्ने लक्ष्य सहित अर्थ मन्त्रालयले गत वर्ष ५३ करोड रुपैयाँको डिपीआर स्विकृत गरेर बजेटको स्रोत सुनिश्चितता गरेको थियो । नवविकल्प साप्ताहिकमा प्रकाशित