समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १८ फागुन । IMG_7277समयमै पुरा तलब नपाएपछि बेनी नगरपालिकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् ।

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरुलाई फागुन ९ गतेसम्म पुरा तलब उपलब्ध गराउन माग गर्दै शिक्षक संगठनहरुले फागुन २ गते बेनपा, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

अन्नपूर्ण गाउँपालिकाले दोस्रो चौमासीकको पुरा तलब वितरण गरेको र रघुगंगाले निकासा गर्ने निर्णय गरेपनी बेनपाले मागप्रती कुनै वास्ता नगरी आधा मात्र तलब निकासा गरेकाले बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका निवर्तमान उपाध्यक्ष डेगबहादुर बानियाले बताउनुभयो ।

तालबान्दि गर्ने तयारी सहित नगरपालीका पुगेका शिक्षकहरु सुरक्षाकर्मीको बाक्लो उपस्थितीका कारण आन्दोलनको कार्यक्रम परिवर्तन गरेर धर्ना बसेका हुन् । बेनपाका विद्यालयमा ५५४ जना शिक्षक कार्यरत छन् । बेनी नगरपालीकाले गत हप्ता दोस्रो चौमासीकको मंसिर र पुष महिनाको दुई करोड ६४ लाख वितरण गरेको थियो ।

अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि १६ करोड बजेट आवश्यक पर्नेमा १२ करोड बजेट पठाएपनी सबै खर्च गर्ने अख्तियारी नदिएकाले समस्या भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।

शिक्षकहरु आन्दोलनमा उत्रिएपछि अन्नपूर्णले गत हप्ता र रघुगंगाले बुधबार पूर्वाधार योजनाको बजेट रकमान्तर गरेर शिक्षकलाई चौमासीकको पुरा तलब खुवाउने निर्णय गरेका थिए । धौलागिरी, मालीका र मंगला गाउँपालीकाले पनी पहिलो र दोस्रो चौमासीकको तलब खुवाएपनि तेस्रो चौमासीकका लागि आवश्यक पर्ने बजेट अपुग भएको जनाएका छन् ।