महारानीथान–डाँडाखेत–ठूलोखोला सडक निर्माण

विकल्प न्यूज/बेनी
माघ १७ गते । Maharani-Dadakhet-Thulokhola Roadम्याग्दीको पश्चिमी क्षेत्रका बस्तीहरुलाई सदरमुकाम बेनी संग जोड्ने बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डमा बैकल्पीक सडक निर्माण भएको छ ।

बेनी नगरपालिका ७ महारानीथान हँुदै ६ नम्बर वडाको जरबुटा, ५ नम्बरको सेतोढुङ्गा, र ४ नम्बरको डाँडाखेत हँुदै ठूलोखोला जोड्ने सडक निर्माण भएको हो । नौ वर्षअघि ट्याक खोल्न सुरु भएको सडक आयोजनाले हालै मात्र पूर्णता पाएपछि ठूलोखोला बेनी खण्डमा सवारी सञ्चालन गर्न सकिने भएको छ ।

११.५ किलोमिटर दुरीको यो सडक बेनी दरवाङ सडकको बेनी ठूलो खोला खण्डको बैकल्पीक भएको उपभोक्ता समितिका अध्यक्ष मुक्ति खड्काले बताउनुभयो । सडकबाट बेनी नगरपालिकाको जरबुटा, सेतोढुङ्गा, भिरमुनी, डाँडाखेत, राक्से र ठूलोखोलाका बासिन्दाहरु लाभान्वित भएका छन् ।

पहिला साँघुरो र ग्रेड नमिलेको ट्याक मात्र खोलीएको सडकलाई बेनी नगरपालिकाको सहयोगमा फराकीलो र सुधार गरेपछि जिप, माईक्रोबस, ट्याक्टर चल्न सक्ने भएको छ । उक्त सडकलाई नगरपालिकाले चालु आर्थिक वर्षमा दश लाख रुपैयाँ बिनियोजन गरेको छ ।

पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र योजनालाई निरन्तरता दिन सडक बोर्डको कार्यक्रमबाट थप दश लाख रुपैयाँ पनि बिनियोजन भएको नगरपालीकाले जनाएको छ । सडक निर्माण भएपछि स्थानीयबासीले बेनी आउन जानका साथै कृषि उपज ढुवानी गर्न राहत मिलेको छ ।

पैदल एक घण्टा हिड्नुपर्ने बाटो मोटरसाइकल, जिप चढेर बिस मिनेटमै पुरा गर्न सकिने भएको अध्यक्ष खड्काले बताउनुभयो । बेनी देखि ठूलोखोलासम्म कुनै कारणले बेनी दरवाङ सडक अवरुद्ध हुँदा यो सडकलाई विकल्पको रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।