किन भयो बेनी नगरपालिका शिक्षकहरुको मागप्रति गैरजिम्मेवार ?

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १६ फागुन । beni nagarpalikaसमयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालिका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालिकाले शिक्षकहरुको माग प्रति गैरजिम्मेवार रुपमा प्रस्तुत भएको ठहर गर्दै आन्दोलनको घोषणा गर्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ताहरुलाई फागुन ९ गतेसम्म पुरा तलब उपलब्ध गराउन माग गर्दै शिक्षक संगठनहरुले फागुन २ गते बेनपा, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा ज्ञापनपत्र बुझाएका थिए ।

अन्नपूर्ण गाउँपालीकाले दोस्रो चौमासीकको पुरा तलब वितरण गरेको र रघुगंगाले निकासाको तयारी गरेपनी बेनपाले मागप्रती कुनै वास्ता नगरी आधा मात्र तलब निकासा गरेकाले बाध्य भएर आन्दोलन घोषणा गर्नुपरेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार फागुन १८ गते बेनपाका सबै सामुदायीक विद्यालयका प्रअ र शिक्षक संगठनका पदाधीकारीहरुले नगरपालीकाको कार्यालयमा तालाबन्दी गर्ने निर्णय भएको छ । सो बैठकले शिक्षक महासंघमा प्रतिनिधित्व गर्ने संगठनको बरियताक्रम निर्धारण गरेको छ ।
यसैबीच रघुगंगा गाउँकार्यपालीकाको बुधबार मौवाफाँट स्थित कार्यालयमा बसेको बैठकले शिक्षकको दोस्रो चौमासीकको तलब वापतको दुई करोड २० लाख रुपैया निकासा गर्ने निर्णय गरेको छ ।

गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले शिक्षा मन्त्रालयले पर्याप्त बजेट नपठाउँदा समस्या भएको बताउँदै पूर्वाधार योजनाको बजेट रकमान्तर गरेर शिक्षकहरुलाई तलब उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो ।

“बजेट भएर नियतबस तलब रोकीएको होईन्” अध्यक्ष भण्डारीले भन्नुभयो “मन्त्रालयले कम पठाएर समस्या भएको हो । अपुग बजेट माग गरेका छौ । शिक्षकहरुले गलत प्रचार गर्नुभएकोप्रती कार्यपालीकाले दुख व्यक्त गरेको छ ।”

रघुगंगाका विद्यालयमा २७८ शिक्षक कार्यरत छन् । बेनी नगरपालीकाले गत हप्ता दोस्रो चौमासीकको मंसिर र पुष महिनाको दुई करोड ६४ लाख वितरण गरेको र थप बजेटको पहल गरेको बेनपाका प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो । बेनपाका विद्यालयमा ५५४ जना शिक्षक कार्यरत छन् ।

धौलागिरी, मालीका र मंगला गाउँपालीकाले पनी पहिलो र दोस्रो चौमासीकको तलब खुवाएपनि तेस्रो चौमासीकका लागि आवश्यक पर्ने बजेट अपुग भएको जनाएका छन् । अर्थ र शिक्षा मन्त्रालयले शिक्षकको तलब भत्ताको लागि पर्याप्त बजेट नपठाएको र अपुग बजेट कसरी जुटाउने भन्ने विषयमा समन्वयको अभावमा समस्या सिर्जना भएको हो ।