बेनीमा वसरे अपाङ्गताको क्षेत्रमा काम गर्ने निकायहरु एकचोटी यो परिवारलाई भेट्न जाउँ
ठाकुरप्रसाद आचार्यः एक सन्दर्भ
म्याग्दीको राखुभगवती–७ हुमेनटोलको एक परिवारका दुइछोरी जन्मै देखि अपाङग छन् । अपाङगता कारण परिवार पीडामा ढुवेको छ । परिवारको एक सदस्य ४१ वर्ष देखि ओछ्यानमै रहदा परिवारमा कहिल्यै खुसी आउन सकेन । अपाङग छोरीलाई हेरविचार र पालनपोषणमै परिवारको दिन वितेका छन् । सामान्य परिवार अनि आर्थिक समस्याले गर्दा अपाङग छोरीको पालनपोषणमा समस्या आएको छ । तिन छोरी र दुई छोराका मालिक पिथ्वीलाल र उनकी धर्मपत्नी हरिकला रिजाललाई बुढेसकालमा दुइछोरीको चिन्ताले पिरलेको छ । जेठी छोरी चेतकुमारीको र माइली छोरी पदमकुमारीको जव उमेर बढ्दै गयो रिजाल दम्पतीमा चिन्ताको बिजारोपण शुरु हुन थाल्यो । पदमकुमारी सुताएको ठाउँबाट हलचल गर्नै नसक्ने हुँदै गएपछि रिजाल परिवारमा दुःख र पीडाका दिन शुरु भए ।
कमजोर आर्थिक अवस्था भएको परिवारका दुइ छोरी अपाङ्ग भएपछि रिजाल दम्पतीले चारदशक देखी निकै कष्टकर जीवन विताउनुपरेको छ । नेपाल सरकारबाट ‘क’ वर्गको रातो परिचयपत्रले पाउने सुविधा बापत मासिक १ हजार रुपियाँ लिने बाहेक केहि संघसंस्था र व्यक्तिले बेलाबेलामा गर्ने केही सामान्य सहयोगले अपाङग छोरीको पालनपोषण गरेका छन् । अपाङ्गता भएकालाई सुविधा दिन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले करोडौ बजेट खर्चिए पनि पीडित सधैं छट्पटिनु सिवाय कुनै विकल्प छैन । अपांगताका नाममा बजारमा लाखौं रकम खर्चिएर हुने कार्यक्रमले यो परिवारमा सुख ल्याउन सक्दैन । म्याग्दीमा पनि अपांगताका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसस्थाहरु भएपनि अहिले सम्म रिजाल परिवारलाई सान्त्वना दिन पुगेका छैनन् ।
सरकारबाट सहयोग पाए छोरीहरुलाई पाल्न सहज हुने रिजाल दम्पत्तिले आशा पालेका छन् । अपाङगताका क्षेत्रमा मुलुकमा काम गर्ने संघसस्थाहरु प्रसस्त छन् । तर रिजाल परिवारले कुनै राहतको अनुभव गर्न पाएको छैन । आर्थिक अभावमा रहेको यो परिवारलाई सहयोग गर्नु मानविय धर्म हो । जिल्लामा अपाङगताको क्षेत्रमा काम गर्ने निकायहरु यो रिजाल परिवार सम्म पुग्नुपर्दछ । अपाङग भएर कस्तो जिवन विताइरहेका छन् भन्ने दर्दनाक अवस्थाको चित्रण रिजाल परिवारमा देख्न सकिन्छ । सहयोगी मन लिएर रिजाल परिवारलाई भेट्न जिल्लामा अपाङगताको क्षेत्रमा काम गर्नेहरु पक्कै पनि पुग्नेछन् भन्ने अपेक्षा हामीले पनि राखेका छौ । दुःखेको घाउँमा मलम लगाउने पुण्य कार्यमा हामी कसैले पनि ढिला नगरौं ।