गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
गलेश्वर १५ फागुन । IMG_6945एक व्यवसायीको आर्थिक सहयोगमा म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण सुरु भएको छ । काठमाडौको होटल ¥याडीसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्धारा स्थापीत गोविन्द सरस्वती फाउण्डेशनको पचास लाख रुपैया सहयोगमा बेनी नगरपालीका ९ गलेश्वरमा तिर्थयात्री निवास भवन निर्माण हुन लागेको हो ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले निर्माण गर्न लागेको दुई तले छ कोठे एक सय जना क्षमत्ताको भवनको मंगलबार श्रेष्ठ र उहाँकी श्रीमती सरस्वती लगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।

जनताबाट कमाएको पैसा जनताकै सेवामा लगाउन तिर्थयात्री निवास भवन निर्माणका लागि सहयोग गरेको बताउँदै श्रेष्ठले अरु व्यवसायीहरुलाई पनी आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउन आग्रह गर्नुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले राज्यलाई कर तिरेर सामाजिक क्षेत्रमा सहयोग गरेर व्यवसायी श्रेष्ठले प्रशसनीय काम गरेको बताउनुभयो । समन्वयकर्ता हरिप्रसाद तिवारीले गलेश्वरको धार्मीक आस्था र पूर्वाधार विकासबाट प्रभावीत भएर कोषको माग अनुसार तिर्थयात्री निवास बनाउन समन्वय गरेको बताउनुभयो ।

हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वरमा तिर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गर्न लागिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक पाँच सय जना तिर्थयात्री बास बस्न सक्नेछन् ।

हाल चार सय जना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तिर्थयात्रीहरुलाई निशूल्क भोजनको व्यवस्था मिलाइएको छ । गलेश्वरमा पूर्वाधार विकासमा श्रेष्ठले व्यक्तिगत रुपमा हालसम्मकै बढी सहयोग गर्नुभएको कोषका सदस्य सचिव माधव प्रसाद रेग्मीले बताउनुभयो ।
कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलीएको ढुङ्गामाथि अवस्थित गलेश्वरमा भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोडको लगानीमा सत्संग भवन, जेष्ठ नागरीक आश्रम, पुजारी निवास, सामुदायीक स्वास्थ्य ईकाई, पदमार्ग, शिवलीङ्ग, क्याम्पीङ साईट, बालउद्यान, तिर्थयात्री निवास, मन्दिर निर्माण, मुर्ती स्थापना गरिएको छ ।

कालीगण्डकीको पानी लिफ्ट गरेर गलेश्वर परिसरमा १०८ धारा र गलेश्वर देखि राममन्दिर जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माणको तयारी भएको छ ।