देवीप्रसाद शर्मा/विकल्प न्यूज
फागुन ६ गते ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनुको प्रमुख कारण शिक्षक हुन् भनेर सर्वत्र आलोचना भइरहँदा अभिभावकको भूमिका के त भन्ने प्रश्न सँगै जोडिएर आउँछ । त्यसो त गुणस्तर के हो भन्ने सबाल पनि उठ्न सक्छ । हाम्रो देशको मूल्याङ्कन प्रणाली नै अङ्कमुखी भएकाले सीप मापनमुखी मूल्याङ्कनबाट पर रहेर नै विश्लेषण गर्नु सान्दर्भिक देखिन्छ ।
आर्थिक सामाजिक रूपबाट सबल वा सबलोन्मुख अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई निजी/संस्थागत विद्यालयमा पठाएपछि सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको आर्थिक सामाजिक अवस्था कस्तो होला ? जो कसैले सहजै अनुमान गर्न सक्छ ।
अभिभावकहरूको यसरी कित्ताकाट भइरहँदा उनीहरूको भूमिकाको पनि सोही अनुसार विभाजन हुने कुरा पनि नकार्न सकिंदैन । त्यसो त विभिन्न कारणले सामुदायिक विद्यालयमा आफ्ना नानीबाबुहरू भर्ना गरेका न्युनतम राम्रा अभिभावकहरू पनि मार्कसिट/ग्रेडसिट देखेर कागती निचोरिएकोजस्तै मन बनाएर बस्न बाध्य छन् ।
यति कुरा गरिरहँदा सामुदायिक विद्यालयका बहुसङ्ख्यक त्यस्ता अभिभावकहरू जसको कारण शैक्षिक गुणस्तरमा परेको नकारात्मक प्रभाव के हो र न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नु पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।
सर्वप्रथम त सामुदायिक विद्यालयका बहुसङ्ख्यक अभिभावकहरूको अवस्थालाई यसरी चित्रण गरौं ।
-उनीहरू ज्यालामजदुरी गरेर जीवन धान्छन् र छोराछोरीलाई समेत ज्यालामजदुरीमा प्रयोग गर्छन् ।
-विद्यालय पठाएपछि आफ्नो जिम्मेवारी सकियो भन्ने मानसिकता बोक्छन् ।
-छात्रवृत्ति लगायतका रकम जाँडरक्सी खाएर उडाउँछन् या घरखर्चीमा उपयोग गर्छन् ।
-छोराछोरीलाई पठनपाठनका लागि आवश्यक पुस्तकहरू कापी, कलम, जोमेट्री बक्स, क्यालकुलेटरलगायतका अन्य शैक्षिकसामग्रीहरू किनिदिन आवश्यक ठान्दैनन् ।
-आफू अनपढ भएकाले स्कुल जाने छोराछोरीहरू धेरै जान्ने बुझ्ने छन् भन्ने मानसिकता बोक्छन् र छोराछोरीले मागेका कुरालाई नकार्न सक्दैनन् । तर ती बालबालिकाले आफ्नो शैक्षिक आवश्यकताभन्दा आंना साथीभाइको जस्तै भौतिक वस्तुका लागि माग गर्दछन । बाबुआमाले अरूको अगाडि आफ् सन्तानको शान देखाउने सोचले सकिनसकी तिनै उपलब्ध गराउँछन् ।
-आफ्नो कमजोरी औंलिने डरले विद्यालयमा गई शिक्षकलाई भेट्न सङ्कोच मान्छन् । चोक, धारा र गल्लीमा भेट भएर शिक्षक, प्रअको खेदो खन्छन् ।
-छोराछोरीलाई रक्सी, खैनी र चुरोटजस्ता चिज किन्न पठाउँछन् ।
– उनीहरूलाई बालबच्चा के गर्दा राम्रो बन्लाभन्दा पनि आफ्नो स्वतन्त्रता प्रति बढी चासो राख्नेसमेत गर्दछन् । यसको सोझो प्रभाव बालबच्चामा पर्ने गर्छ । बालबच्चालाई यसो गर्न हुँदैन भन्न चाँहि प्राय छाड्दैनन् ।
-पढेर पनि के हुन्छ र छोरो आखिर विदेश नै जाने हो र छोरी बिहे गरेर अर्काको घर जाने हो भन्ने मानसिकता बोक्छन् अनि विद्यालयलाई फुर्सदका बेला जाने ठाउँ हो भनेजस्तो गर्छन् । \
-छोराछोरीका अगाडि विद्यालय र शिक्षकहरूको टीकाटिप्पणी गर्छन् । शिक्षकलाई गाली गर्छन् ।
-घरमा, टोल छिमेकमा झैझगडा गर्ने, रक्सी खाइ होहल्ला गर्ने जस्ता बालबालिकालाई नकारात्मक असर पर्ने काम गर्छन् ।
अभिभावकबाट हुने यी र यस्ता थुप्रै कारणहरू हुन सक्छन् जसले अभिभावकको स्थिति झल्काइरहेका छन् र यसले बालबालिकाहरूको पठनपाठन मा नकारात्मक असर पुर्याइरहेको कुरा छर्लङ्गै छ ।
रह्यो अभिभावकहरूको यो स्थितिमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने कुरा । अभिभावकको आर्थिक सामाजिक स्तर जबसम्म उकास्न सकिन्नतबसम्म शिक्षकहरूको भरमा मात्र विद्यार्थीले तोकिएको सिकाइ उपलब्धि हासिल गर्नसक्ने कुरै भएन ।
संघीयताको व्याख्या गर्दै शिक्षा व्यवस्थापनका धेरै जसो अधिकारहरू स्थानीय तहमा आइसकेको सन्दर्भमा सामुदायिक विद्यालयका अभिभावकहरूको चेतनाको स्तर उकास्न स्थानीय तहले के भूमिका खेल्न सक्छ भन्ने कुरा थप पेचिलो बन्नु आवश्यक छ । कतिपय स्थानीय तहले शिक्षकहरूलाई नै तारो बनाउँदै शैक्षिक योजना बनाउन थाल्नु शिक्षा थप असफलतातिर धकेलिने सङ्केत हो भन्ने कुरा नकार्न सकिंदैन । यद्यपि अभिभावकहरूको चेतना वृद्धिमा समेत शिक्षकको भूमिका प्रमुख हुन्छ भन्ने कतिपय शिक्षाविद्हरूको भनाइलाई मान्ने हो भने शिक्षकहरूलाई उत्प्रेरित गर्ने पाटोलाई पनि कदापि बिर्सनुहुँदैन ।समाजमा शिक्षकको यति धेरै मानमर्दन गरियो कि अभिभावकहरूले उसका कुरा सुन्नु र पत्याउनु पनि असम्भव प्राय: देखिन्छ । यो स्थितिमा परिवर्तन गर्नजरूरी छ किनकि शिक्षकहरू खुशी भए भने अभिभावकलाई खुशी बनाउन सक्छन् ।
आफ्ना छोराछोरीले नपढुन्, बिग्रुन्, भत्कुन् भन्ने चाहना त कुनै पनि बाबुआमाको नहोला तर पनि आफ्नो जिम्मेवारी र कर्तव्य नबुझेर अलमलमा परेका अभिभावकहरूलाई सही दिशातिर डोर्याउन अब जनप्रतिनिधिहरू बाहेक अर्को उपयुक्त पात्र कोही देखिंदैन । हिजो समाजसुधार गर्छु भनेर भोटमा विश्वास जित्नेहरूले अब उनीहरूकै छोराछोरीको उज्वल भविष्यका लागि विश्वासमा लिन सक्छन् । विभिन्न जनमुखी कार्यक्रमबाट समेत त्यस्ता अभिभावकहरूको आर्थिक सामाजिक र चेतनाको स्तर वृद्धि गर्न जनप्रतिनिधिको अठोटबाट मात्र सम्भव देखिन्छ ।
अभिभावकको चेतना वृद्धिका लागि आफ्नो तहमा एकीकृत रूपमा अभिभावक शिक्षा, आर्थिक वृद्धिका लागि विभिन्न आयआर्जनमूलक, सीपमूलक तालिमको व्यवस्था, सामाजिक स्तर माथि उठाउनका लागि सहभागितात्मक प्रतिनिधित्व जस्ता पुनर्बलयुक्त कार्य र छोराछोरी नियमित विद्यालय नपठाउने अभिभावकहरूलाई स्थानीय तहका सेवा सुविधाबाट बन्चित गर्ने जस्तो दण्डात्मक स्थिति सिर्जना गर्न पनि जनप्रतिनिधिहरू बाहेक अरू कोही सक्षम छैन ।
त्यस्तै गरी आफ्ना तहका विद्यालयहरूमा विद्यार्थीहरू टिकाइराख्न र शैक्षिक गुणस्तर वृद्धिका विविध कार्यक्रम सन्चालन गर्न विद्यालयहरूलाई अतिरिक्त आर्थिक अनुदान दिने हो भने अभिभावकहरूमा आर्थिक भार कम हुने र छोराछोरीलाई नियमित विद्यालय पठाउने सम्भावना बढेर जाने देखिन्छ । उदाहरणका लागि अतिरिक्त कक्षा सन्चालन, दिवा खाजाको व्यवस्था, शैक्षिक सामग्री तथा पोशाक वितरण आदि कार्यका लागि विद्यालयलाई थप आर्थिक अनुदान उपलब्ध गराउनुलाई लिन सकिन्छ ।
यसरी हेर्दा सामुदायिक विद्यालयका अभिभावकहरूको आर्थिक, सामाजिक र चेतनाको स्तर वृद्धि गरी परिवार तथा समाजमा शैक्षिक वातावरण निर्माण गर्ने हो भने कलिला बालबालिकाहरूको भविष्य सही दिशातिर उन्मुख हुनेछ । यसका लागि स्थानीय तह र जनप्रतिनिधिहरूको नेतृत्वदायी भूमिका हुनु जरूरी छ । यसो भनेर विद्यालय र शिक्षकहरू उम्कन सक्ने स्थिति भने पटक्कै छैन । विद्यालय र शिक्षकहरूले अभिभावक, स्थानीय तह र जनप्रतिनिधिहरूसँग समन्वयकारी भूमिका खेल्न सक्नुपर्छ ।
निष्कर्ष के हो भने राज्यले कि त राम्रा अभिभावक तयार गर्नुपर्यो कि त राम्रा अभिभावकलाई पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वातावरण तयार गर्नुपर्यो । कमसेकम सरकारी ढुकुटीबाट तलबभत्ता खाने अभिभावकहरूले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नै भर्ना गर्नुपर्ने बाध्यकारी नीति ल्याउने र निम्न आर्थिक सामाजिक स्तर भएका अभिभावकहरूको स्तर वृद्धि गर्ने खालका कार्यक्रम अगाडि बढाउने हो भने सामुदायिक विद्यालयको भविष्य पनि उज्ज्वल देखिन्छ । अन्यथा शिक्षकहरूलाई मात्र दोष दिनुको कुनै अर्थ रहँदैन फगत् काग कराउँदैछ पिना सुक्दैछ भन्ने उखान चरितार्थ हुनेछ । anewteaching.com